close

राज्य संयन्त्र फितलो हुँदा उपभोक्ता अधिकार ओझेलमा

राज्य संयन्त्र फितलो हुँदा उपभोक्ता अधिकार ओझेलमा

Trulli
ADVERTISEMENT

गुल्मी- विश्व उपभोक्ता अधिकार दिवस अवसरमा आयोजित कार्यक्रममा व्यवसायी एवं सरोकारवालाले उपभोक्ता अधिकार कार्यान्वयनमा राज्य संयन्त्र फितलो भएको गुनासो गरेका छन् ।

 

दिवस अवसरमा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्लाका उद्योगी व्यवसायीसँग उपभोक्ता अधिकारका विषयमा छलफल गर्‍यो । 

 

सोही अवसरमा अधिवक्ता विनोद पाण्डेयले संविधानमा उल्लेख भएको उपभोक्ता अधिकारको विषयमा कार्यपत्र प्रस्तुत गरे । 

 

कार्यक्रममा नागरिक समाजका संयोजक पदम पाण्डेयले नियमनकारी निकाय र अन्य संयन्त्र कमजोर भएका कारण उपभोक्ता अधिकार स्थापित हुन नसकेको बताए । राज्यको दायित्व कानुन मात्रै निर्माण गर्नेजस्तो देखिएको उनको आरोप छ ।

 

राज्य विदेशका कानुन अनुसरण गर्ने तर कार्यान्वयन, अनुगमन र पीडितको क्षतिपूर्ति भराउने काममा उदासीन बनेको पाण्डेले बताए ।

 

गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष ईश्वरी पौडेलले गुणस्तर विभागले उत्पादन स्थलमा अनुगमन नगरेर व्यापारीलाई मात्रै दुःख दिने काम गरेको गुनासो गरे । विभागले व्यवसायीसँग गुणस्तर चेकजाँच गर्ने उपकरण नहुने गरेकोप्रति ध्यान नदिएको उनको दाबीछ ।

 

चेम्बर अफ कमर्सका अध्यक्ष युवराज न्यौपानेले व्यापारीलाई उपभोक्ताले २ नम्बरी भनेर मात्र हेर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्समा आबद्ध व्यवसायी, नागरिक समाजका प्रतिनिधि, पत्रकार एवं विभिन्न विद्यालयका विद्यार्थीको उपस्थिति थियो । 


उपभोक्ता अधिकार र विद्यार्थी भूमिका विषयमा निबन्ध प्रतियोगितासमेत सम्पन्न भएको छ । प्रतियोगितामा ब्रिलेन्ट युनाइटेड ऐकेडेमीका अर्बिन केसी र ऋचा श्रेष्ठ प्रथम भए ।

 

त्यस्तै, अर्जुन आवासीय माविकी कृतिका जिसी द्वितीय, आदर्श विद्या आश्रमकी सुजता पाण्डेय, सिद्धबाबा माविकी अनुजा गिरी, अर्जुन आवासीय माविका गौरव मरासिनी र आदर्श विद्या आश्रमका अर्पण भण्डारी तृतीय भएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए ।

 

प्रतियोगितामा बुद्ध माविकी सपना परियार सान्त्वना भइन् । उत्कृष्ट र सहभागी सबैलाई नागरिक समाजका संयोजक पाण्डेयले पुरस्कृत गरे ।