close

रघुगंगामा धमाधम पूर्वाधार निर्माण 

रघुगंगामा धमाधम पूर्वाधार निर्माण 

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिको केन्द्र मौवाफाँटमा भवनलगायत पूर्वाधार निर्माण सुरु भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा समुदाय स्तरबाट प्राप्त जग्गा व्यवस्थापन गरेर पूर्वाधार निर्माण सुरु गरेको हो ।


गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले स्थानीयले उपलब्ध गराएको जग्गा व्यवस्थापन सकेर पूर्वाधार निर्माण सुरु गरेको बताए । ‘२५ रोपनी जग्गा व्यवस्थापन गरेर सडक, गाउँपालिका र जग्गाधनीलाई ३३/३३ प्रतिशत बाँडफाँट गर्ने काम सकिएको छ’, उनले भने, ‘८ रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क दिनुभएको हो ।’


३२ जना जग्गाधनीको सहमति लिएर ३ वर्षअघिदेखि जग्गा व्यवस्थापनको काम सुरु गरेको थियो । जग्गा व्यवस्थापन र विकास गर्न २ करोड ५० लाख रुपैयाँ बढी खर्च भएको अध्यक्ष भण्डारीले बताए । धेरै जनाको थोरै जग्गालाई एकीकृत र चक्लाबन्दी गरेर वरपर ८ मिटर फराकिलो सडक बनाइएको छ । माथिल्लो र तल्लो भागको जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिएको छ । 

 

बीचको जग्गा गाउँपालिकालाई उपलब्ध गराएको जग्गा व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले जानकारी दिए । 


सो जग्गामा पहिलो चरणमा प्रदेश सरकारसँगको साझेदारीमा बहुउद्देश्यीय सभाहल निर्माण सुरु भएको छ । १ करोड १० लाख रुपैयाँ लागत अनुमान गरिएको सभाहल निर्माणका लागि हिमालयन बिल्डर्ससँग ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । 

 

३४ फिट चौडाइ र ४४ फिट लम्बाइ हुने ३ तले भवनको भुइँ र पहिलो तलामा ५÷५ वटा कोठा बनाएर कार्यालय प्रयोजनमा प्रयोग गर्ने योजना छ । माथिल्लो तलामा १ सय ५० जना अट्ने क्षमताको सभाहल बनाइनेछ । 


चालू आर्थिक वर्षमा भुइँ र पहिलो तला सकिने तथा तेस्रो तलाको पिलर ठडाउने योजना छ । ठेक्कामा बचेको रकमले सभाहलको चौडाइ बढाएर प्रत्येक तलामा २/२ वटा कोठा थप गर्न पुनः अर्को ठेक्का आह्वान गर्न लागिएको इञ्जिनियर सुदीप गौतमले बताए । 


चालू आर्थिक वर्षभित्रै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । हाल गाउँपालिकाको कार्यालय भाडाको घरबाट सञ्चालन भएको छ । घर भाडामा मासिक १ लाख रुपैयाँ हाराहारी खर्च हुन्छ । 

 

प्रशासकीय भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । ३ तले प्रशासकीय भवन निर्माणमा ९ करोड ३२ लाख १६ हजार ६ सय ६० रुपैयाँ लागत अनुमान गरिएको डिपिआरमा उल्लेख छ ।

 

प्रशासकीय भवनको भुइँ तलामा अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत, प्रशासन, लेखा, प्राविधिकलगायत शाखाको कार्यकक्ष प्रस्ताव गरिएको छ । दोस्रो तलामा बैठक कक्ष, शिक्षा, स्वास्थ्य, पशु सेवा, कृषि, महिला तथा बालबालिका र न्यायिक समितिको कार्यकक्ष बनाउन प्रस्ताव गरिएको छ ।


चारैतिर घेराबार, प्रवेशद्वारबाट छिर्नेबित्तिकै बगैँचा, आकर्षक संरचनादेखि पार्किङ स्थल बनाउन प्रस्ताव भएको छ । संघ र प्रदेश सरकारसँग साझेदारी गरेर प्रशासकीय भवन बनाइने अध्यक्ष भण्डारीले बताए । 


मौवाफाँटमा स्थानीयबाट ३ रोपनी जग्गा व्यवस्थापन गरेर प्रहरी चौकीको भवन निर्माण सुरु गरिएको उनले जानकारी दिए । वडा नम्बर २ मा पर्ने रुइसे क्षेत्रमा औद्योगिक ग्राम निर्माण गर्न जग्गा प्राप्ति र डिपिआर तयार पारिसकेको गाउँपालिकाले जनाएको छ ।