close

कर्मचारीलाई आचरण सिकाउँदै नमोबुद्ध र रोशी

कर्मचारीलाई आचरण सिकाउँदै नमोबुद्ध र रोशी

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका कर्मचारीका लागि सकारात्मक सोचसम्बन्धी ३ दिने तालिम आइतबारदेखि सुरु भएको छ । 


तालिम नमोबुद्ध र रोशीले संयुक्त रूपमा आयोजना गरेका हुन् । तालिमको नमोबुद्ध नगरप्रमुख टिपी शर्मा तिमल्सिना र रोशी गाउँपालिकाा अध्यक्ष डिबी लामाले उद्घाटन गरे । 


तालिममा २ वटा पालिकाका गरी ३० जना कर्मचारीको सहभागिता रहेको छ । सहभागीलाई नेपाल सरकारका सहसचिव डा. भीष्म भुसाल र सकारात्मक सोचबारे प्रशिक्षक डा. राजु अधिकारीले प्रशिक्षण दिनेछन् ।


कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले नमोबुद्ध र रोशीबीच विगतदेखि नै सहकार्य हुँदै आएको र त्यसैको निरन्तरता स्वरूप संयुक्त रूपमा यो तालिम आयोजना गरिएको बताए । चेतनाको विकास नै विकास भएकाले यसका लागि सकारात्मक सोच अपरिहार्य रहेको उनको भनाइ छ । 

 

‘सकारात्मक सोचले नै परिवर्तन ल्याउन सकिन्छ । जनप्रतिनिधि र कर्मचारीले सकारात्मक सोचका साथ सहकार्य गर्दै काम अघि बढाए जनताका पक्षमा काम गर्न सकिने हुँदा यसले सकारात्मक परिणाम दिन्छ’, नगरप्रमुख तिमल्सिनाले भने ।


रोशी गाउँपालिका अध्यक्ष लामाले कर्मचारीलाई अझै ऊर्जावान र सकारात्मक बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए । सकारात्मक सोचले नै संसार बदल्ने सामथ्र्य राख्ने उनको भनाइ छ ।


‘सकारात्मक सोच र परिवर्तनको जिम्मा जनप्रतिनिधिको काँधमा भएकाले त्यसका लागि सकारात्मक सोच हुनु आवश्यक छ’, उनले भने । नमोबुद्ध र रोशीबीच आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर जारी रहने उनले प्रतिबद्धता जनाए ।

 

कार्यक्रममा नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङले कार्यकुशलताका लागि सकारात्मक सोच आवश्यक रहने भन्दै त्यसका लागि अहिले आयोजना गरिएको तालिम प्रभावकारी हुने विश्वास गरिन् । सकारात्मक सोचले मानिसलाई ऊर्जावान बनाउने र त्यसले मनोबलसमेत वृद्धि गर्ने उनको भनाइ ।


जिल्ला समन्वय अधिकारी केशवप्रसाद रिजालले कर्मचारीका लागि दैनिक रूपमा तनाव व्यवस्थापन आवश्यक रहने र यस्ता तालिमले त्यसमा मद्दत पुग्ने बताए । कामको चापले तनाव बढिरहेका बेला सकारात्मक सोच राख्न सकियो भने यसले तनाव न्यूनीकरणका साथै सेवा प्रवाहमा सहजता आउने उनको विश्वास छ ।


नमोबुद्धका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सकारात्मक सोचले नै दैनिक क्रियालापमा सकारात्मक योगदान पुग्ने भएकाले त्यसैलाई लक्षित गरेर तालिम आयोजना गरिएको जानकारी दिए । तालिमबाट सेवा प्रवाहमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै पौडेलले अरूप्रति सकारात्मक भाव राख्न पनि तालिम आवश्यक रहेको बताए । 


व्यक्ति परिवर्तन भएमात्रै समाज परिवर्तन हुने र समाज परिवर्तनका लागि सकारात्मक सोच अपरिहार्य रहेको पौडेलको भनाइ छ । 


कार्यक्रममा रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले दुवै पालिकाका कर्मचारीलाई मिलेर क्षमता विकास गरौँ भन्ने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिए । आगामी दिनमा पनि नमोबुद्ध र रोशीबीच आपसी सहकार्यमा सिक्दै जाने क्रम जारी रहने उनले बताए ।