close

बाँझा खेतमा तरकारी फलाउँदै म्याग्दीका तन्नेरी

बाँझा खेतमा तरकारी फलाउँदै म्याग्दीका तन्नेरी

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ ठूलोबगरका युवाले सामूहिक रूपमा व्यावसायिक तरकारी खेती गरेका छन् । 

 

विदेशबाट फर्किएका र गाउँमै रहेका युवाहरू मिलेर बाँझो खेतबारीमा तरकारी खेती गरी आम्दानी लिन थालेका हुन् ।

 

ठूलोबगर बहुउद्देश्यीय कृषि फार्ममार्फत २० रोपनी बढी जमिनमा व्यावसायिक रूपमा तरकारी खेती गरेका छन् । तरकारी खेतीमा ८ जना आबद्ध भएको फार्मका अध्यक्ष पूर्णबहादुर पुर्जाले बताए ।


‘खेती नभएर बाँझिएको हाम्रो आफ्नै र केही अरूको पनि जग्गा भाडामा लिएर तरकारी लगाएका छौँ,’ उनले भने, ‘स्थानीय बजारमा आवश्यक तरकारी आपूर्ति, रोजगारी र आयआर्जनका लागि सामूहिक तरकारी खेती गरेका हाैँ ।’

 

पूर्णबहादुरसहित लोकबहादुर पुन, बुद्धि पुन, नारायण पुन, रामबहादुर गर्बुजा, मिमबहादुर पुर्जा र गुनबहादुर राम्जाली फार्ममा आबद्ध छन् । सबै जना रोजगारीका लागि विदेश गएर फर्किएका हुन् । 

 

गत मंसिरमा बन्दा, काउली, केराउ, ब्रोकाउली, आलु र गाजर लगाएका थिए । ती तरकारी बिक्री गर्न थालेका छन् । बर्खे सिजनका लागि घिरौला, बोडी, चिचिन्दा, करेला, गोलभेडा लगाएका छन् । 

 

सबै सदस्यले समान रूपमा काम गर्ने र तरकारी बेचेर भएको आम्दानी वितरण गर्ने फार्मका उपाध्यक्ष लोकबहादर पुनले बताए । ‘सबै जना तरकारी फार्मकै काममा खटिएका छौँ,’ उनले भने, ‘काम गरेको ज्याला र तरकारी बेचेर आम्दानी हुने भएकाले दोहोरो फाइदा छ ।’


एक्लै भन्दा समूहमा काम गर्दा छिटो, सजिलो र अनुभव साटासाट गर्न पाइने उनले बताए । मासिक २ लाख रुपैयाँ बढीको तरकारी बिक्री गर्ने उनीहरूको योजना छ । तरकारीका अलावा केरा खेती पनि गरेका छन् । 


बाँदरले सताएपछि ५ वर्षदेखि खेतीबाली लगाउन छाडेको बारीमा तरकारी लगाएर हराभरा बनाएको फार्मका अर्का सदस्य नारायण पुनले बताए । रोजगारीका लागि खाडी मुलुकबाट फर्किआएका पुनले थप जमिनमा पनि तरकारी खेती विस्तार गर्ने योजना सुनाए । 


५ वटा प्लट बनाएका उनीहरूले आम्दानीको हिसाब एकै ठाउँमा राखेका छन् । रासायनिक मल र विषादी प्रयोग नगरिएको उनीहरूले बताए । बाख्रा र गाईवस्तुको मलमूत्र तरकारी खेतीमा प्रयोग गरेका छन् । 


गाउँपालिकाको केन्द्र पोखरेबगर, पर्यटकीय स्थल भुरुङ तातोपानी, घोडेपानी, मुस्ताङका होटल र निर्माणाधीन जलविद्युत् आयोजनाको क्याम्पमा तरकारी आपूर्ति गर्दै आएका छन् । 


होटल र जलविद्युत आयोजनाले फोनबाटै अर्डर गरेर तरकारी लैजाने गरेका छन् । उनीहरूलाई अन्नपूर्णको कृषि शाखाले बिउ र प्राविधिक सहयोग गरेको छ । हिउँदे तरकारी बालीको बिउ उपलब्ध गराउनुका साथै प्राविधिक परामर्श दिएको वडा सदस्य बुद्धि पुनले बताए । 


ठूलोबगरलाई अन्नपूर्णको तरकारी पकेट क्षेत्र बनाउने उद्देश्यसहित युवालाई प्रेरित गरेको उनले जानकारी दिए । सिँचाइ तथा जलस्रोत विकास डिभिजन कार्यालय म्याग्दीले ठूलोबगरलाई लक्षित गरेर ३५ लाख रुपैयाँको लागतमा जारवाङ खोला सिँचाइ आयोजना निर्माण गर्न लागेको छ । 


सिँचाइ सुविधा भएपछि खेती गर्न थप सहज हुने तन्नेरी युवा बताउँछन् । २५ घरधुरी बसोबास रहेको ठूलोबगर गाउँका अधिकांश कृषक बाख्रा र कुखुरापालन व्यवसायमा आबद्ध छन् । 


कृषि पर्यटनको विकासका लागि ठूलोबगरमा घरबास सुरु गर्न लागेको स्थानीय मितेरी आमा समूहकी अध्यक्षसमेत रहेकी कार्यपालिका सदस्य विष्णु परियारले जानकारी दिइन् । 


आमा समूहले सामूहिक आलु खेतीको आम्दानीले सर्वोदय माविको स्कुल बस खरिद गर्न २० हजार र मिर्गौला रोगी बलबहादुर राम्जालीको उपचारका लागि ३ हजार रुपैयाँ सहयोग गरेको उनले बताइन् । समूहले विपन्न समुदायका सुत्केरी महिलाको पोषण सुधारका लागि ५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको थियो ।