close

सफलता पछ्याउँदै गुल्मी प्रहरी

सफलता पछ्याउँदै गुल्मी प्रहरी

Trulli
ADVERTISEMENT

गुल्मी- अपराधका घटनामा अनुसन्धान फितलो भयो भनेर प्रहरी प्रशासन कार्यालय घेराउ भए । प्रहरी प्रमुखसमेत केन्द्र तानिए । नागरिकमा प्रहरीप्रति मर्दै गएको थियो ।

 

तर, पछिल्लो समय नागरिकमा गुमेको आशा र संगठनको साख फर्किन थालेको छ । ३ वटा ठूला घटनामा प्रहरीले देखाएको सक्रियता र सफलताको नागरिक स्तरबाट प्रशंसा भइरहेको छ । तीमध्येको एउटा घटना हो- पराल्मी हत्या काण्ड । 


गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर १४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विक ३ माघमा बन्दुकको लागेको अवस्थामा फेला परे । घटना गुमनाम रह्यो । प्रहरी निगरानी निरन्तर चल्यो । 

 

तर, अभियुक्त पत्तो लागेन । सोमबार ५७औँ दिनमा घटनामा संलग्नलाई गुल्मी प्रहरीले सार्वजनिक गरेको । घटनाका आरोपित गुल्मी दरबार गाउँपालिका वडा नम्बर १ का ३१ वर्षीय पोमबहादुर घर्तीलाई प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो ।

 

उनी पहिलेबाटै प्रहरीको निगरानीमा थिए । तर, भाडगाउँजस्तै प्रहरी अनुसन्धानमा छारो हाल्न थुप्रै हतकन्डा रचिरहेका थिए । प्रहरी सबै प्रविधि र अनुसन्धानबाट आरोपितलाई प्रमाणित गर्ने योजनामा थियो । अन्ततः आरोपित घर्तीले अपराध स्वीकार गरे ।

 

सिकार खेल्ने क्रममा मृग भनेर बन्दुक पड्काउँदा विकको मृत्यु भएको प्रहरी बयानमा खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । घटनामा प्रयोग गरिएको बन्दुकसमेत प्रहरीले बरामद गरेको छ । 

 

आरोपितको बयानको आधारमा स्थानीय जंगलमा ३ टुक्रा पारेर छुट्टाछुट्टै ठाउँमा लुकाएर राखिएको अवस्थामा बन्दुक बिहान फेला पारिएको प्रहरी उपरीक्षक भट्टराईले बताए । उनले समुदायकै सहयोगमा घटना बाहिर आएकाले अब इस्मा घटनामा प्रहरी केन्द्रित हुने बताए । 


दुवै घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकृत र जवानलाई पुरस्कृत गर्ने योजना रहेको उनको भनाइ छ । अभियुक्त सार्वजनिक भएपछि मृतकका छोरा शालिकराम विकले बुबा फर्केर नआए पनि अपराधी उम्कन नपाएकामा प्रहरीलाई धन्यवाद दिए । 

 

लामो समय अभियुक्त नभेटिएपछि मरेको आशा र न्याय बल्ल प्राप्त भएको प्रतिक्रिया उनले दिए । मृतककी श्रीमती गीता विकले मर्ने मरे पनि दोषी उम्किँदा बाँचेकालाई गाउँ बस्न सक्ने स्थिति नभएको बताउँदै ढिलोचाँडो राहत महसुस भएको सुनाइन् ।

 

प्रहरी प्रशासन घेराउदेखि एसपी सरुवा गराउने भाडगाउँ घटनाका अभियुक्तसमेत प्रहरीले सार्वजनिक गरिसकेको छ । रेसुंगा नगरपालिकाको वडा नम्बर ३ की २१ वर्षीया सम्झना बोहराको हत्यामा संलग्न स्थानीय ४७ वर्षीय लालबहादुर खत्रीलाई प्रहरीले २० फागुनमा सार्वजनिक गरेको थियो ।

 

खत्रीले २९ माघदेखि बेपत्ता भएकी सम्झनालाई हत्या गरेर फालेका थिए । सम्झनाको शव १७ फागुनमा घर नजिकै फेला परेको थियो । 


त्यस्तै, गत २५ फागुनमा गुल्मी प्रहरीले २ वटा ठूला चोरीमा संलग्नलाई पक्राउ गरेर सार्वजनिक गर्‍यो । गाडी र मोटरसाइकल चोरीमा संलग्न मेटल वर्कसपमा काम गर्ने रेसुंगा नगरपालिकाको वडा नम्बर ७ भुजेलखर्कका २३ वर्षका सन्दीप चुदारालाई प्रहरीले सार्वजनिक गरेको थियो ।

 

उनले गत १८ फागुन राती तम्घासको मध्य बजारबाटै केशव अधिकारीको लु १ च ६१६४ नम्बरको बोलेर जिप र २२ फागुन राती तम्घासकै उदीनढुंगाबाट लु ५७ प ४५५ नम्बरको कालो पल्सर चोरेका थिए ।

 

गुल्मी प्रहरी २ वटा घटनामा संलग्नलाई सार्वजनिक गर्नुपर्ने दबाबमा छ । इस्माको रहस्यमय हत्या र चन्द्रकोटको बाख्रा फार्म आगलागीमा संलग्न अहिलेसम्म पत्ता लागेका छैनन् । 

 

इस्मा गाउँपालिकाको वडा नम्बर १ का मोतीबहादुर कुँवर २१ भदौ २०७७ मा आफ्नै पसलमा हत्या गरिएको अवस्थामा फेला परे । हत्या भएको ७ महिना पुग्न थाले पनि अहिलेसम्म अभियुक्त अझै फेला परेका छैनन् । 

 

त्यस्तै, चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ३ हर्राचौरका शौभाग्य शाहको बाख्रा फर्ममा आगलागी गर्ने व्यक्ति पनि पत्ता लागेका छैनन् । शाहको फार्ममा गत पुस अन्तिम साता आगलागी हुँदा २५ बाख्रासहित खोर जलेर नष्ट भएको थियो ।

 

गुल्मी प्रहरीमा पछिल्लो समय देखिएको सफलताले नागरिकमा नयाँ आशा पलाएको नागरिक समाजका संयोजक पदम पाण्डेयले बताए ।