close

निसीखोलाका सबै वडा सडक सञ्जालको पहुँचमा

निसीखोलाका सबै वडा सडक सञ्जालको पहुँचमा

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङको निसीखोला गाउँपालिकाका सबै वडामा सडक सञ्जाल विस्तार गरिएको छ । स्थानीय सरकार गठनपछिका ४ वर्षमा गाउँपालिकाले सबै वडामा सडक विस्तार गरेको हो ।

 

सडक बनेपछि गाउँबासीलाई मात्र नभई स्थानीय कृषि उपजको बजारीकरणमा समेत सहज भएको छ । पहिले सडक नरहेका वडामा गाउँपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गरेको थियो ।

 

गाउँपालिकाको पहलमा बितेका ४ वर्षमा ८८ किलोमिटर सडक बनेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । 


‘मध्यपहाडी लोकमार्गले सबै वडामा छोएको छ । त्यसबाहेक वडा मुकाम र गाउँहरूमा सडक सञ्जाल थिएन,’ पौडेलले भने, ‘४ वर्षमा हामीले सडकमा मात्रै ठूलो लगानी गरेर ट्रयाक बनाएका छौँ ।’

 

मध्यपहाडी लोकमार्गले गाउँपालिकाका ७ वटै वडा छोएको छ । लोकमार्गबाहेकका सडक गाउँ तहमा जोड्न थप सहज भएको पौडेलले जानकारी दिए ।

 

कालोपत्रे भएको लोकमार्गबाट वडा र टोलमा जोडिएका सडकका कारण दैनिकीमा सहज भएको स्थानीय बताउँछन् । निसीखोलामा प्रदेश र संघीय सरकारले बनाएका सडकको भने अभिलेख राखिएको छैन ।

 

‘बल्ल सडक सञ्जाल पुर्‍याऔँ । अब स्तरोन्नति र कालोपत्रेको विषयमा सोच्छौँ,’ पौडेलले भने, ‘कठिन भूगोल भएका गाउँमा कच्ची सडक पु¥याउन धेरै समय खर्च भयो । निसीखोलामा मध्यपहाडी राजमार्गले छोएबाहेकका सबै सडक कच्ची छन् । 

 

डोजर अपरेटरकै भरमा बनाइएका सडक हिउँदमा धुलाम्मे र बर्खाको समय हिलाम्मे हुने गरेका कारण स्थानीय मारमा पर्ने गरेका छन् । भएका सडकको स्तरोन्नति गरेर बाह्रै महिना चल्ने बनाउँदा सडकको सदुपयोग हुने स्थानीयले बताए ।


बागलुङमा साविकका गाउँ विकास समितिलाई एकीकृत गरेर बनाइएका गाउँपालिकामध्ये निसीखोला दुर्गम पालिकाको रूपमा परिचित छ । यहाँ स्थानीय जनप्रतिनिधि आउनुपूर्व वडा मुकाममा समेत सडक सञ्जाल पुगेको थिएन ।


अहिले कच्ची सडकले निसीखोलाका हरेक वडा जोडेको छ । वडामा पुगेका सडकले बीचमा पर्ने गाउँटोल र बस्ती जोडिसकेकाले सडक स्तरोन्नतिमा ध्यान दिइने गाउँपालिकाले जनाएको छ ।