close

काठमाडौं महानगरभित्रका ४८ हजार बढीले लगाए कोरोना खोप

काठमाडौं महानगरभित्रका ४८ हजार बढीले लगाए कोरोना खोप

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र दोस्रो चरणअन्तर्गत पहिलो प्राथमिकतामा परेका ६५ वर्षमाथिका ४८ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् । महानगरको १४ केन्द्रबाट ४८ हजार ६८ जनाले खोप लगाएको महानगरपालिकाले जानकारी दिएको हो । 

 

यीमध्ये २५ हजार ३ सय २५ जना पुरुष र २२ हजार ७ सय ४३ जना महिलाले कोरोनाविरुद्धको खोप लगाएको काठमाडाैं महानगरपालिका सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभाग प्रमुख हरिबहादुर कुँवरले बताए ।

 

‘प्राप्त तथ्यांकअनुसार सबैभन्दा बढी सिभिल हस्पिटलबाट ६ हजार ७ सय १७ जनाले खोप लगाएका छन् । ओम अस्पताल एन्ड रिसर्च सेन्टर चावहिलबाट ३ हजार ९ सय ४८, वीर अस्पतालबाट ४ हजार ३ सय ७१, टिचिङ अस्पतालबाट ३ हजार ८ सय ४३ जनाले खोप लगाए । 

 

त्यसैगरी नेपाल प्रहरी अस्पतालबाट ३ हजार ७ सय २०, हिमाल अस्पताल नक्सालबाट ३ हजार ७ सय ९, टेकु अस्पतालबाट ३ हजार २ सय ६९, स्तुपा अस्पताल बौद्धबाट ३ हजार २ सय २ र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट ३ हजार ८३ जनाले खोप लगाएको महानगरपालिकाले जनाएको छ । 

 

सबैभन्दा कम मदरल्यान्ड अस्पतालमा १ हजार २ सय ६७ जनाले खोप लगाएका छन् भने जनमैत्री अस्पतालमा २ हजार ४ सय ४८ र केएमसी अस्पताल सिनामंगलबाट २ हजार ६ सय १० जनाले लगाएका छन् ।

 

क्षत्रपाटी निःशुल्क चिकित्सालयमा २ हजार ८ सय ४२, प्रसूतिगृह थापाथलीमा २ हजार ९ सय ९९ जनाले खोप लगाए । केही दिनअघि काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यसहितको टोलीले महानगरभित्रका कोभिडविरुद्धको खोप केन्द्र अनुगमन गरेको थियो ।

 

अनुगमनका क्रममा प्रमुख शाक्यले खोपबाट कसैलाई वञ्चित नगराउने सरकार र महानगरपालिकाको अभियान रहेकाले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र आफूले समेत लगाइसकेकाले नागरिकलाई पनि ढुक्क भएर खोप लगाउन आग्रह गरेका थिए । 

 

काठमाडौं महानगरभित्रका १४ स्थानमा खोप केन्द्र व्यवस्था गरिएको थियो । काठमाडौं महानगरले सबै केन्द्रमा चिया, कुकिज, फलफूल, पानी र टेन्टको व्यवस्था गरेको थियो ।