close

बेनामे लामो पुलको अब आफ्नै नाम !

बेनामे लामो पुलको अब आफ्नै नाम !

Trulli
ADVERTISEMENT

बागलुङ- कालीगण्डकी नदीमाथि बनेको बेनामे लामो पुल । सदरमुकाम बागलुङ बजार र पर्वत सदरमुकाम कुश्मा बजारसँग जोडिएको पाङ गाउँलाई जोडेकाले यो पुलको आफ्नै महत्त्व छ ।

 

सिंगल स्पान प्रविधिमा ५६७ मिटरको संसारकै लामो पुलको भएको भन्दै ‘गिनिज बुक अफ द वल्र्ड’ मा दाबी प्रस्तुत गरेको बागलुङ नगरपालिकाले यसलाई आफ्नै परिचय दिने अभियान सुरु गरेको छ ।

 

पुलको बागलुङतर्फ नजिकै रहेको प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिर, छेवैमा बन्दै गरेको बांगेचौर रंगशाला, शालिग्राम बग्ने प्रसिद्ध कालीगण्डकीको महिमा र ज्योतिषको गाउँ पाङलगायतका महत्त्वपूर्ण क्षेत्रसँग जोडिएकाले यो पुलको विशेषता र महत्त्व निकै फराकिलो छ ।

 

पुललाई लामो पुलको रूपमा मात्रै परिचित गराउनुभन्दा आफ्नै नाम दिएर पर्यटन प्रवद्र्धनमा योगदान दिन नगरपालिकाले प्रक्रिया थालेको हो । पुलको नामकरणका लागि पेस भएका नामबाट उत्कृष्ट नाम छनोटका लागि बागलुङ नगरपालिकाले छनोट समिति गठन गरेको छ ।

 
लामो झोलुंगे पुलको नामकरणका लागि नगरपालिकाले सार्वजनिक सूचना गरेको थियो । सूचनाका आधारमा प्राप्त नाममध्येबाट आर्थिक, सांस्कृतिक र अन्तर्राष्ट्रिय महत्त्व झल्कने हिसाबले उपयुक्त ३ वटा नाम सिफारिस गर्न नगरले सिफारिस समिति बनाएको हो । नामकरण गर्नेलाई २५ हजार रुपैयाँ पुरस्कार दिइने नगरप्रमुख जनकराज पौडेलले बताए ।


समितिको संयोजकमा नगर उपप्रमुख सुरेन्द्र खड्का, सदस्यमा सह-प्राध्यापक विष्णुप्रसाद मैत्रेय, देवबहादुर श्रेष्ठ, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, कुश्मा नगरपालिका वडा नम्बर १ का अध्यक्ष देवेन्द्र सुवेदी र नगरका सूचना अधिकारी युक्तप्रसाद सुवेदी छन् ।

 

नगरले सार्वजनिक गरेको सूचनाका आधारमा अनलाइन र कार्यालयमार्फत दर्जनौँ नाम प्राप्त भएका छन् । तीबाट छनोट समितिले ३ वटा नाम नगरपालिकालाई सिफारिस गर्नेछ । 


एउटा उत्कृष्ट नाम नगरपालिकाले छनोट गरेर पुलको नामकरण गर्ने नगरप्रमुख जनकराज पौडेलले बताए । पुलको नामकरणपछि बागलुङको प्रचार र पर्यटनमा टेवा पुग्ने विश्वास नगरपालिकाको छ ।

 

पर्वतको पाङ र बागलुङ बजार ओहोरदोहोरमा सहजताका लागि बनाइएको पुल उद्घाटनपछि आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । यो पुलमा दैनिक हजार बढी पर्यटक आउने गरेको नगरपालिकाको दाबी छ ।

 

पुलबाट देखिने हिमशृंखला, कालीगण्डकीको बहाव र हरियाली डाँडाकाँडाले सहरिया जनजीवनबाट आत्तिएका पर्यटकलाई भुलाउने गरेको छ ।