close

जुम्लामा अन्तरपालिका स्तरीय फुटसल प्रतियाेगिता

जुम्लामा अन्तरपालिका स्तरीय फुटसल प्रतियाेगिता

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णाली प्रदेशको राजधानी सुर्खेतपछिको दोस्रो ठूलो सहर जुम्लाको मुकाम खलंगामा खेल मैदान अभाव छ । 


खलंगाको टुँडिखेल खेल मैदान नन्दबक्स गण नेपाली सेनाको स्वामित्वमा छ । तर, सार्वजनिक खेल मैदान छैन । खेलकुद प्रतियोगिता गर्नुपरे नेपाली सेनाको अनुमति आवश्यक पर्छ ।

 

खेल मैदानको खाँचो टार्न जुम्लाका स्थानीयले आफ्नै लगानीमा फुटसल मैदान निर्माण गरेका छन् । उनीहरूले नियमित प्रतियोगिता सञ्चालन गर्दै आएका छन् ।

 

जुम्लामा हाइअल्टिच्युट फुटसल निर्माण गरी नियमित प्रतियोगिता हुन थालेका छन् । सदरमुकाम खलंगा समुद्री सतहदेखि २ हजार ३ सय ७५ मिटर उचाइमा छ । 

 

कर्णाली प्रदेशकै दोस्रो तथा ठूलो फुटसल जुम्लामा निर्माण गरिएको हो । १ चैतदेखि सुरु भएको अन्तरपालिका स्तरीय जनप्रतिनिधि र कर्मचारीबीच फुटसल प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ । 

 

प्रतियोगितामा जुम्लाका ८ वटा स्थानीय तहका १४ वटा टिमको सहभागिता रहेको छ । यसमा ९ वटा कर्मचारीको टिम छ भने ५ वटा जनप्रतिनिधिको टिमले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

 

गुठिचौर, कनकासुन्दरी र हिमा गाउँपालिकाका जनप्रतिनिधिको टिमले भने सहभागिता नजनाएको आयोजक कर्णाली फुटसल एन्ड स्पोर्ट हब जुम्लाले जनाएको छ ।


संघीयता कार्यान्वयनको साढे ३ वर्ष पूरा भएको अवसरमा स्थानीय तहबीच एकआपसमा सद्भाव, समन्वय, सहकार्य कायम गर्न पहिलो पटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।

 

पहिलो खेलमा तातोपानी गाउँपालिकाको कर्मचारी टिमले १ गोलविरुद्ध १० गोल गरेर कनकासुन्दरी गाउँपालिकाको कर्मचारी टिमलाई पहिलो चरणमै पराजित गरेको छ । 


जुम्लाका ३ जना व्यक्तिको निजी लगानीमा फुटसल निर्माण गरिएको छ । चन्दननाथको वडा नम्बर ५ कालेखोलीमा ९५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको फुटसल मैदान सञ्चालनमा आइसकेको छ ।

 

स्थानीय निर्पराज भारती, प्रमोद शाही र प्रकाश शाहीको संयुक्त लगानीमा फुटसल निर्माण गरी सञ्चालनमा ल्याइएको हो । फुटसल सञ्चालक प्रकाश शाही भने, ‘२ वर्ष पहिलेको पूर्वतयारीअनुसार फुटसल निर्माण गरेका हौँ । जुम्लालाई खेलकुद हबका रूपमा विकास गर्ने योजना छ ।’