close

काठमाडौंले सुन्ला त साइपालको दुःख ?

काठमाडौंले सुन्ला त साइपालको दुःख ?

Trulli
ADVERTISEMENT

काठमाडौं- मध्यान्ह भइसकेको छ । सुन्धारास्थित धरहरा नजिकैको ५ तले होटलको छतमा १४ महिने छोरीलाई औषधी खुवाउँदै  छिन् कल्पना बोहरा ।


गाउँपालिकामा खाद्यान्न संकट आउन लागेको भन्दै खाद्यान्नको जोहो गर्न उनी शिशु च्यापेर काठमाडौंमा छिन् । मौसम परिवर्तनले होला, काठमाडौं टेक्ने वित्तिकैदेखि छोरी विरामी छिन् । 

 

बिरामी छोरी च्यापेर सिंहदरबवार, संसदभवन, नेपाल खाद्य संस्थानको दैलोसम्म पुगिन् कल्पना । छोरीलाई रुघाखोकी समेतको ज्वरो आएको  छ ।   

 

५ दिनमा काठमाडौं 

 

२७ फागुनमा बझाङको साइपाल गाउँपालिकाबाट हिँडेका उनीहरू ३ चैतमा काठमाडौं आइपुगे । साइपालको खाद्यान्न सकंटबारे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेललाई जानकारी गराउँदै जनप्रतिनिधि काठमाडाैं आएका छन् । 

 

भोकमरीको मारमा परेपछि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडाका वडाध्यक्ष खाद्यान्न माग्दै काठमाडौं आएका हुन्  । काठमाडौं आउनेमा पालिका उपाध्यक्ष कल्पनादेवी बोहरा, वडा नम्बर १ का अध्यक्ष गोपाल बोहरा, वडा नम्बर २ का अध्यक्ष हरिलाल बोहरा, वडा ३ का अध्यक्ष जगवीर बोहरा र वडा ४ का जयसिंह रोकाया छन् । 


एक वडाबाट अर्कोमा पुग्ने ३ दिन 

 

सुविधा सम्पन्न राजधानी र आसपासका जिल्लमा बसोवास गर्ने मानिसलाई  काठमाडाैं नै नेपाल हो लाग्न सक्छ । जो कोहीलाई सुन्दा आश्चर्य लाग्छ एउटा पालिकाको एक वडाबाट अर्काे वडामा पुग्नै तीन दिनसम्म पैदल हिड्नुपर्छ । बझाङको साइपाल गाउँपालिकाका भौगोलिक रूपमा विकट  छ । 


सडक सञ्जालले छोएको छैन । ढुवानीको नामामा भेडा खच्चडभन्दा अरु कुनै विकल्प छैन । एक वडाबाट अर्काे वडासम्म पुग्नका लागि तीन दिन पैदल हिड्नुपर्ने अवस्था रहेको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पना सुनाउँछिन् । 


पालिकामा मिटिङ पर्दा जनप्रतिनिधि बास नै बस्नु पर्ने अवस्था छ । एकै दिनमा वडा वा घर फर्कन सक्ने अवस्था छैन । 

 

घरमा बास बसेको दिन औलामै गन्न सकिन्छ  

 

साइपाल गाउँपालिकाकी उप प्रमुख कल्पना बोहरा १४ महिने छोरीसहित घरबाट धेरै बाहिर बस्छिन् छिन् । उनी भन्छिन्, ‘घरमा बास बसेको दिन औलामा गन्न सकिन्छ ।’ महिला जनप्रतिनिधि त्यसमाथि दुर्गम क्षेत्रमा काम गर्न एकदमै  समस्या हुने कल्पनाको अनुभव छ । ‘पेटमा बच्चा हुँदा पनि यतिकै हिड्नु पर्थ्याे अहिले पनि अवस्था उस्तै छ,’ सुन्धाराको गफमा उनले सुनाइन् । 


 
सानो बच्चा छोडेर हिड्न मिल्दैन । जिम्मेवारी लिएपछि पुरा पनि गर्नैपर्याे । ‘कतै विवाद, मिटिङ पर्छ, हिडेर जान सकिदैन बास बस्नुको विकल्प हुँदैन त्यसैले घरमा बस्नै पाएको छैन’ , घर बस्न नपाउनुको कारण यस्तो रहेछ । घर-पारिवारले सहयोग गरेकै कारण कल्पनालाई भने अलि सहज छ ।

 
मिलापत्रमै सिमित न्यायिक समिति 


उपाध्यक्षको कार्यक्षेत्र न्यायिक समिति, बजार अनुगमन तथा विकास अनुगमनलगायत हो । उनी यसैमा व्यस्त छिन् । हालसम्म न्यायिक समितिमा जटिल खालका समस्या आएका छैनन् ।

 

सबै मिलापत्रमै टुंगिएका छन् । अंशबन्डा, घर झगडा लगायताका उजुरी भने आइरहने कल्पनाको अनुभव छ । 

 

उब्जिएको अन्नले तीन महिना पुग्दैन 

 

पालिकामा आलु, मकै, गहुँ, कोदो उत्पादन हुन्छ । विगत वर्षमा सो अन्नले ६ महिना खान पुग्थ्यो तर यस वर्ष समयमा पानी परेन । त्यही भएर अन्नले पनि पुगेन । ‘पुस-माघबाटै खाद्यान्न अभाव भइसकेको छ । केहीले खाद्यको चामल आए तिरौँला भनेर व्यापारीबाट पैँचो चामल मागेर खाइरहेका छन्’, कल्पना भन्छिन् । 

 

गाउँपालिकामा ५ वटा वडा छन्  । वडा १ र २ मा करिब १ सय ५० घरपरिवार बसोबास गरिरहेको बोहराले जानकारी दिइन् । आवश्यक अन्य वस्तु गाउँलेले चीनबाट किन्थे । तर पछिल्लो समय नाका बन्द छ । यसले गर्दा उनीहरू थप समस्यामा परेका हुन् ।


सात वर्षको हुँदा स्कुलमा पहिलो पाइलो

 

उपाध्यक्ष बोहरा गरिब परिवारमा हुर्किइन् । गाउँमा छोरीलाई पढाउन कसैले चासो दिँदैनथे । घरबाट आधा घण्टा हिँडेपछि स्कुल पुगिन्थ्यो । तर उनलाई सात वर्षको हुँदासम्म स्कुल जान पठाइएन । बोहराले मुस्कुराउँदै सुनाइन्, ‘अहिले स्कुल जाने भनिन्छ त्यतिबेला कोठा जाने भन्ने चलन थियो । कोठा जाने भनेको थुन्ने होला जस्तो लाग्थ्यो त्यही भएर स्कुल जानै सकिएन ।’ 

 

र, त्यो दिन
एक दिन आमसँग काममा जाँदै गर्दा बच्चाहरु खेलिरहेको देखिन् कल्पनाले । ‘आमालाई सोधेको स्कुल हो यहाँ पढाइ हुन्छ भनिन्’, कल्पना सुनाउछिन्, ‘त्यसपछि बन्द गरेर राख्छन् भन्ने भ्रम हट्यो र स्कुल जान थालेँ । एसएलसी पास गरेपछि उनले पढाइलाई बिट मारिन् । 

 

गाउँमा अरु पढेलेखेका महिला थिएनन् । पढे-बुझेकी भन्दै गाउँमा हुने सबै कार्यक्रममा कल्पनालाई बोलाइन्थ्यो । यसो गर्दागर्दै ख्यालख्यालमा राजनीतिमा छिरेको उनले पत्तै पाइनन् । 

 

२०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले टिकट दिएपछि साइपाल गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारी कल्पना बोहराको  काँधमा आइपग्यो । जनप्रतिनिधि भएर जनताको सेवा गर्नुलाई समाजसेवा ठान्छिन् उनी ।


बोहराले  घरायसीदेखि जग्गा विवादसम्मका विषयमा न्यायाधीशको भूमिका निर्वाह गर्दै आएकी छिन् । कोरोना महामारीका कारण ठूल्ठूला योजनाका काम भने नभएको उनी बताउँछिन् ।

 

काठमाडौंले खाद्यान्नमा सहयोग गर्ने नगर्ने निर्क्याेल भइसकेको छैन । तर कल्पना र उनको टोली ढुक्क देखिन्छ । साइपाल फर्किएपछि उनीहरुलाई आशाको नजरले हेर्नेछन् जनताले । किनकी काठमाडौंमा पुगेका जनप्रतिनिधिले जनतका लागि भोक विरुद्धको खुसी लिएर आएका छन् । 

 

कल्पनालाई यही एउटा पिरलो छ, जनताको अपेक्षा पुरा भएन भने नि ?