close

धमाधम विश्व रेकर्ड चुम्दै मिङ्माडेविट 

धमाधम विश्व रेकर्ड चुम्दै मिङ्माडेविट 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- उच्च शिक्षा अध्ययन गर्ने धोको मनमै राखेर पर्वतारोहण क्षेत्रमा हानिएका ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ६ लेलेपका मिङ्माडेविट शेर्पाले यही क्षेत्रबाट ३ वटा विश्व रेकर्ड बनाएका छन् ।

 

एकपछि अर्को सफलताले अहिले उनलाई उच्च शिक्षा अध्ययन गर्ने धोको पूरा नभए पनि विश्व रेकर्डधारी बनाएको छ । उनले भने, ‘पढ्न नसके पनि पर्वतारोहण क्षेत्रमा पाएको सफलताले अहोभाग्य सिर्जना गरेको छ ।’

 

निरन्तरको मिहिनेत, सहकार्य र कामप्रतिको लगावपछि जस्तोसुकै असफलतालाई पनि चिर्न सकिने पर्वतरोहण क्षेत्रबाट पाएको सफलताले पुष्टि गरेको उनी सुनाउँछन् ।

 

३ वटा विश्व रेकर्ड कायम गरेर गृहजिल्ला ताप्लेजुङ आइपुग्दा उनलाई जिल्लाबासीले सम्मान गरे । सम्मानपछि भावविभोर भएका उनले सफलताका हरेक कारण सम्झिए । 

 

पर्वतारोहण क्षेत्रको प्रवद्र्धनका चुनौती बताए र ती चुनौती चिर्न सम्बन्धित पक्षले अहिलेसम्म गर्न नसकेका कामसमेत ओकले । सम्बन्धित पक्षले आ-आफ्नो जिम्मेवारीअनुसार भूमिका निर्वाह गर्न नसक्दा नेपालको पर्यटन क्षेत्रले अपेक्षाकृत सफलता नपाएको उनको बुझाइ छ ।

 

‘यही दुर्बल पक्षका कारण हामी नेपाली सुन सिरानीमा राखेर नुन खोजी रहेको भनाइसँग मिल्दोजुल्दो भएका छौँ’, उनले भने । 

 

गृहजिल्ला ताप्लेजुङमा भएका हिमालसहितका अथाह प्राकृतिक सौन्दर्य बजारीकरण अभावमा परेको उनको बुझाइ छ । हिमाल आरोहण भन्नेबित्तिकै ‘फोर्टिन पिक’ अर्थात् ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको सफलतासँग यसको श्रेय जोडिन्छ । 

 

मिङ्माडेविटले ‘फोर्टिन पिक’ को लक्ष्य मात्र पूरा गरेनन्, सबैभन्दा कम उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहणको विश्व रेकर्डसमेत कायम गरे । 

 

उनले ३० वर्ष १ सय ६६ दिनको उमेरमा ती सबै हिमालको आरोहण सम्पन्न गरेका हुन् । उनले हिउँदयाममा पहिलो पटक विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटुको आरोहण गरेर पछिल्लो पटक कीर्तिमान कायम गरेका छन् । 

 

हिउँदयाममा माउन्ट केटुको आरोहण गरेको अहिलेसम्म विश्व रेकर्ड छैन । गत पुस अन्तिम साता उनीसहित १० नेपालीको टोलीले खतरनाक मानिने उक्त हिमालको सफल आरोहण गरेर विश्वको ध्यान खिचेको थियो ।

 

सबैभन्दा छोटो अवधिमै विश्वको पहिलो शिखर सगरमाथा र दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरेको कीर्तिमानसमेत उनले बनाएका छन् । 

 

उनले ६१ दिनको फरकमा सगरमाथा तथा केटु हिमाल आरोहण गरेका छन् । सन् २०१० मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका मिङ्माले ८ पटक सगरमाथा आरोहणको प्रयास गरेका छन् । यसमा उनलाई ६ पटक सगरमाथाको सफल आरोहणको सुखद नतिजा प्राप्त भएको छ ।

 

सन् २०१० मा आफ्नै गृहजिल्लाका साहसिक सगरमाथा आरोही दोर्जे खत्रीसँग सगरमाथाको आरोहण गरेको रेकर्ड छ । ३ पटक सम्म सगरमाथाको सफल आरोहण गरेका खत्रीको केही समयअघि हिमाल आरोहणकै क्रममा निधन भएको छ ।