close

५ वटा नगरपालिकालाई काठमाडौं महानगरको ५ करोड 

सहयोग रकम पार्क निर्माणमा खर्चिने

५ वटा नगरपालिकालाई काठमाडौं महानगरको ५ करोड 

सहयोग रकम पार्क निर्माणमा खर्चिने

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले नगर-नगर साझेदारी कार्यक्रमअन्तर्गत उपत्यकाका ५ वटा नगरपालिकालाई धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

 

२ वटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको छ । कार्यक्रमपछि महानगरपालिकाले ५ वटा नगरपालिकालाई सम्झौतापत्रअनुरूपको चेक हस्तान्तरण गरेको छ । 

 

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका ती नगरपालिकासँग सम्झौतासहित चेक हस्तान्तरण गरे । 

 

काठमाडौं महानगरले २०७७/७८ को स्वीकृत नीति तथा कार्यक्रमबमोजिम नगर-नगर साझेदारी कार्यक्रम शीर्षकमा कागेश्वरी मनोहरा, दक्षिणकाली, तारकेश्वर, कीर्तिपुर र मध्यपुर थिमि नगरपालिकासँग धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माणका लागि आर्थिक सहयोगको सम्झौता गरेको महानगर प्रमुख शाक्यले जानकारी दिए । 

 

सम्झौताअनुसार दक्षिणकाली नगरपालिका क्षेत्रभित्र रहेको वडा नम्बर ५ गोरखनाथ डाँडामा अवस्थित बहुउद्देश्यीय उद्यान निर्माणका लागि थप १ करोड रुपैयाँ हस्तान्तरण गरिएको छ । 

 

यसअघि पनि सोही उद्यान निर्माणका लागि महानगरपालिकाले १ करोड रुपैयाँ सहयोग गरेको थियो । त्यसैगरी तारकेश्वर नगरपालिकाभित्र रहेको वडा नम्बर ५ को भ्युटावर र वडा नम्बर २ को तारकेश्वर राष्ट्रिय झन्डा पार्क निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ । यसअघि तारकेश्वर धाम निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गरेको थियो । 

 

त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाभित्र रहेको वडा नम्बर १ मा अवस्थित प्रसिद्ध कागेश्वरी मन्दिर र त्यस वरिपरिको क्षेत्रलाई समेटी कागेश्वरी धाम निर्माणका लागि पनि १ करोड रुपैयाँ सहयोग गरेको छ । यसअघि पनि सो नगरपालिकालाई १ करोड रुपैयाँ सहयोग गरेको थियो । 

 

त्यसैगरी कीर्तिपुर नगरपालिकामा युद्धस्मारक पार्क निर्माणका लागि महानगरपालिकाले १ करोड रुपैयाँ प्रदान गरेको छ । उक्त नगरपालिकाभित्र रहेको वडा नम्बर १, २ र १० लाई समेटी त्यहाँ करिब ५५ रोपनी क्षेत्रफलमा युद्ध स्मारक पार्क निर्माण भइरहेको छ । 

 

मध्यपुर थिमि नगरपालिकाको वडा नम्बर ४ मा निर्माणधिन शंखधर पार्क निर्माणका लागि काठमाडौं महानगरपालिकाले थप १ करोड रुपैयाँ सहयोग गरेको छ । यसअघि पनि महानगरले सो उद्यान निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गरेको थियो ।

 

त्यहाँ करिब १० रोपनी क्षेत्रफलमा मण्डला, एम्पिथिएटर चिःबहालगायत निर्माण हुँदै छ । भक्तपुरकै चाँगुनारायण नगरपालिकालाई पनि काठमाडौं महानगरपालिकाले ताथलीमा उद्यान निर्माणका लागि १ करोड रुपैयाँ दिएको छ । नगरप्रमुख उपत्यकाबाहिर रहेकाले छिट्टै सो सम्झौतामा हस्ताक्षर हुने प्रमुख शाक्यले जानकारी दिए ।

 

काठमाडौं महानगरपालिकाले चन्द्रागिरि नगरपालिकालाई मातातिर्थ पार्क निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । उक्त नगरपालिकाका प्रमुख पनि कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेपछि सो नगरपालिकासँग छिट्टै सम्झौतापत्रमा हस्ताक्षर हुने महानगरपालिकाले जानकारी दिएको छ ।

 

यसअघि सो नगरपालिकालाई मदन भण्डारी पार्क निर्माणका लगि महानगरले १ करोड रुपैयाँ सहयोग गरेको थियो । 

 

केही समयअघि भगिनी सम्बन्ध स्थापना गरेको मेलम्ची नगरपालिकालाई पनि प्रमुख शाक्यले सो क्षेत्रमा मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । कार्यक्रममा ती सबै नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको पनि सहभागिता थियो । 

 

चेक हस्तान्तरण कार्यक्रमपछि सम्बोधन गर्दै प्रमुख शाक्यले कोही एक्लै अघि बढ्न नसक्ने हुँदा सबैको सहकार्यमा मात्रै काठमाडौं उपत्यका र समग्र देशको विकास गर्न सकिने सन्देश दिन यस्तो कार्यक्रम अघि बढाइएको बताए । 

 

‘हामीले जुन–जुन नगरपालिकासँग सम्वन्ध कायम गरेका छौँ, ती नगरपालिकासँग आत्मीयता बढेको छ’, उनले भने, ‘त्यहाँका स्थानीयमा पनि महानगरपालिका हाम्रो पनि हो, हामीले माया गर्नुपर्छ । महानगरलाई महानगर बनाउन सहयोग गर्नुपर्छ भन्ने भावना जागृह हुने अपेक्षा गरेका छौँ ।’

 

शाक्यले सम्पदा, पर्यटन र पर्यापर्यावरणलाई ध्यानमा राखेर सहयोग गरेको स्मरण गराए । ‘यहाँ मानव निर्मित सम्पदा छन् । विश्व सम्पदा सूचीमा सूचीकृत ४ वटा सम्पदा छन् । अन्य नगरपालिकामा हेर्ने हो भने प्रकृति निर्मित सम्पदा छन्’, उनले भने, ‘हामीबीचको सम्बन्ध स्थापना गर्ने र आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो सम्झौता गरेका हौँ ।’

 

महानगरले यसअघि काठमाडौंका १० वटा नगरपालिका र भक्तपुरको मध्यपुर थिमिलाई नगर-नगर साझेदारीअन्तर्गत सहयोग गरेको थियो । महानगरपालिकाले पहिला सहयोग गरेका परियोजना सफल भएको अवस्थामा मात्रै थप सहयोग गर्ने नीति लिएको छ ।