close

जथाभावी फोहोर नफाल्न वडा सरकारको चेतावनी

जथाभावी फोहोर नफाल्न वडा सरकारको चेतावनी

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ले मरेका कुखुरा जथाभावी नफाल्न वडाबासीलाई आग्रह गरेको छ ।


स्थानीय खोला तथा सार्वजनिक जग्गामा फोहोरसँगै मरेका कुखुरा जथाभावी फाल्ने क्रम बढेसँगै वडाले यस्तो आग्रह गरेको हो । वडा कार्यालयले जथाभावी फालिएको फोहोरबारे ध्यानाकर्षण भएको जनाएको छ ।


जथाभावी फालेको फोहोर तथा मरेका कुखुराका कारण वडामा दुर्गन्ध फैलिएको जनगुनासो आएसँगै वडा कार्यालय सूचना निकालेरै वडाबासीलाई सचेत बनाएको हो ।

 

सडकमा अव्यवस्थित रूपमा राखिएको निर्माण सामग्रीले दुर्घटना बढेको भन्दै त्यस्ता सामग्री हटाउनसमेत सूचनामा भनिएको छ । 

 

घर तथा पसल, व्यवसाय र अन्य कामबाट निस्केका फोहोरलाई उचित व्यवस्थापन गर्नुको सट्टा नजिकैको खोल्सा, झाडी र पर्ति जग्गामा फोहोर फाल्ने प्रवृत्ति बढेको छ । वडाध्यक्ष गणेश त्यातले जथाभावी फोहोर फाल्नेलाई कारबाही गरिने बताए ।

 

खोल्सा तथा खाली जग्गामा फोहोर फाल्दा विभिन्न सरुवा रोगको जोखिम भएको स्थानीयले बताए । स्थानीय राम श्रेष्ठका अनुसार खोल्सामा केही अज्ञात व्यक्ति र व्यवसायीले मरेका कुखुरा लुकेर फाल्ने गरेका छन् ।

 

मरेपछि उचित व्यवस्थापन गर्नुपर्नेमा त्यसो नगरी सीधै खोल्सामा फाल्दा खोल्सा हो कि डम्पिङ साइट भन्ने अवस्था आएको उनको भनाइ छ ।