close

फक्ताङलुङ गाउँपालिकामा लकडाउन

फक्ताङलुङ गाउँपालिकामा लकडाउन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ -  गाउँपालिकाका १ वृद्धमा कोरोना संक्रमण देखा परेपछि समुदाय स्तरमा फैलन सक्ने आशंकामा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले एक साताका लागि लकडाउन घोषणा गरेको छ । गाउँपालिकाबाट प्रवाह हुने सबै सार्वजनिक सेवा पनि बन्द भएको छ ।


गाउँपालिकाले सूचना प्रकाशित गरी अत्यावश्यकबाहेक सबै सार्वजनिक  सेवा सात दिनका लागि बन्द गरेको हो ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठले आउँदो १६ असोजसम्म पालिका कार्यालय, बैंकिङ क्षेत्र, शिक्षण संस्था र अत्यावश्यकबाहेक यातायात सेवासमेत बन्द गरिएको बताए ।


गाउँ कार्यपालिकाले अत्यावश्यक कामबाहेक कसैलाई पनि घरबाट बाहिर निस्कन, हिँडडुल गर्न, समूहमा भेला हुन तथा सामूहिक क्रियाकलापलगायतका गतिविधि बन्द गर्न पालिकाबासीलाई आह्वान गरेको छ ।


गाउँपालिका विपद् व्यवस्थापन समिति (अध्यक्ष स्तर) को निर्णयले यस्तो निष्कर्षमा पुगिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।


‘विराटनगरको नोबेल मेडिकल कलेज तथा झापाको कन्काई अस्पतालमा उपचार गराउन गएका फक्ताङलुङका एक वृद्धमा अस्पतालबाट फर्किएको ३ दिनपछि संक्रमण पुष्टि भएपछि गाउँपालिकाले साताव्यापी लकडाउन घोषणा गरेको हो’, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने ।