close

करोडौँ खर्चिंदा पनि फराकिलो भएन बागलुङ–कुश्मा सडक

करोडौँ खर्चिंदा पनि फराकिलो भएन बागलुङ–कुश्मा सडक

Trulli
ADVERTISEMENT

बागलुङ– ४ वर्षदेखि निर्माणाधीन पोखरा बागलुङ राजमार्गको कुश्मा–बागलुङ खण्ड अझै निर्माण सकिएको छैन । मध्यपहाडी लोकमार्गमा पनि यो सडक खण्ड सूचीकृत छ । 


करोडौँ रुपैयाँ खर्चेर पनि यो सडक फराकिलो हुन सकेको छैन । चौडा पार्ने भनिए पनि सडक पुरानै मापदण्डमा कालोपत्रे तयारी गरिएको छ । कालोपत्रे पनि सामान्य प्रकारको छ ।

 

४ वर्ष लगाएर बनाएको सडक उत्तिकै कमजोर र साँघुरो भएको स्थानीय सुनाउँछन् । ‘राज्यको करोडौँ रकम खर्च गरियो । अहिले पनि बाटोको अवस्था उस्तै छ,’ बागलुङ नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष गणेशबहादुर थापाले भने, ‘काम गर्दागर्दै भत्कने गरी कालोपत्रे गर्ने र चौडाको नाममा साँघुरै बनाएर के गर्न खोजिएको हो ?’ 

 

राजमार्ग भएकाले सडकको मध्य भागबाट २५ मिटर दायाँबायाँ छाड्नुपर्ने प्रावधान छ । स्थानीय नगरपालिकाहरूले पनि उक्त मापदण्डभित्र घरटहरा बनाउन दिएका छैनन् । तर, सडक भने साँघुरै छ ।

 

पर्वतको कुश्मा बजारमा मात्रै डेढ किमि सडक ४ लेनको बनाउने तयारी छ । अन्यत्र २ लेनको सडक बनाउने योजना रहेको लोकमार्ग आयोजना कार्यालय पर्वतका इन्जिनियर उज्ज्वल शर्माले बताए । 

 

पोखरादेखि बागलुङको निसीसम्मको झन्डै २ सय किमि सडक चक्लाउने, कालोपत्रे गर्ने र मर्मतको काम पर्वतको आयोजना कार्यालयले गरिरहेको छ । ‘तत्कालका लागि पुरानो ७ मिटरको बाटोलाई १० मिटर चौडा बनाएर कालोपत्रे गर्ने गरी काम भएको हो,’ शर्माले भने, ‘कालोपत्रे भने ८ मिटरको मात्रै हुन्छ ।’ 


आयोजनाले गरेको डिजाइनकै आधारमा काम भएकाले मापदण्ड घटाइएको छैन । भीर परेको स्थानमा भने दायाँबायाँ चक्ल्याउन नमिलेको उनले बताए । ‘चालू वर्षभित्रै कुश्मा–बागलुङ खण्ड कालोपत्रे भइसक्छ’, उनले भने । 

 

बागलुङ बजारदेखि घोडाबाँधेतर्फको २५ किमि सडक चालू वर्ष सम्पन्न हुने भनिए पनि सम्भावना कम देखिन थालेको सरोकारवाला बताउँछन् । ‘काम गरेको देखिन्छ । तर, पूरा गर्ने उद्देश्य राखेजस्तो देखिएन,’ काठेखोला गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष युक्तप्रसाद कँडेलले भने, ‘अझै सामूहिक दबाब आवश्यक छ ।’ 

 

यसअघिका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले उक्त खण्डका ठेकेदार बोलाएर जेठ मसान्तभित्र काम सक्न निर्देशन दिएका थिए । ठेकेदारले काम सक्ने आश्वासन दिए पनि चुस्त नगरेको भेटिएको हो ।


पर्वततर्फ घुम्ती, अर्मादी, नयाँपुल र सहश्रधारामा पुरानै नालीको जगमा निर्माण गरिएकाले सडक साँघुरो भएको टिप्पणी भएको हो । ‘पश्चिमतर्फ सडक खुलेकाले अहिलेको तुलनामा चाप अझै बढ्छ । सडक उस्तै भयो,’ कुश्मा नगरपालिका वडा नम्बर २ का शिवप्रसाद सुवेदीले भने, ‘काम गरे पनि अपूरो गरेको देखियो ।’ साँघुरो सडक भएकाले निर्माण सम्पन्न नहुँदै दैनिक घन्टौँ सवारी जाम हुने गरेको उनले बताए ।

 

मध्यपहाडी लोकमार्गको अधिकांश ट्रयाक खुलेकाले सुर्खेतदेखि पोखरासम्मका सवारीले यो बाटो प्रयोग गर्दा सडक झन् अस्तव्यस्त हुने यातायात व्यवसायी बताउँछन् । ‘विकल्प नदिई काम भएकाले जाममा परिरहेका छौँ,’ व्यवसायी खेमबहादुर जिसीले भने, ‘सोचेजस्तो सहज सडक बनेन ।’ 

 

राजमार्गकै छेउमा निर्माणाधीन घरटहरा नीतिगत अस्पष्टताले बनाउन रोकिएका छैनन् । ‘राजमार्गको मापदण्ड २५ मिटर भन्ने छ तर नयाँ घोषित राजमार्गका लागि कानुन बनेको छैन,’ एक इन्जिनियरले भने, ‘स्थानीय तहले समन्वय गरेर नजिकमा संरचना बनाउन नदिँदा राम्रो हुन्थ्यो ।’ यसरी निर्माण भएका घरटहराले नक्सा पास भने गरेका छैनन् ।