close

मेउडिहवा आधारभूत विद्यालय भवन हस्तान्तरण

मेउडिहवा आधारभूत विद्यालय भवन हस्तान्तरण

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ स्थित मेउडिहवा आधारभूत विद्यालयमा २ कोठे भवन निर्माण भएको छ । १५ लाख रुपैयाँ लागतमा निर्माण भएको भवनको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले उद्घाटन गरे । राउन्ड टेबल नेपाल र लुम्बिनी राउन्ड टेबल १६ ले विद्यालयको २ कोठे भवन बनाइदिएका हुन् ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले राउन्ड टेबलले सामाजिक, शैक्षिक विकासमा रचनात्मक काम गरेको बताए । विद्यालय भवन निर्माणसँगै अब शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता उनले औँल्याए ।

 

नगरपालिकाभित्र रहेको विद्यालयमा भौतिक पूर्वाधार सुधार गर्न संस्थाले पुर्‍याएको सहयोग सकारात्मक रहेको उनको भनाइ छ । लुम्बिनी राउन्ड टेबल १६ का अध्यक्ष सौरभ अग्रवालले राउन्ड टेबल इन्टरनेसनल डे अवसर पारेर निर्माण सम्पन्न भवन विद्यालयलाई हस्तान्तरण गरिएको जानकारी दिए ।

 

राउन्ड टेबल इन्टरनेसनल एसिया प्यासिफिक चियरम्यान सिद्धान्त गुप्ताले राउन्ड टेबल नेपाल र लुम्बिनी राउण्ड टेबल १६ ले उत्कृष्ट काम गरेको बताए । राउन्ड टेबल नेपालका राष्ट्रिय अध्यक्ष सौरभ केडियाले विद्यार्थीलाई अध्ययनमा सहज बनाउन भवन निर्माण गरिएको जानकारी दिए ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र कोहारले राउन्ड टेबलले विद्यालयलाई सहयोग गर्नु प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि सहयोगलाई जारी राख्न आग्रह गरे ।

 

राउन्ड टेबलका राष्ट्रिय सचिव राहुल अग्रवालले नेपालमा २८ वटा राउन्ड टेबल क्लबबाट शिक्षा, स्वास्थ्य र अन्य सामाजिक कार्य गरिरहेको बताए । उनले वार्षिक २० हजार विद्यार्थीलाई संस्थाले सहयोग गर्दै आएको जानकारी दिए । 

 

कार्यक्रम संयोजक अभिषेक बेरिवालको स्वागत तथा विद्यालयका पूर्वप्रधानाध्यापक हेमन्त अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । २०१६ मा स्थापना भएको विद्यालयमा हाल २ सय ३० विद्यार्थी अध्ययनरत छन् ।