close

अन्नपूर्णमा आए आरोही, अन्नपूर्ण प्रथम चुम्दै पत्रकार 

अन्नपूर्णमा आए आरोही, अन्नपूर्ण प्रथम चुम्दै पत्रकार 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको ‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर पर्वतारोहीहरू ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि जान थालेका छन् । 

 

म्याग्दीको नाच्याङ हुँदै अन्नपूर्ण आधारशिविर जोड्ने हर्गोज पदमार्गको प्रयोग गरेर नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठको टोली आइतबार आधारशिविरतर्फ लागेको हो । 

 

हिमाल आरोहणका लागि आधारशिविरतर्फ जान लागेको पत्रकारसमेत रहेकी श्रेष्ठको टोलीलाई अन्नपूर्ण गाउँपालिकाले शनिबार सम्मानसहित बिदाइ गरेको थियो । 

 

गाउँपालिका अध्यक्ष डमबहादुर पुन, वडाध्यक्ष कृष्णप्रसाद बरुवाल, लेखा अधिकृत जय सुवेदीलगायतले बिदाइ गरे । यसअघि शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सो टोलीलाई बिदाइ गरेका थिए । 

 

कोरोनापछि र नारच्याङ हुँदै ‘मौरिज हर्गोज’ पदमार्ग भएर अन्नपूर्ण आरोहणका लागि जाने यो पहिलो टोली हो । सेभेन समिट ट्रेकमार्फत आरोहण गर्न लागेको यो टोलीमा अन्य १६ जना विदेशी आरोही छन् । 

 

मौरिज हर्गोज पदमार्ग र आधारशिविरको प्रसार-प्रसारका लागि जोखिमयुक्त मानिने अन्नपूर्ण हिमाल आरोहणका लागि १ वर्षअघि बनाएको योजना कोरोनाले रोकिएको र अहिले त्यसलाई सफल पार्न लागेको आरोही श्रेष्ठले बताइन् । 

 

आरोहण समूहको प्रमुखमा पेम्बा शेर्पा रहेका छन् । कारोबार आर्थिक दैनिकमा कार्यरत गोरखा आरुघाटकी पूर्णिमाले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमादब्लम हिमाल आरोहण गरेकी थिइन् । 

 

करिब १ महिना आधारशिविर क्षेत्रमा रहने टोलीले बताएको छ । फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन १९५० जुन ३ तारिखका दिन अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गरेका थिए । अन्नपूर्ण ८ हजार मिटरभन्दा अग्लो पहिलो मानव पालिका परेको जेठो हिमाल हो ।

 

मौरिसले आरोहण गरेको ७० वर्षपछि नारच्याङ हुँदै आधारशिविर जोड्ने पदमार्ग पहिचान भएको छ ।

 

अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले आरोही टोलीलाई व्यक्तिगत १ लाख र गाउँपालिकाबाट ४ लाख रुपैयाँ बजेट उपलब्ध गराएको बताए । गत वर्ष नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको गाउँपालिकाले मौरिज हर्गोज पदमार्ग नामकरण, नक्सांकन, पूर्वाधार निर्माण र प्रवद्र्धन सुरु गरेको अध्यक्ष पुनले जानकारी दिए । 

 

‘अन्नपूर्ण पहिलो’ आरोहणको ७० वर्ष पुग्दा पनि त्यसको सफल आरोहण गर्नेको संख्या असाध्यै कम छ । यसअघि आरोहीहरू हेलिकोप्टरबाट आधारशिविर जाने गरेका थिए । 

 

मुस्ताङको कुञ्जो हुँदै आधारशिविर जाने पदमार्ग जोखिमयुक्त र घुमाउरो थियो । २०६८ मा नारच्याङका बासिन्दाले आधारशिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । नारच्याङबाट तेस्रो दिनमै आधारशिविर पुग्न सकिन्छ । 

 

आधारभूत स्तरको पूर्वाधार तयार भएको छ । पर्यटन विभागले साढे २ करोड रुपैयाँ बढीको लागतमा हुमखोलादेखि आधारशिविर जोड्ने पदमार्गको स्तरोन्नति सुरु गरेको छ । जोखिमपूर्ण र कठिन भएकाले आरोहण गर्नेको संख्या कम भएको हो । नेपाली महिला यसको चुचुरोमा पुगेकै छैनन् ।


गण्डकी प्रदेश सरकारले पूर्णिमाको आरोहण टोलीलाई ८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सफलतासँगै पूर्णिमाको नाममा अन्नपूर्णको पहिलो महिला सफल आरोहीको कीर्तिमान रहनेछ । गण्डकीमा ८ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण, धौलागिरि र मनास्लु हिमाल छन् ।