close

राजनीतिक अभीष्ट पूरा गर्न शिक्षक र विद्यार्थीकाे प्रयोग

राजनीतिक अभीष्ट पूरा गर्न शिक्षक र विद्यार्थीकाे प्रयोग

Trulli
ADVERTISEMENT

बागलुङ- शिक्षा क्षेत्रमा राजनीतिक प्रभाव कम गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राजनीतिक अभीष्ट पूरा गर्न शिक्षक तथा विद्यार्थीको प्रयोग हुने गरेको उनीहरूको भनाइ छ ।

 

बागलुङ नगरपालिकाको वडा नम्बर १४ नारायणस्थानमा गणेश सामुदायिक अध्ययन केन्द्रले सुरु गरेको उद्घोषण तथा पत्रकारिता तालिम अवसरमा बोल्ने वक्ताहरूले हिजो राजनीतिका लागि प्रयोग भएका शिक्षकका कारण शिक्षामा प्रभाव कायमै रहेको बताए । 

 

कार्यक्रम उद्घाटन गर्दैै बागलुङ नगरप्रमुख जनकराज पौडेलले भने, ‘दलहरूका काममा हिजो शिक्षकलाई राजनीति गर्न लगाइयो । आज हामीले त्यसको सुधारको काम थालेका छौँ । समय लाग्छ ।’ 

 

व्यावहारिक र प्रयोगात्मक शिक्षाको समय सुरु भएकाले पौडेलले गुरुकुल शिक्षाबाट सुरु भएको नेपालको शिक्षा वैज्ञानिक युगमा प्रवेश गरेको दाबी गरे ।

 

गणेश सामुदायिक अध्ययन केन्द्रको आयोजनामा सञ्चालन हुने ५ दिने तालिमको पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, ढोरपाटन दैनिकका सहसम्पादक तारानाथ आचार्य र रेडियो कुशुमका प्रस्तोता अर्जुन थापाले सहजीकरण गर्नेछन् । 

 

तालिम उद्घाटन अध्ययन केन्द्रका अध्यक्ष सोर्गेन्द्र खत्रीको अध्यक्षता, सदस्य नारायण श्रेष्ठको स्वागत र गणेश माध्यमिक विद्यालयका शिक्षक विमल गौतमको सञ्चालनमा भएको थियो ।