close

३२ वर्षे किताबी ज्ञान कृषिमा लगाएपछि बल्ल बर्सियो पैसा

३२ वर्षे किताबी ज्ञान कृषिमा लगाएपछि बल्ल बर्सियो पैसा

Trulli
ADVERTISEMENT

दैलेख- इच्छा शक्ति भए न पेसाले छेक्छ, न त उमेरले नै । यसको गतिलो उदाहरण बनेका छन्, दैलेखेको डुंगेश्वर गाउँपालिका वडा नम्बर ५ का ताराप्रसाद ज्ञवाली ।

 

पेसाले उनी शिक्षक हुन् । तर, आफूलाई शिक्षक कम कृषक बढी भन्न रुचाउँछन् । ज्ञवालीको घरलाई सुन्तला, आँपजस्ता फलफलूका बोटले ढपक्कै ढाकेको दृश्य लोभलाग्दो देखिन्छ ।

 

२०२४ मा बुबा चन्द्रप्रसाद र आमा तुल्सीदेवी ज्ञवालीको कोखबाट साइँलो छोराका रूपमा जन्मिएका ज्ञवाली अहिले ५३ वर्षका भए । सँगैका साथीहरू नजिकैको चिया पसलमा फुर्सदको समय खेर फालिरहँदा तारालाई खेतबारीमा काम गरिरहेको देख्न सकिन्छ । 

 

बिहान उठ्नेबित्तिकै र स्कुल बिदा भएसँगै खेतबारीमा काम गर्ने ज्ञवालीको दैनिकी हो । गाउँकै सीता मावि अवलपराजुलमा २०४५ बाट शिक्षण पेसा सुरु गरेका उनले ३३ वर्ष भइसकेको छ ।

 

शिक्षण पेसा गर्दा राजनीतिक हस्तक्षेपले कहिलकाहीँ आफूलाई काम गर्न असहज भएको ज्ञवाली सुनाउँछन् । शिक्षणसँगै कृषि पेसालाई अगाडि बढाउन मौसमअनुसारका तरकारी तथा फलफूलका बिरुवाहरू लगाएको उनले जानकारी दिए ।

 

खेतबारीमा काम गर्दा फुर्सदको समय सदुपयोग गर्न सहज भएको उनको अनुभव छ । बुबा सीता मावि अवलराजुलका संस्थापक एवं प्रधानाध्यापक भए पनि उनले पनि शिक्षण पेसा गर्दै कृषि अँगालेका थिए ।

 

आफ्ना सबै दाजुभाइ सरकारी पेसामा संलग्न भएको उनले बताए । शिक्षणसँगै कृषि पेसालाई पनि अँगाल्न सकिन्छ भन्ने गतिलो उदाहरण हुन्, ज्ञवाली । 

 

‘बुबा शिक्षक भएकाले हामीलाई पढ्न, लेख्न लगाउनुहुन्थ्यो । गाउँठाउँमा जन्मिएकै भएर होला, खेतबारीमा काम गर्नुपथ्र्यो । हामीले बढीजसो घाँस-दाउरा जाने, घरमा कृषि खेती गर्दै, लेख्दै, पढ्दै बित्यो । भीरपखेरा, गाईभैँसी पाल्दै पढाइ अगाडि बढाइयो’, ज्ञवाली विगत कोट्याउँछन् । 

 

दाइको सिको 

 

आफ्ना दाजुले कृषि अनुसन्धान केन्द्र बागवानी दैलेखबाट फलफूलका बिरुवा लगाएको देखेपछि कृषि कर्ममा हाम फालेको ज्ञवाली सुनाउँछन् । ‘दाइले बारीमा लगाएको सुन्तला, आँपजस्ता फलफूल फलेनन् । मैले कस्तो हुन्छ भनी बारीको अर्को कान्लामा सुन्तलाई लगाएँ । यसबाट राम्रो आम्दानी भयो’, ज्ञवाली भन्छन् । 

 

२०५४ मा सामान्य लगानीमा सुरुमा १ सय वटा सुन्तला बिरुवा ७/८ रुपैयाँमा खरिद गरी लगाएर कृषि पेसा सुरु गरेको उनले बताए । अहिले १६ रोपनीमा कागती लगाएको उनको भनाइ छन् । अहिले उनको बारीमा फलफूलका बिरुवा मात्र नभएर बेसार, अदुवा, डाले घाँससमेत उत्पादन हुने गरेको छ ।

 

कृषिबाटै लाखौँ आम्दानी

 

मास्टरीसँगै कृषि पेसामा लागेका ज्ञवालीले वार्षिक लाखौँ आम्दानी लिन थालेका छन् । सुन्तला, बेसार, अदुवालगायतका नगदे बालीबाट वार्षिक लाखौँ रुपैयाँ कमाउन थालेका हुन् ।

 

आम्दानीको पैसाले घर व्यवहार चलाउन र छोराछोरीलाई उच्च शिक्षा पढाउन सहयोग पुगेको उनी सुनाउँछन् । ‘कृषि पेसाबाट मनग्य आम्दानी मात्र होइन, आत्मनिर्भर पनि बन्न सकिँदो रहेछ’, ज्ञवाली खुसी सुनिन्छन् । 

 

घरपरिवारको सहयोग

 

कृषि पेसामा लाग्न घरपरिवारबाट राम्रो साथ पाएको ज्ञवाली बताउँछन् । नेपाली समाजमा कृषि पेसालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएकाले सुरुमा कृषि पेसा अँगाल्दा मास्टरले पनि खेती गर्न थालेको भनेर गिज्याउने गरेको उनले अनुभव सुनाए । ‘घरपरिवारमा सबै मिलेर काम गर्दा सहज भएको छ । अब यो पेसालाई अझै बढाउने योजना छ’, ज्ञवालीले भने ।

 

बजार नपाउँदा कुहिए फलफूल 

 

कृषि पेसामा निरन्तर लागे पनि बजार व्यवस्था नहँुदा उत्पादित फलफूल कुहिएर फाल्नु परेको ज्ञवालीको गुनासो छ । ज्ञवाली भन्छन्, ‘उत्पादन गरेर बजार नपाउँदा सित्तैमा फाल्नु परेपछि चटक्क मन घोच्छ ।’ 

 

कृषि पेसामा रमे पनि उत्पादित वस्तु बिक्री नहुँदा बर्सेनि घाटा खानुपरेको उनले बताए । ‘सदरमुकामभन्दा टाढा ग्रामीण भेग त्यसमा पनि न सडक, न त बजार नै थियो । पछिल्लो समय गाउँमा सडक पुगेका छन् । सडक पुगे पनि बजार उही पुरानै तालमा छ । उत्पादित वस्तु बेच्न गाह्रो छ’, ज्ञवालीले भने ।

 

प्राविधिक ज्ञान नहुँदा समस्या

 

कृषि पेसामा प्राविधिक ज्ञान नहुँदा समस्या भोग्नुपरेको ज्ञवाली सुनाउँछन् । फलफूलका बिरुमा कहिले रोग लाग्ने, कहिले फल नलाग्दा रोगको पहिचान गर्न मुस्किल हुने गरेको उनको अनुभव छ ।

 

ज्ञवाली भन्छन्, ‘गाउँमा पहिले प्राविधिक विषय पढेका कोही थिएनन् । आजभोलि पढ्न थाले । इमेल, इन्टरनेटका जमाना आए । नजानेका कुरा युट्युब, गुगलमा सर्च गरेर सजिलै पत्ता लगाउन सकिन्छ ।’

 

अहिले भने फलफूलका बिरुवामा रोग लाग्दा प्रविधिको प्रयोग गरेर समाधान गर्ने गरेको उनी बताउँछन् । कृषकलाई प्रोत्साहन गर्न सिँचाइ, मलको व्यवस्था, औषधी, माटो जाँच, प्रशिक्षण, प्राविधिक खटाउनुपर्ने ज्ञवालीले बताए ।

 

युवालाई कृषिमा लाग्न आग्रह


आफ्नो खेतबारी बाँझै राखेर पैसाको मुख हेर्न विदेश जाने युवालाई गाउँघरमै कृषि पेसा गर्न ज्ञवाली सुझाउँछन् । आफ्नै गाउँघर, परिवार सँगै बसेर कृषि गरे लाखौँ आम्दानी गर्न सकिने उनको दाबी छ ।

 

‘विदेशमा गर्ने परिश्रम आफ्नै गाउँघरमा गरे सुनै बर्सिन्छ । कृषि पेसामा सम्भावना अथाह भएको र सरकारले पनि कृषिमा करोडौँ रकम लगानी गरेकाले अहिले झनै सहज भएको छ’, ज्ञवाली भन्छन् ।