close

धिप्लुङ झरना बनाउन ५ करोड: निर्माणका लागि गरियो ठेक्का आह्वान 

धिप्लुङ झरना बनाउन ५ करोड: निर्माणका लागि गरियो ठेक्का आह्वान 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अवस्थित धिप्लुङ झरनाको पर्यटन पूर्वाधार निर्माणका लागि ५ करोड रुपैयाँकोे ठेक्का आह्वान गरिएको छ । 

गाउँपालिकाको वडा नम्बर ७ टेम्मा र वडा नम्बर ६ छितापोखरीको सिमानामा पर्ने १ सय ६७ मिटर अग्लो झरनाको पर्यटन  प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न गाउँपालिकाले १ चैतमा ठेक्का आह्वान गरेको हो ।

 

पर्यटकीय स्थलको पर्यटन  प्रवर्द्धनका लागि पर्यटन मन्त्रालय र गाउँपालिकासँगको साझेदारीमा धिप्लुङ झरना आसपासमा भौतिक संरचना थप गर्न लागिएको हो ।

 

पर्यटन मन्त्रालयको ३ करोड ५० लाख र गाउँपालिकाको १ करोड ५० लाख रुपैयाँमा चालू आर्थिक वर्षबाटै धिप्लुङ झरनाको पर्यटन पूर्वाधार निर्माणको काम हुने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । 

 

पर्यटन मन्त्रालय र स्थानीय तहको साझेदारीमा धिप्लुङ झरनाको सिरानमा गेट, गेटभित्र पार्किङ स्थल, झरनासम्म झर्ने सिँढी, प्रतीक्षालय, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरिनेछ । 

 

धिप्लुङ झरनाको पर्यटन  प्रवर्द्धनका लागि आगामी वर्ष झरनाभन्दा माथि खोला वारपार गर्ने पुल तथा दृश्यावलोकनका लागि वारिपारि जोड्ने पुल निर्माणको लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष राईले बताए । 

 

धिप्लुङ झरनाको पर्यटन  प्रवर्द्धनका लागि आवश्यक संरचना निर्माण गर्न साढे ६ करोड रुपैयाँको डिपिआर तयार पारिएको छ ।

 

लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकासका लागि पर्यटन मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७ अनुसार स्थानीय तहबाट प्रस्ताव आह्वान गरेको थियो । 

 

सम्बन्धित स्थानीय तहले गरेको प्रस्तावका आधारमा धिप्लुङ झरनाको पर्यटन पूर्वाधार निर्माणका लागि पर्यटन मन्त्रालयले बजेट विनियोजन गरेको हो । 

 

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले छितापोखरी गोगने हुँदै झरनासम्म पुग्ने सडक, सडकबाट झरनासम्म रेलिङसहितको ढलान बाटो, पार्क, फलैँचा, रेलिङसहितको पक्की बाटो बनाएपछि झरनामा घुमफिरमा जाने आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । 

 

धिप्लुङ झरना माथि ढकनी आकारको ढुंगा छ । त्यही ढुंगामाथि ठूला-ठूला सर्प, बिच्छी र खजुरा घाम लागेका बेला बस्ने र अलिअलि धुम्मिनेबित्तिकै लुक्ने गरेको किंवदन्ती छ ।

 

ढुंगामुनिको बहुमुल्य धातुको रक्षाका लागि बस्ने सर्प, बिच्छी, खजुरालाई चट्याङले हान्ने गरेको स्थानीय बताउँछन् । झरना आसपास झाँक्री गुफा रहेको र रिठ्ठे झाँक्री बस्ने हुनाले आसपासका स्थानीयले पूजाआजा गर्ने गरेका छन् । 

 

धिप्लुङ झरनाको उचाइ, ठेगानालगायत विषयवस्तु लोकसेवा आयोगमा समेत समावेश छ ।