close

छोरीबुहारीलाई प्राविधिक शिक्षा पढाउँदै कर्णाली सरकार

छोरीबुहारीलाई प्राविधिक शिक्षा पढाउँदै कर्णाली सरकार

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णाली प्रदेश सरकारले कर्णालीका छोरीबुहारीलाई प्राविधिक शिक्षा पढाउन छात्रवृत्ति उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले कर्णालीका १० वटै जिल्लामा यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको हो । 

 

१० वटै जिल्लाका सामाजिक विकास कार्यालयमार्फत छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ । यसै कार्यक्रमअन्तर्गत जुम्लाको सामाजिक विकास कार्यालयले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन छोरीबुहारी छात्रवृत्ति कार्यक्रमका लागि निवेदन मागेको छ । 

 

प्राविधिक शिक्षामा कर्णाली प्रदेशका महिलाको पहुँच बढाउन प्रदेश सरकारले अघि सारेको छोरीबुहारी छात्रवृत्ति कार्यक्रम कार्यान्वयनका लागि कार्यालयले निवेदन दिन आह्वान गरेको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलवीर सुनारले बताए ।

 

नर्सिङ, एचए, फार्मेसी, ल्याब टेक्निसियन, रेडियोलोजिस्ट, बाली विज्ञान, बागवानी, पशुविज्ञान, इन्जिनियरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्न प्रदेश सरकारले छात्रवृत्ति प्रदान गरेको छ ।

 

डिप्लोमा अध्ययन पूरा गर्दासम्म प्रदेश सरकारले नियमित छात्रवृत्ति उपलब्ध गराउने सामाजिक विकास कार्यालय जुम्लाले जनाएको छ । सम्बन्धित विद्यालयबाट पहिले छात्रवृत्ति नपाएको सिफारिस र वडाको सिफारिससहित निवेदन दिन कार्यालयले सबैलाई आग्रह गरेको छ ।

 

प्राविधिक शिक्षामा छोरीबुहारीको पहुँच बढाउनुका साथै कर्णालीमा दक्ष प्राविधिक उत्पादन गर्न यो कार्यक्रम प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि अघि सारेको हो ।

 

प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउनुको साथै कर्णाली प्रदेशमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यअनुरूप १ जनालाई ६६ हजारदेखि १ लाख ३० हजार रुपैयाँसम्म छात्रवृत्ति सरकारले उपलब्ध गराउने कार्यालय प्रमुख सुनारले जानकारी दिए ।
 
प्रदेश सरकारले अघि सारेको कार्यक्रम प्रभावकारी बन्दै गएपछि यहाँका छात्रा विद्यार्थी छात्रवृत्तिका लागि फर्म भर्न सामाजिक विकास कार्यालय जुम्ला आइपुगेका छन् । प्राविधिक शिक्षा पढ्ने इच्छा भएका तर आर्थिक स्रोत नभएका छोरीबुहारीका लागि यो कार्यक्रम प्रभावकारी भएको छ ।