close

काठमाडौं महानगरले मनायो विश्व उपभोक्ता अधिकार दिवस 

काठमाडौं महानगरले मनायो विश्व उपभोक्ता अधिकार दिवस 

Trulli
ADVERTISEMENT

काठमाडौ- काठमाडौं महानगरको आयोजनामा सोमबार ‘विश्व उपभोक्ता अधिकार दिवस’ मनाइयो । अंग्रेजी वर्षको मार्च १५ तारिखका दिन मनाइने दिवस अवसरमा हरिभवन सुन्धाराबाट निकालिएको सचेतनामूलक प्रभातफेरी राष्ट्रिय सभागृहमा पुगेपछि औपचारिक कार्यक्रम चलेको थियो ।

 

कार्यक्रमअघि हरिभवनबाट सुन्धारा, सहिद गेट, भद्रकाली हुँदै प्रभातफेरी सभागृह पुगेको थियो । र्‍यालीमा प्रमुख जिल्ला अधिकारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, उपभोक्ता अधिकारकर्मी, कर्मचारी, प्रहरी र सर्वसाधारण सहभागी थिए ।

 

कार्यक्रममा महानगरकी उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिकी संंयोजक हरिप्रभा खड्गी श्रेष्ठले उचित मूल्यमा गुणस्तरीय सामान वा सेवा पाउने उपभोक्ताको अधिकार बचाउन महानगर नियमित बजार अनुगमनमा रहेको जानकारी दिइन् ।

 

‘कसैलाई त्रसित बनाउन होइन । प्रचलित कानुनको पालनामा व्यवसायीको इमानदारी अनुगमनका क्रममा हेर्ने गरिएको छ । अनुचित व्यापारिक क्रियाकलापमाथि हाम्रो निगरानी छ । सम्झाउँदा-बुझाउँदा अटेर गर्नेलाई कानुनी कारबाही पनि गरेका छौँ,’ श्रेष्ठले भनिन् ।

 

काठमाडौंको बजार व्यवस्थापन गर्न काठमाडौं महानगरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल प्रहरीसहितको संयन्त्र निर्माण गर्नुपर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

 

‘धेरै नियमनकारी निकाय हुँदा उत्पादकदेखि बिक्रेतासम्ममा झन्झट भयो । यसबेला संविधानले स्थानीय तहलाई दिएको बजार व्यवस्थापनको एकल अधिकारको पूर्ण कार्यान्वयनमा सबै एकजुट हुनुपर्छ’, पराजुलीले भने । 

 

महानगरले बजारमा बिक्री हुने सामानको बिलबिजकमाथि मात्र पनि निगरानी गरिए बजारमा गुणस्तर र मूल्यमाथिको ठगी धेरै नियन्त्रण हुने उनले सुझाए । 

 

कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक सागर मिश्रले बजार व्यवस्थापनमा स्थानीय तहको भूमिकाबारे चर्चा गरे । उनले भने, ‘हामीले सबै महानगरमा निरीक्षक अधिकृत तोकेका छौँ ।

 

यीमध्ये काठमाडौंमा अनुगमन क्रियाशील देखियो । अनधिकृत व्यापार गर्नेलाई कारबाही पनि गरेको छ । काठमाडौंजस्तै अन्य महानगरको क्षमता विकास हुन आवश्यक छ ।’ 

 

काठमाडौं महानगरले आकस्मिक र नियमित बजार अनुगमन गरिरहेको छ । कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार अनुगमनका क्रममा पसल, व्यवसाय दर्ता गरे-नगरेको, बिलबिजक जारी भए-नभएको, ढक-तराजु ठीक भए-नभएको, राजस्व तिरे-नतिरेको, कच्चा वा प्याकेजिङ गरिएका वस्तुको विक्री प्रबन्ध, म्याद सकिएका सामानको व्यवस्थापनजस्ता विषय हेर्ने गरिएको छ । 

 

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ र उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले व्यापारिक क्रियाकलापको विवरण अद्यावधिक गर्ने तथा एकीकृत बजार व्यवस्थापन गर्ने काममा स्थानीय तहको भूमिका आवश्यक रहेको बताए ।

 

यस्तै, चेम्बर अफ कमर्स महानगर समितिका प्रथम उपाध्यक्ष तेविन्द्ररत्न शाक्यले सस्तो सामान पाए खरिद गरि हाल्ने, त्यस्ता सामानको गुणस्तर र उपभोग्य मिति नहेर्ने उपभोक्ता बानीमा सुधार नआएसम्म स्वच्छ बजार पाउन कठिन रहेको अनुभव सुनाए । 

 

यो वर्षको अन्तर्राष्ट्रिय नारा ‘ट्याकलिङ प्लास्टिक पोलुसन’ रहेको छ । २१ फागुनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा केन्द्रीय बजार अनुगमन समितिका संयोजक एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईको संयोजकत्वमा बसेको बैठकले नाराको नेपाली रूपान्तरण गर्दै ‘प्लास्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ बनाइएको हो ।

 

काठमाडौं महानगरले ‘गुणस्तरीय आहार, स्वस्थ्य जीवनको आधार, उपभोक्ता अधिकार, काठमाडौं महानगरको सरोकार’ नारा तय गरेको छ ।