close

फुङ्लिङ पुग्यो टोखा नगरपालिकाको टोली 

फुङ्लिङ पुग्यो टोखा नगरपालिकाको टोली 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- एउटा स्थानीय र तह र अर्को स्थानीय तहबीचको कार्य सम्पादन प्रक्रियाको अनुभव आदान-प्रदानबाट आफ्नो स्थानीय तहमा गर्न सकिने सुधारका प्रयास खोज्दै काठमाडौं टोखा नगरपालिकाको टोली ताप्लेजुङको फुङ्लिङ आइपुगेको छ ।

 

सुगम जिल्लाको नगरपालिकाको टोलीले दुर्गमको ताप्लेजुङस्थित फुङ्लिङ नगरपालिकामा एकअर्काबीच स्थानीय तहले गरेका कार्य सम्पादन, प्रगति, समस्या र समाधानका विकल्पका विषयमा छलफल गरेको छ ।

 

टोखा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले योजना सम्झौता, भुक्तानी पद्धति र प्रगति, वित्तीय व्यवस्थापन कार्य र आन्तरिक स्रोत वृद्धिका लागि नगरपालिकाले चालेका कार्य र वस्तुगत अवस्थाबारे जिज्ञासा राखेका थिए । 

 

टोखा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जोगप्रसाद नेपालले स्थानीय तहबीच भइरहेका कार्य सञ्चालन पद्धतिबारे एकअर्काबीच अनुभव आदान–प्रदान हुँदा आफ्नो स्थानीय तहमा देखिएका समस्या समाधानमा सहज हुने बताए । 

 

उनले टोखा र फुङ्लिङ नगरपालिकाबीच अन्तरंग गर्न पाउँदा खुसी लागेको बताए । नगरपालिका क्षेत्रका अनुगमन संयोजकसमेत रहेका फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले योजना सम्झौतादेखि भुक्तानी प्रक्रियासम्मको अवस्था बताउँदै आफ्ना सिकाइ टोखा नगरपालिकासँग बाँड्ने र टोखाका कार्य सम्पादन प्रक्रिया आफूले ग्रहण गर्ने प्रक्रियाले कार्य सम्पादनदेखि प्रगतिसम्मका बिषय केलाउन सहज हुने विश्वास व्यक्त गरे ।

 

अनुभव आदान-प्रदानमा नगरपालिकाको नेतृत्व गर्दै हिँडेकी टोखाकी उपप्रमुख ज्ञानमाया डंगोलले ११ वटा वडा रहेको नगरपालिकाले विषयगत बजेट विभाजनपछि बचेको रकमलाई वडागत रूपमा बजेट सिलिङ दिने गरेको जानकारी दिइन् । उपप्रमुख डंगोलले क्षेत्रफल थोरै र जनसंख्या बढी भएको क्षेत्रमा आफूहरूले कौसी खेती प्रोत्सहान कार्यक्रम सुरु गरेको बताइन् । 

 

फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले फुङ्लिङको वस्तुस्थितिदेखि कार्य सम्पादनको प्रक्रियाबारे जानकारी दिए । उनले फोहोरमैला व्यवस्थापन र पर्यटन प्रवद्र्धनमा बहु-सांस्कृतिक संग्रहालय निर्माणसहितका नगरपालिकाका पछिल्ला कदमबारे टोखा नगरपालिकाको टोलीलाई अवगत गराए । 

 

अन्तरंग कार्यक्रममा दुवै नगरपालिकाका विषयगत शाखा प्रमुखहरूले आ-आफ्ना निकायले गर्दै आएका कार्य सम्पादन प्रक्रिया र वित्तीय अनुशासन कायम गर्न अपनाइएका रणनीतिबारे छलफल गरे । फुङ्लिङ र टोखाबीच एकअर्काको बजेट तथा प्रगति पुस्तक आदान-प्रदानसमेत भएको थियो ।