close

भाडाको घरबाट चलेका सहरभित्रका ‘गाउँले सिंहदरबार’

भाडाको घरबाट चलेका सहरभित्रका ‘गाउँले सिंहदरबार’

Trulli
ADVERTISEMENT

भक्तपुर- स्थानीय सरकार आएसँगै सिंहदरबारको अधिकार गाउँ-गाउँ पुगेको पनि साढे ३ वर्ष बितिसकेको छ । स्थानीयले नजिकैबाट सिंहदरबारलाई नियाल्दै छन् ।

 

फरक यत्ति हो, केन्द्रीय सरकारको सिंहदरबारले आफ्नै भवनबाट सेवा दिँदै आएको छ भने स्थानीय तहका सिंहदरबारले भाडाको घरबाट ।

 

केन्द्रीय सिंहदरबारको छिमेकी भक्तपुरका स्थानीय तहले समेत आफ्नो भवन उभ्याउन सकेका छैनन् । स्थानीयले सिंहदरबारका अधिकारलाई नजिकैबाट नियाल्ने मौका पाए । तर, आफ्नो भवन भने अझै देख्न पाएका छैनन् । 

 

चाँगुनारायण, सूर्यविनायक, भक्तपुर र मध्यपुर थिमिसहित यहाँ ४ वटा स्थानीय तह छन् । भक्तपुर नगरपालिका यहाँको जेठो पालिका हो । २००६ मा यसको स्थापना भएको हो ।

 

त्यसैगरी २०५४ मा मध्यपुर थिमि नगरपालिका र बाँकी २ पालिकाको स्थापना २०७३ मा भएको हो । साविकका गाविसलाई गाभेर सरकारले नगरपालिका घोषणा गरेको थियो । 

 

भक्तपुरका केहीबाहेक अधिकांश पालिका तथा वडा कार्यालय निजी भवनबाट सञ्चालित छन् । गएको साढे ३ वर्षयता न कुनै भवन शिलान्यासमा छन्, न त कुनै मर्मत प्रक्रियामै । कुनै-कुनै त बल्ल टेन्डर प्रक्रियामा छन् । 


कुन-कुन पालिकाले बनाए स्थानीय सिंहदरबार ?

 

भक्तपुर नगरपालिका
जिल्लाको जेठो स्थानीय तहको रुपमा रहेको भक्तपुरले आफ्नै भवन मार्फत सेवा दिँदै आएको छ । मौलिक शैलीमा निर्माण गरिएको पालिकाको भवन तथा वडा कार्यालय मार्फत् सेवा पाएकोमा स्थानीय समेत दंग छन् । 

 

मुलुककै सानो नगरपालिकाको रूपमा रहेको भक्तपुरमा १० वटा वडा कार्यालय भवन छन् । ती सबै वडाका आफ्नै भवन छन् । लिफ्टसहितको ४ तले भवनबाट पालिकाले स्थानीयको सेवा गर्दै आएका छन् । 

 

तर, नगरपालिकाको पुरानो भवन भने पुनर्निर्माणको प्रक्रियामा छ । नगरप्रमुख सुनील प्रजापतिका अनुसार २०७२ को भूकम्पका कारण पालिकाको पुरानो भवन पूर्ण क्षति भएको थियो । 

 

दरबार स्क्वायर क्षेत्रभित्र भएको कारण पुनर्निर्माणका लागि विवादमा थियो । तर, भवन निर्माण गर्न नक्सा पाससमेत भइसकेको छ । अबको आर्थिक वर्षमा उक्त भवन निर्माण गरिने उनले जानकारी दिए । 

 

मध्यपुर थिमि नगरपालिका
मध्यपुर थिमि नगरपालिकाले आफ्नै भवनबाट जनतालाई सेवा दिए पनि वडा कार्यालय भवन भने भाडामा सञ्चालित छन् । उसो त ठाउँ अभाव भएकाले शिक्षा तथा युवा शाखा भाडाको घरमा सञ्चालन हुँदै आएको छ । 

 

नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार ९ वडामध्ये ३ र ७ वडाका भवन निर्माणको अन्तिम चरणमा छन् । १ नम्बर वडा ढलान सकिएको छ भने ५ वडा तल्ला थप्ने क्रममा छ ।

 

यसैगरी ६ र ९ वडा टेण्डर सम्झौता भइसकेको छ । तर, वडा नम्बर ६ को भवन निर्माण विवादमा छ । पहिलेको वडा कार्यालय भवन पोखरीमाथि भएकाले मौलिक शैलीमा बनाउन खोज्दा विवाद भएको प्रमुख श्रेष्ठले बताए । 

 

उनका अनुसार ४ र ८ वडा कार्यालयले भने आफ्नै भवनबाट सेवा दिँदै आएका छन् । आफ्नो कार्यकालमा सबै वडा कार्यालय भवन बनाउने लक्ष्य रहेको श्रेष्ठ बताउँछन् । उनका अनुसार मासिक रूपमा पालिकाले ८ लाख रुपैयाँ घर भाडा तिर्दै आएको छ । 

 

सूर्यविनायक नगरपालिका
१० वटा वडामार्फत स्थानीयलाई सेवा दिँदै आएको सूर्यविनायक नगरपालिकाले आफ्नो भवन निर्माणका लागि गत वर्ष नै शिलान्यास गरेको थियो । तर, पालिकाको आफ्नै भवनको स्वरूप भने लिन पाएको छैन । 

 

कोरोना महामारीले निम्त्याएको लकडाउनका कारण भवन निर्माणमा ढिलाइ भएको पालिकाको दावी छ । पालिकाले टंकप्रसाद आचार्यको प्रतिष्ठानको भवनसँगै निजी व्यक्तिको भवनको एउटा तलाबाट सेवा प्रवाह गर्दै आएको छ । 

 

१ नम्बर वडा कार्यालयबाहेक सबै वडा कार्यालयको भवन निर्माणाधीन छन् । तर, वडा नम्बर ६ को कार्यालय भवन मात्रै भाडामा सञ्चालन रहेको पालिकाले जनाएको छ । 

 

नगरपालिकाका उपप्रमुख जुना बस्नेतका अनुसार ६ नम्बर वडा कार्यालय र नगरपालिका भवनसहित मासिक ८० हजार रुपैयाँ भाडा तिर्दै आएको छ । आफ्नो कार्यकालमा ४८ वटा कोठासहितको साढे ३ तल्लामा १ सय ५० गाडी पार्किङ क्षमताको भवन बनाउने दाबी उनले गरिन् । 

 

चाँगुनारायण नगरपालिका 
९ वटा वडा कार्यालय रहेको चाँगुनारायणले भाडाको घरबाटै सेवा दिँदै आएको छ । नगरप्रमुख सोमप्रसाद मिश्रका अनुसार सबै वडा कार्यालयले साविक गाविस भवनबाट सेवा प्रवाह गर्दै आएका छन् ।

 

नयाँ भवनका लागि वडा नम्बर १ को ठेक्का सम्झौता, ५ को टेन्डर, ६ र ७ मर्मत कार्य, २ को नयाँ भवन बनिसकेको छ । बाँकी ४ वटा वडा कार्यालयले आफ्नै भवन बनिसकेको उनले बताए । 

 

तर, नगरपालिकाले भने साढे १ तलाको भवनबाट सेवा दिँदै आएको छ । नगरप्रमुख मिश्रका अनुसार २ वर्षको योजनासहित वडा नम्बर ५ को पिखेलमा नगरपालिका भवन निर्माणका लागि शिलान्याससमेत भइसकेको छ ।