close

सडकमा राखिएका गोलिया हटाउन मेरिङ्देनको चेतावनी

सडकमा राखिएका गोलिया हटाउन मेरिङ्देनको चेतावनी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले सडकको दायाँ-बाँया राखिएका गोलिया हटाउन सम्बन्धित पक्षलाई १५ दिने म्याद दिएको छ । गाउँपालिको आउँदो १ जेठबाट १ असोजसम्म गोलिया काठ ओसारपसारसमेत बन्द गर्ने भएको छ । 

 

प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले शनिबार सूचना जारी गर्दै मेरिङ्देन गाउँपालिका क्षेत्रका विभिन्न सडकका दायाँ–बाँया राखिएका गोलिया १५ दिनभित्र अन्यत्र बन्दोबस्ती गर्न सूचित गरेका हुन् ।

 

उनले पालिका क्षेत्रभित्रका सडकका दायाँ-बाँया व्यवसायीले यत्रतत्र गोलिया काठ राखी सडक अवरुद्ध हुने तथा सडकको क्षेत्राधिकारमा समेत समस्या देखिएपछि गोलिया काठ हटाउन सम्वन्धित व्यवसायीलाई १५ दिने समय दिइएको बताए । 

 

१५ दिनभित्र सडकमा राखिएका गोलिया व्यवस्थापन नगरे गाउँपालिकाले प्रचलित कानुनबमोजिम सडक खाली गर्नेछ । सार्वजनिक सडक ऐन, २०३१ (संशोधन २०६६) को नम्बर १८ मा सार्वजनिक सडकको आवागमनमा बाधा पुर्‍याउने मालवस्तु हटाउनेसम्बन्धी अधिकारबारे उल्लेख छ ।

 

सोहीअनुसार कसैले सार्वजनिक सडकमा मालवस्तु छाडेको, राखेको वा फालेको कारणबाट सडक आवागमनलाई कुनै किसिमले बाधा पुर्‍याएको भए त्यस्तो मालवस्तु हटाउन अवधि तोकी सरोकारवाला व्यक्तिका नाममा आदेश जारी गर्न सकिने अधिकार दिइएको छ । जारी भएको आदेशभित्र नहटाएको वा धनी पत्ता नलागेको मालवस्तु सडक छेउ लगाइराख्न वा आफ्नो कब्जामा राख्न पाउने गरी सम्बन्धित अधिकारीलाई अधिकार प्रत्यायोजन गरिएको छ ।

 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार पहिला सडक विभागले गर्ने यो काम अहिले स्थानीय तहले गर्न पाउनेछन् ।