close

खानेपानी सुविधाले घटायो द्वन्द्व, अब हुदैन पानीका लागि मारमुंग्री 

खानेपानी सुविधाले घटायो द्वन्द्व, अब हुदैन पानीका लागि मारमुंग्री 

Trulli
ADVERTISEMENT

पर्वत– पर्वतको जलजला गाउँपालिकाको पर्वतबेनीमा खानेपानी सुविधासँगै सामाजिक झैझगडा न्यून भएको छ । 

 

तीव्र बजारीकरण भइरहेको वारिबेनीमा मागअनुसार आपूर्ति नहुँदा खानेपानी उपभोगको विषयले समाजमा द्वन्द्व सिर्जना भएको थियो । 

 

लिफ्ट खानेपानी आयोजनामार्फत कालीगण्डकी किनारको पानी तानेर प्रशोधन गरी घरघरमा बनाइएको धाराबाट वितरण गर्न थालिएपछि सामाजिक झगडा हटेको वारिबेनी टोल सुधार समितिका अध्यक्ष शिवबहादुर कार्कीले बताए । 

 

‘सार्वजनिक धारा र निजी मुहानको सीमित पानी उपभोग गर्ने विषयमा उत्पन्न विवादले झैझगडा र कुटाकुटसमेत हुन्थ्यो’, पर्वतबेनी खानेपानी उपभोक्ता संस्थाका सचिवसमेत रहेका उनले भने, ‘नयाँ आयोजना बनेपछि पानीका कारणले विवाद, झगडा हुन छाडेको छ ।’ 

 

खानेपानी तथा ढल निकास विभागको सहरीकरण उन्मुख बस्तीहरूका लागि सञ्चालित सहलगानी कार्यक्रमअन्तर्गत जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडालाई समेट्ने पर्वतबेनी खानेपानी तथा सरसफाइ आयोजना १२ करोड ४३ लाख रुपैयाँको लागतमा निर्माण भएको हो । 

 

सरकारको ७० र उपभोक्ताको ३० प्रतिशत लगानीमा २०७४ देखि निर्माण सुरु भएको आयोजनाबाट बगरफाँट, वारिबेनी र लामाखेतका ६२६ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको पर्वतबेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिए ।
 
‘७३७ घरधुरी आबद्ध भएका छन्’, उनले भने, ‘कालीगण्डकी नदी किनारको जुगेधाराबाट सम्पवयलको सहायताले आँटरीमा रहेको रिजर्भ ट्यांकीमा प्रतिसेकेन्ड १२ लिटरका दरले पानी तानेर आपूर्ति गराइएको छ । आँटरीको मुहानको पानी पनि मिसाइएको छ ।’ 

 

जलजला गाउँपालिकाको सबैभन्दा ठूलो यो आयोजना जिल्लाको दोस्रो ठूलो हो । सबै उपभोक्ताको घरमा निजी धारा जडान गरेर खानेपानी वितरणको व्यवस्था मिलाइएको अध्यक्ष रेग्मीले बताए । 

 

तीव्र रूपमा बस्ती बिकास भएको बगरफाँट, पर्वतबेनी र लामाखेतमा यसअघि निजी मुहान र सार्वजनिक धाराबाट खानेपानी वितरण हँुदै आएको थियो । सार्वजनिक धारामा पानी भर्न घन्टौ समय पालो कुर्नैपर्ने समस्या थियो । 

 

निजी मुहानको पानी पाइपबाट ल्याउन पालो पर्खनुपर्दा हुने समय बचत भएको स्थानीय श्याम रेग्मीले सुनाए । ‘पानीका कारणले विवाद र समयको बर्वादी भएको थियो’, उनले भने, ‘अहिले घर, टोल र बजार सफा भएको छ । शान्ति र मेलमिलाप भएको छ ।’ 

 

जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले आयोजनालाई पूर्णता दिएर थप व्यवस्थित गर्न संस्था र खानेपानी डिभिजन कार्यालयसँग समन्वय गरेको बताए । जलजलाको वडा नम्बर ३ का वडाध्यक्ष रवि भण्डारीले महसुल समायोजन गर्नुपर्ने उपभोक्ताको अपेक्षा रहेको जानकारी दिए ।