close

ऐतिहासिक थलो जितगढी (बटौली) युद्ध संग्रहालय निर्माण हुँदै

ऐतिहासिक थलो जितगढी (बटौली) युद्ध संग्रहालय निर्माण हुँदै

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृतिक सहर पुरानो बुटवल (बटौली) लाई जोड्ने गरी संग्रहालय निर्माण सुरु भएको छ ।

 

ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालीन नेपाल-अंग्रेज युद्धताकाको झल्को दिने गरी निर्माण गर्न लागिएको महत्त्वपूर्ण संरचना हो । 

 

जितगढी (बटौली) युद्ध संग्रहालयका नाममा निर्माण हुने उक्त संरचनाको बुधबार शिलान्यास भएको छ । उपमहानगर प्रमुख शिवराज सुवेदीले उक्त संग्रहालयको शिलान्यास गरे ।

 

राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रूपमा रहेको जितगढीलाई पर्यटन केन्द्रको रूपमा अगाडि बढाउन संग्रहालय निर्माण सुरु गरिएको उनले जानकारी दिए ।

 

‘प्राचीन सहरले जन्माएका सबै उपसहरलाई जोड्ने एउटै पर्यटन सर्किट बनाइनेछ । बुटवल चक्रपथ, तिनाउ–दानव करिडोर र छिमेकका पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोड्ने काम हुँदै छ’, प्रमुख सुवेदीले भने ।

 

बुटवल उपमहानगरले बनाएको एकीकृत सहरी विकास गुरुयोजनामा रहेको पर्यटनअन्तर्गतको एउटा कामका रूपमा संग्रहालय रहेको प्रमुख सुवेदीले जानकारी दिए । बुटवलमा जनप्रतिनिधि निर्वाचित भएपछि बुटवलको आवधिक र दीर्घकालीन महत्त्वका योजना तय भएका छन् ।

 

अबको ५० वर्षपछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकीकृत सहरी विकासको गुरुयोजना बनाइएको छ । बुटवल वडा नम्बर १ को भैरव मन्दिर नजिकै रहेको उपमहानगर करिब ३ कठ्ठा जग्गामा उक्त संग्रहालय बन्नेछ । संग्रहालय ४ तलाको हुनेछ । 


पहिलो, दोस्रो, तेस्रो तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाको परिकारसमेत पाइने गरी क्याफे रहनेछ । यस्तै, तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनो राखिएको सोभिनियर सप रहनेछ ।

 

करिब ६ करोड ८२ लाख ५० हजार २ सय ५६ रुपैयाँ बराबरको लागतमा उक्त संग्रहालय निर्माण हुन लागेको हो । निर्माणका लागि उपमहानगर र निर्माण कम्पनीबीच गत १० माघमा सम्झौता भएको थियो । 

 

आगन्तुक पाहुनालाई बुटवलको पहिचान झल्काउने, नयाँ पुस्तालाई जानकारी गराउने र बुद्धावलीको प्राचीन बटौलीदेखि हालको बृहत् बुटवलको अवस्थाबारे जानकारी दिने खालको संग्रहालय निर्माण गर्न लागिएको उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्यले बताइन् । शिलान्यास अवसरमा विभिन्न राजनीतिक दलका नेता, सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

 

निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि इन्जिनियर प्रभाकर लामिछानेले तोकिएको समयअगावै निर्माण सक्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । स्थानीय जनप्रतिनिधि, टोल विकास संस्था र समुदायको सहकार्य र समन्वयमा कामलाई प्रभावकारी बनाइने उनको भनाइ छ ।

 

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले संग्रहालय निर्माणका लागि आवश्यक पर्ने समन्वय र सहकार्यमा कुनै कसुर बाँकी नराख्ने बताए । वडा नम्बर १ का वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले संग्रहालय निर्माणमा समुदाय स्तरबाट सहयोग र सहकार्य रहने प्रतिबद्धता जनाए ।