close

डढेलो न्यूनीकरण अभियान चलाउँदै वन महासंघ

डढेलो न्यूनीकरण अभियान चलाउँदै वन महासंघ

Trulli
ADVERTISEMENT

दाङ- सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दाङले वन डढेलो सचेतना फैलाउन जिल्लाभर अभियान चलाउने भएको छ । वन महासंघ दाङको शुक्रबार घोराहीमा सम्पन्न बैठकले वन डढेलोको जोखिम न्यून गर्न सक्रिय जिल्लाभर कार्यक्रम गर्ने निर्णय गरेको हो ।

 

अभियानका लागि सामुदायिक वन उपभोक्ता महासंघले डिभिजन वन कार्यालय र स्थानीय तहको समन्वयमा दाङमा गठन भएका वन डढेलो नियन्त्रण सञ्जालमार्फत अभियान सञ्चालन गर्ने निर्णय गरेको वन महासंघ दाङले जनाएको छ । 


अभियानमार्फत वन क्षेत्रमा बनाइएका अग्नि रेखाको सरसफाइ गर्ने, नयाँ स्थानमा अग्निरेखा निर्माण गर्ने, वन क्षेत्रका सुक्खा काठपातको व्यवस्थापन गर्ने, सचेतनामूलक कार्यक्रम तथा सामुदायिक वनमार्फत वन गस्ती सञ्चालन गरिनेछ ।

 

वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको सभापतित्व एवं वन महासंघका केन्द्रीय उपाध्याक्ष भीमप्रकाश खड्काको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य सावित्रा राना सहभागी बैठकले वन समूहलाई वनमा डढेलो लाग्नै नदिनका लागि चनाखो हुनसमेत आह्वान गरेको छ ।

 

वन क्षेत्रमा सरोकार राख्ने सामुदायिक वन समूहलाई बेवास्ता गरी दाङका २ वटै डिभिजन वन कार्यालयले गाउँगत कार्यक्रम गरेका छन् । स्थानीय वन समूहको गुनासोप्रति ध्यानाकर्षण भएकाले वन समूहलाई बेवास्ता गरी अघि नबढ्न बैठकले आग्रह गरेको छ ।

 

स्थानीय वन समूहका उपभोक्तालाई जानकारी नदिई वन डढेलो नियन्त्रणका कार्यक्रम गरिनु उपयुक्त नहुने बैठकको निर्णय छ । अप्ठेरो अवस्थामा मात्रै सामुदायिक वनलाई गुहार्ने तर सजिलो परेका बेला स्थानीयलाई बेवास्ता गर्दै वन कर्मचारीले आफूखुसी गरेको बैठकको निष्कर्ष छ ।

 

दाङका सबै स्थानमा वन महासंघको सबडिभिजन स्तरीय समिति गठन गर्ने निर्णय भएको वन महासंघका जिल्ला अध्यक्ष भूपेन्द्र सुवेदीले जानकारी दिए । महासंघको अभियानलाई गाउँतहसम्म लैजाने, संगठनलाई थप मजबुत बनाउने र सबडिभिजन स्तरीय समिति बनाउने निर्णय भएको अध्यक्ष सुवेदीले बताए ।

 

गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा डढेलोको जोखिम बढेको र यसबाट हुने सम्भावित जोखिम न्यून गर्न सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजनाको अधीनमा रही वन क्षेत्रमा काटेर रोक्का भएका काठ निकासीका लागि पहल गर्न र ढलापडा सुक्खा काठ संकलन गर्ने वातावरण बनाउन डिभिजन वन कार्यालयलाई अनुरोध गरिएको छ ।

 

वन महासंघका केन्द्रीय उपाध्यक्ष भीमप्रकाश खड्काले सामुदायिक वनको योगदानलाई कम आकलन नगर्न वन कर्मचारीलाई आग्रह गरे ।