close

तराई–मधेसमा ठूलाबडाकै हैकम

महिना दिन धाउँदा पनि सच्चिएन जन्ममिति 

तराई–मधेसमा ठूलाबडाकै हैकम

महिना दिन धाउँदा पनि सच्चिएन जन्ममिति 

Trulli
ADVERTISEMENT

कपिलवस्तु– तराई मधेसमा राजनीति र कर्मचारीतन्त्रसँग उठबस हुनेको मात्र काम छिटो हुन्छ । तर, ‘पावर’ नहुनेले सधैँ एउटै कामका लागि पटक–पटक सरकारी कार्यालय धाउनुपर्ने बाध्यता छ ।

 

यही बाबुवादका कारण कपिलवस्तुका १ दलितले महिनादेखि सास्ती खेप्नु परेको छ । उनका छोराको चारित्रिक प्रमाणपत्रको जन्म वर्ष फरक भएपछि सच्याउन कार्यालय धाउन लागेको १ महिना बढी भएको छ । रामछेदी पासी महिना दिनदेखि विद्यालय र महाराजगञ्ज नगरपालिका धाए पनि काम सल्टिएको छैन ।

 

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर ११ का रामछेदी पासी कक्षा ११ मा अध्ययनरत छोरा अशोककुमार पासीको चारित्रिक प्रमाणपत्रको मिति सच्याउन १ महिनादेखि कार्यालय धाउनुपरेको छ । 

 

नगरपालिकाको वडा नम्बर ११ बलरमवापुरमा रहेको भिन्ना माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्रेशनाथ तिवारीले भने अनेक बहानाबाजी गर्दै आलटाल गर्दै आएका छन् ।

 

प्रमाणपत्रको मिति सच्याउन नगरपालिकाले सिफारिस दिएको पनि १ महिना कटेको छ । नगरपालिकाका शिक्षाप्रमुख उप–सचिव रेश्मीराज अर्यालले ३ फागुनमा विद्यालयलाई पत्र लेखी सिफारिस गरेका छन् । 

 

तर, विद्यालयका प्रधानाध्यापक तिवारीले भने सधैँ भोलि आइज, भोलि आइज भनी आलटाल गर्दै आएको रामछेदीले गुनासो गरे । प्रअले काम नगरेपछि रामछेदी बिहीबार नगरपालिका कार्यालयमा धाएका थिए । तर, बिहीबार पनि उनको काम हुन सकेन ।


झिन्ना माविबाट एसईई दिएर अशोक महाराजगञ्जको वडा नम्बर १ जानकी माविमा कक्षा ११ मा अध्ययनरत छन् । हाल पढ्दै गरेको विद्यालयले प्रमाणपत्र मागे पछि सच्चिएको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

 

मिति सच्याएर दिने सर्तसहित भर्ना भएका अशोकले यतिबेला प्रमाणपत्रका कारण तनाव सहनु परेको छ । अशोकलाई विद्यालयले दिएको कक्षा ८ र एसईईको मार्कसिट (लब्धांकपत्र) मा जन्ममिति २० माघ २०५८ रहेको छ । विद्यालयले दिएको चारित्रिक प्रमाणपत्रमा भने २० माघ २०६० उल्लेख गरिएको छ । 

 

उनको जन्मदर्तामा पनि जन्ममिति २०६० नै रहेको छ । शैक्षिक प्रमाणपत्रमा उल्लेख भएअनुसार नागरिकता लगायत अन्य काजजातमा जन्ममिति फरक नहोस् भन्न उनले मिति सच्च्याउन निवेदन दिएका थिए । 

 

विद्यालयका प्रधानाध्यापक वडा नम्बर ११ का वडाध्यक्ष जगदीश तिवारीका छोरा हुन् । उनका सहोदर दाजु गंगेश तिवारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् ।

 

दाजु अध्यक्ष भएको फाइदा उठाउँदै स्थायी दरबन्दी भएका सिनियर शिक्षकलाई बेवास्ता गरी आफ्ना भाइलाई प्रधानाध्यापक नियुक्त गरेका थिए । उनीहरू स्थानीय जमिनदारसमेत हुन् ।