close

फुङ्लिङको नवौँ नगरसभा: नगरपालिकाको बजेट आकार बढ्यो

फुङ्लिङको नवौँ नगरसभा: नगरपालिकाको बजेट आकार बढ्यो

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको नवौँ नगरसभाले विभिन्न ८९ वटा योजनाको कार्यक्रम तथा बजेट संशोधन गरेको छ । नगरसभाले ३ वटा नयाँ ऐनसमेत पारित गरेको छ भने शिक्षा ऐन, २०७५ का केही बुँदालाई संशोधन गरेको छ । 

 

उपप्रमुख बमबहादुर भट्टराईद्वारा प्रस्तुत संशोधित बजेट कार्यक्रमलाई नगरसभाले पारित गरेको हो । अब नगरपालिकाको कुल संशोधित स्रोत अनुमान ६६ करोड ८६ लाख ९० हजार १ सय ५० रुपैँया पुगेको छ ।

 

यसअघि चालू आर्थिक बर्षका लागि नगरउपप्रमुख भट्टराईले ६३ करोड ५६ लाख ५३ हजार १ रसय ५० रुपैयाँको स्रोत अनुमान प्रस्तुत गरेका थिए । उतिबेला प्रस्तुत बजेट तथा कार्यक्रमभन्दा नगरपालिकामा ३ करोड ३० लाख ३० हजार रुपैयाँ स्रोत वृद्धि भएको छ ।

 

नगरपालिकामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत संघीय सांसद कोषबाट ८८ लाख, सामाजिक संघीय सर्सत अनुदान ८७ लाख ३७ हजार, सडक बोर्ड नेपालबाट ६० लाख र सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजानबाट ९५ लाख रुपैयाँ बजेट प्राप्त हुँदा बजेटको आकार बढेको हो ।

 

नगरपालिकाको आठौँ नगरसभाद्वारा स्वीकृत ६ सय ११ वटा विकास योजनामध्ये ३० फागुनसम्म २ सय ६२ वटाको उपभोक्ता समिति र ठेक्कासहित योजनाको सम्झौता भएकामा तीमध्ये १ सय ४४ वटा योजना फरफारकको अवस्थामा रहेको नगरसभामा जानकारी दिइयो ।

 

पुँजीगततर्फ हालसम्मको भौतिक प्रगति ३४.२१ प्रतिशत र वित्तीय प्रगति ४३.७८ प्रतिशत रहेकोसमेत नगर उपप्रमुख भट्टराईले जानकारी दिए । आन्तरिक आय संकलनमा नगरपालिकाले उल्लेख्य सफलता पाएको छ ।

 

कुल १ करोड ५० लाख आन्तरिक आय उठाउने लक्ष्य राखेको नगरपालिकाले अहिलेसम्म १ करोड ८ लाख ८२ हजार ९ सय २ रुपैयाँ उठाएको जनाएको छ । यो लक्ष्यका हिसाबले ७२.५५ प्रतिशत हो ।


३ वटा नयाँ ऐन पारित 

नगरसभाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा बनेको ऐन २०७७, सहकारी ऐन, २०७७ र कर तथा गैरकर राजस्वलाई लगाउने तथा उठाउनेसम्बन्धी ऐन, २०७७ पारित गरेको छ । यस्तै, नगरपालिकाको शिक्षा (प्रथम संशोधन) ऐन, २०७७ लाई समेत पारित गरेको छ ।

 

३ वटा नयाँ र संशोधन पेस भएका ऐन विधायन समितिका संयोजक तथा फुङ्लिङ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष भीमादेवी ओझाले प्रस्तुत गरेकी थिइन् । उनका अनुसार अहिलेसम्म नगरपालिकाले ३५ वटा ऐन, नियम, कार्यविधि र मापदण्ड बनाइसकेको छ । 

 

नयाँ ३ वटा ऐन थप भएर पारित हुने ऐन, नियम, कार्यविधि र मादण्डको संख्या ३८ पुगेको छ । यसअघि सभा सुरु गर्दै फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले नवौँ नगरसभामा प्रस्तुत हुने बजेट नीति तथा कार्यक्रमका लागि उपप्रमुख भट्टराईलाई र ऐन, नियम, कार्यविधि र मापदण्ड पेस गर्न विधायन समिति संयोजक ओझालाई अनुमति दिएका थिए । 

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीकुमार कार्कीले नवौँ नगरसभाले नगर कार्यपालिका सञ्चालन तथा व्यवस्थापनका लागि मार्गप्रशस्त गर्ने महत्त्वपूर्ण निर्णय लिएर सभा समापन भएको जानकारी दिए ।