close

दिक्तेलमा खुल्यो जिल्ला जनगणना कार्यालय 

दिक्तेलमा खुल्यो जिल्ला जनगणना कार्यालय 

Trulli
ADVERTISEMENT

खोटाङ– राष्ट्रिय जनगणनाका लागि खोटाङको दिक्तेलमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । आगामी २५ जेठदेखि ८ असारसम्म देशव्यापी रूपमा हुने जनगणना अभियान २०७८ अन्तर्गत दिक्तेलमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको हो । 

 

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको संयोजकत्वमा ७ सदस्यीय जिल्ला जनगणना समन्वय समिति गठनलगत्तै दिक्तेलमा ७ जना कर्मचारी रहेको जनगणना कार्यालय स्थापना गरिएको हो । 
यस्तै, आगामी १ देखि ४ वैशाखसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका कार्यक्षेत्र रहने गरी दिक्तेलमा स्थानीय जनगणना कार्यालय स्थापना गरिने जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोइरालाले बताए । 

 

यस्तै, हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका कार्यक्षेत्र रहने गरी हलेसी तुवाचुङ नगरपालिकाको हलेसीमा, बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिका कार्यक्षेत्र रहने गरी खोटेहाङ गाउँपालिकाको खोटाङ बजारमा तथा रावाबेँसी गाउँपालिका, केपिलासगढी गाउँपालिका र ऐँसेलुखर्क गाउँपालिका कार्यक्षेत्र रहने गरी रावाबेँसी गाउँपालिकाको कुभिन्डेमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिने जनाइएको छ ।

 

२ चरणमा हुने राष्ट्रिय जनगणनाका लागि जिल्लामा सुपरिवेक्षक र गणक गरी करिब ३ सय ६० जना जनशक्ति परिचालन गरिने जिल्ला जनगणना अधिकारी कोइरालाले बताए । नियुक्त भएका सुपरिवेक्षकले आगामी २६ वैशाखदेखि १४ जेठसम्म घरपरिवार सूचीकरणको काम गर्नेछन् । यस्तै, गणकले २५ जेठदेखि ८ असारसम्म गणनाको काम गर्ने जिल्ला जनगणना कार्यालयले जनाएको छ । 

 

‘पहिलो चरणमा सुपरिबेक्षकद्वारा प्रत्येक घरपरिवारका पुरुष, महिलाको संख्या, कृषिसम्बन्धी विवरण, सरकारी अनुदानबाट घर निर्माण, बैंक खाता, प्राविधिक तथा व्यावसायिक शिक्षा, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणसम्बन्धी विवरण संकलन गरिन्छ,’ कोइरालाले भने ।

 

कार्यालयका अनुसार राष्ट्रिय जनगणनाका लागि १ देखि १५ चैतसम्म जनशक्ति व्यवस्थापन, अफलाइन दरखास्त फारम बुझ्ने र अनलाइनमा प्रविष्ट गर्ने, जनगणना सामग्री प्राप्त गर्ने, प्रदेशस्तरीय मुख्या प्रशिक्षकको तालिम सञ्चालन गरिनेछ ।

 

यस्तै, १५ चैतदेखि ८ असारसम्म प्रचार–प्रसारको काम गरिने बताइएको छ । जिल्ला जनगणना कार्यालयका अनुसार २० चैतसम्म सुरपरिवेक्षकको सूची सार्वजनिक गर्ने, १९ देखि २५ चैतसम्म स्थानीय जनगणना अधिकारीका लागि तालिम सञ्चालन गर्ने, २९ र ३० चैतमा स्थानीय जनगणना अधिकारीको नियुक्ति गर्ने, १ देखि ४ वैशाखबीच स्थानीय जनणनाको कार्यालय स्थापनालगायत कार्यतालिका तयार गरिएको छ ।