close

वडा कार्यालयमा तेस्रोपल्ट लाग्यो ताला 

वडा कार्यालयमा तेस्रोपल्ट लाग्यो ताला 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको एँसेलुखर्क गाउँपालिकाको वडा नम्बर २ बाकाचोल वडा कार्यालयमा स्थानीयले ताला लगाइदिएका छन् । 

 

समन्वय नगरी वडाध्यक्ष सन्तवीर तामाङले बिस्खाम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको र कोठे बैठक राखेर बादेल–बिस्काम सडक उपभोक्ता समिति गठन गरिएको भन्दै असन्तुष्ट स्थानीयले बुधबार वडा कार्यालयमा ताला लगाएका हुन् । 

 

बाकाचोल बिस्खाम खोलाको पानी अन्यत्र लैजान बन्द गर्नुपर्ने र संसद् विकास कोषबाट १० लाख रुपैयाँ विनियोजन भएको बादेल–बिस्खाम सडक निर्माण उपभोक्ता समिति पुनर्गठन गर्नुपर्ने मागसहित वडा कार्यालयमा ताला लगाइएको स्थानीय नन्दकुमार तामाङले बताए । 

 

बाकाचोल वडा कार्यालयमा ताला लागेको यो तेस्रो पटक हो । वडाध्यक्षसँगको असमझदारीका कारण यसअघि २८ जेठ २०७७, ७ पुस २०७६ मा वडा कार्यालयमा ताला लगाइएको थियो ।

 

माग सम्बोधन नभए वडा कार्यालयमा लगाइएको ताला नखोल्ने बाकाचोलबासीको नाममा प्रेस विज्ञप्ति नै जारी गरिएको छ । वडाध्यक्षले मनपरी गरेको भन्दै असन्तुष्ट पक्षले बुधबार ४०५ जनाको हस्ताक्षरसहितको विरोधपत्र ऐँसेलुखर्क गाउँपालिकालाई समेत बुझाएका छन् । 

 

छलफलै नगरी बिस्काम खोलाको पानी ऐँसेलुखर्क बजारलगायतका ठाउँमा लैजाने तयारी गरिएपछि स्थानीय असन्तुष्ट बनेका हुन् । 

 

समन्वय नै नगरी बिस्खाम खोलाको पानी अन्यत्र लैजान लागिएको भन्दै बाकाचोल बहुउद्देश्यीय सहकारी संस्थामार्फत पनि स्थानीयले गत असोजमा विरोध जनाएका थिए । 

 

बिस्काम खोलाको पानी अन्यत्र लैजाँदा पर्ने प्रभाव र असरलाई ध्यानै नदिई माथिल्लो खानेपानी आयोजना नाम दिएर खानेपानी आयोजना सञ्चालन गर्न लागिएको असन्तुष्ट स्थानीयको दाबी छ ।

 

बिस्काम खोलाको पानी अन्यत्र लैजान विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर बजेट विनियोजन भइसकेपछि मात्र स्थानीयले योजनाबारे चाल पाएका थिए । 

 

बिस्काम खोलाको पानी अन्यत्र लैजाँदा ४ करोड रुपैयाँको खर्चमा बनाइएको सिन्दुरेढुंगा लिदिङ खोला लघु जलविद्युत् आयोजनालाई असर पर्ने स्थानीय बताउँछन् ।

 

यस्तै, साविकको बाकाचोल वडा नम्बर २ र ३ का सिँचाइ आयोजना प्रभावित हुँदा कृषि क्षेत्रमा दीर्घकालीन असर पर्ने, एँेसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा सञ्चालित लघुजलविद्युत योजना र सिँचाइमा प्रत्यक्ष असर पर्ने देखिएको सहकारीका सचिव तुलसीराम पुरीले बताए । 

 

गत १८ असारको वडा परिषद्मा वडा सदस्य जयकुमार तामाङले समन्वय र छलफलै नगरी बिस्काम खोलाको पानी अन्यत्र लैजान लागिएको भन्दै आवाज उठाएपछि मात्र स्थानीयले त्यसबारे जानकारी पाएका थिए । 

 

वडा कार्यालय भवन निर्माणमा वडाध्यक्ष तामाङले आफूखुसी गरेको भन्दै ४ वटा सदस्य एवं असन्तुष्ट स्थानीयले गत २८ जेठमा वडा कार्यालयमा ताला लगाएका थिए । 

 

यस्तै, वडाध्यक्ष तामाङको कार्यशैलीमाथि प्रश्न उठाउँदै ७ पुस २०७६ मा वडा सदस्य जयकुमार तामाङले वडा कार्यालयमा लगाएको ताला गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला, उपाध्यक्ष पुष्पकला भुजेलको उपस्थितिमा सहमतिपछि १४ पुसमा खुलाइएको थियो । 

 

आगामी दिनमा वडाध्यक्षले योजना सञ्चालनका क्रममा एकलौटी नगर्ने, योजनाका विषयमा वडा सदस्यसँग पनि समन्वय गर्नेलगायत सहमतिमा ताला खुलाइए पनि आफूलाई सहज हुने व्यक्तिलाई राखेर बादेल–बिस्खाम सडक उपभोक्ता समिति गठन गरिएको हो ।

 

कोठे बैठक राखेर गठन गरिएको उपभोक्ता समिति भंग गर्दै स्थानीयसँगको छलफलका माध्यमबाट नयाँ उपभोक्ता समिति गठन गर्नुपर्ने नन्दकुमारले बताए । 

 

वडाध्यक्ष तामाङले भने हलासम्म बिस्खाम खोलाको पानी अन्यत्र लैजान कसैलाई अनुमति नदिइएको बताए । वडाध्यक्ष तामाङले सम्बन्धित ठाउँकै स्थानीयलाई राखेर बादेल–बिस्खाम सडक उपभोक्ता समिति बनाइएको दाबी गरे ।

 

‘बिस्खाम खोलाको पानी अरूलाई दिन मैले कालो मसी खर्च गरेको छैन । वडा कार्यालयको लेटर प्याडमा कसैलाई पानी लैजान भनेर सिफारिस दिएको छैन,’ वडाध्यक्ष तामाङले भने, ‘सडक निर्माण उपभोक्ता समिति र वडा सदस्य डम्बरकुमारी राईलाई बनाउन लगाएको हुँ । यसरी वडा कार्यालयमा ताला लगाएर निकास निस्कँदैन ।’