close

नगरभरिका महिलालाई स्कुटर सिकाउँदै नमोबुद्ध

नगरभरिका महिलालाई स्कुटर सिकाउँदै नमोबुद्ध

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकामा महिलाका लागि स्कुटर ड्राइभिङ तालिम सञ्चालन गरिएको छ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सोमबारदेखि सुरु भएको तालिमको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरे ।

 

नमोबुद्धकी उपप्रमुख रामदेवी तामाङको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमममा नगर प्रमुख तिमल्सिनाले स्कुटर सिकेपछि लाइसेन्स प्राप्त गर्ने महिलाका लागि गाडी चलाउन सिकाउने प्रतिबद्धता जनाए ।

 

महिला सशक्तीकरणमा नगरपालिका अग्रस्थानमा रहेकाले ११ वटा वडामै सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको जानकारी उनले दिए । ‘महिलाका लागि लक्षित गर्दै सीपमूलक तालिम, लोकसेवा तयारी कक्षा सञ्चालन गरेका छौँ । महिलालाई उद्यमी र आत्मनिर्भर बनाउन नगरपालिका क्रियाशील रहेको छ’, उनले भने ।

 

कार्यक्रममा उपप्रमुख तामाङले विगतमा पूर्वाधार निर्माण अघि बढाइएकामा अब सीप विकासमा नगरपालिकाले जोड दिएको बताइन् । नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि प्रत्येक वर्ष महिला सशक्तीकरणको क्षेत्रमा बजेट वृद्धि गर्दै लगिएको उनको भनाइ छ ।

 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले घरबाहिर महिलाको जति बढी संलग्नता हुन्छ, त्यति धेरै क्षमताको विकास हुने बताए । सीप विकाससँगै महिलामाथि हुँदै आएको हेपाइमा कमी आउने पौडेलले सुनाए ।

तालिममा नगरपालिकाका महिला जनप्रतिनिधि र महिला संस्थाका प्रतिनिधिसहित ४२ जनाको सहभागिता रहेको छ । तालिम यही १४ चैतसम्म सञ्चालन हुने नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् ।