close

रेम्बो ट्राउट खान साकेलाको चुले निम्तो !

रेम्बो ट्राउट खान साकेलाको चुले निम्तो !

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको साकेला गाउँपालिका वडा नम्बर ३ खिदिमाका स्थानीयले सामूहिक रूपमा रेम्बो ट्राउटपालन सुरु गरेका छन् । कृषि पर्यटनको नारा बोकेको गाउँपालिकाका किसानले ५० लाख १० हजार रुपैयाँ लगानीमा खिदिमाको मखमलेमा रेम्बो ट्राउटपालन सुरु गरेका हुन् ।

 

रेम्बो ट्राउट माछा, भुरा तथा रेम्बो ट्राउटलाई दिइने दाना उत्पादनका लागि स्रोत केन्द्रको रूपमा विकास गर्दै आर्थिक आयआर्जन गर्ने लक्ष्यका साथ तावाहाङ रेम्बो ट्राउट कृषक समूहमा आबद्ध किसानले रेम्बो ट्राउटपालन सुरु गरेका हुन् ।

 

आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारअन्तर्गतको मत्स्य विकास निर्देशनालयको २५ लाख, वडा कार्यालयको ५ लाख, गाउँपालिकाको ४ लाख र तावाहाङ रेम्बो ट्राउट कृषक समूहको १६ लाख १० हजार रुपैयाँ लगानीमा रेम्बो ट्राउटपालन सुरु गरिएको हो । 

 

रेम्बो ट्राउटका लागि १९ वटा (रेस-वे) पोखरी र फिल्टर ट्यांक निर्माण गरेर शुक्रबार १० हजार भुरा हालिएको लगानीकर्ता निसन राईले बताए । आन्तरिक तथा बाह्य पर्यटकको अध्ययन तथा भ्रमण थलो बनाएर कृषि पर्यटनको विकासका लागि स्थानीयले रेम्बो ट्राउटपालन सुरु गरेका हुन् । 

 

रेम्बो ट्राउटपालन गर्न इच्छुक स्थानीय किसानलाई सोसँग सम्बन्धित तालिम तथा दाना पनि उपलब्ध गराइने तावाहाङ रेम्बो ट्राउट कृषक समूहले जनाएको छ । 

 

५ वटा वडा रहेको गाउँपालिकाले २०७४ मा ‘एक वडा, पाँच पकेट क्षेत्र’ बनाउने कृषि कार्यविधि तयार पारेको थियो । सोही कार्यविधिलाई आधार मानेर खिदिमामा किबी, ट्राउट, आलु, मौरी र चियाको पकेट क्षेत्र बनाउने योजना बनाइएको थियो ।

 

सोही योजनाअनुसार प्रशस्त पानीका स्रोत भएको मखमलेमा रेम्बो ट्राउटपालन सुरु गरिएको हो । नेपाल रेम्बो ट्राउट फिस फार्म ललितपुरबाट रेम्बो ट्राउटको भुरा ल्याएर पोखरीमा हालिएको गाउँपालिकाका कृषि शाखा संयोजक गणेश राईले बताए । 

 

अहिले रेम्बो ट्राउटपालनका लागि बनाइएको पोखरी र फिल्टर ट्यांकको दृश्य लोभलाग्दो बनेको छ । रेम्बो ट्राउटका लागि स्थानीय डिलबहादुर राईको जग्गा खरिद गरिएको छ । रेम्बो ट्राउटको रेस-वेमा स्थानीय यपोसी खोलाको पानी प्रयोग गरिएको छ ।

 

सो पानी रेम्बो ट्राउटको ह्याचरीका लागिसमेत योग्य देखिएको विज्ञको भनाइ छ । ट्राउटपालनका लागि रामकृष्ण राईको संयोजकत्वमा ७ सदस्यीय सञ्चालक समिति बनेको छ ।

 

सोही समितिको समन्वयमा गाउँका अन्य स्थानीयले रेम्बो ट्राउट पालनमा सेयर लगानी गरेका छन् । नगद लगानी गर्न नसक्ने किसानले श्रम गरेर सेयर लगानी कायम गरेका हुन् । 

 

पर्यटकीय स्थल तावाभन्ज्याङ नजिकै रहेकाले रेम्बो ट्राउट फार्ममार्फत कृषि पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए । यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न तावा खोलाको शिरमा रहेको तावाभञ्ज्याङमा बाँध हालेर कृत्रिम ताल निर्माणका लागि डिपिआर तयार भइसकेको छ । भविष्यमा रेम्बो ट्राउट फार्म आसपासमा होमस्टेको समेत परिकल्पना गरिएको छ । 

 

२०७४ मा खिदिमाका स्थानीय आफैंले ९ लाख रुपैयाँ उठाएर रेम्बो ट्राउटपालनका लागि काम थालेका थिए । ४ वटा पोखरी र फिल्टर ट्यांक पनि बनाएका थिए । त्यसबेला पोखरी निर्माण सम्पन्न नहुँदै भुरा ल्याइएपछि घाटा बेहोरेको तावाहाङ रेम्बो ट्राउट कृषक समूहले पुनः मत्स्य विकास निर्देशनालय, गाउँपालिका र वडा कार्यालयको सहयोगमा ५० लाख रुपैयाँको योजना बनाएर १९ वटा पोखरी निर्माण गरेको हो ।

 

कोभिड-१९ को महामारीका कारण गत आर्थिक वर्षको योजना चालू आर्थिक वर्ष पूरा गरिएको हो । २०६८/६९ मा माछा विशेषज्ञसहितको टोली लिएर कृषिविज्ञ मदन राईले खोटाङका विभिन्न स्थानमा रेम्बो ट्राउटको सम्भाव्यताबारे सम्भाव्यता अध्ययन गरेका थिए ।

 

सोही क्रममा सो टोलीले खिदिमाको मखमलेमा पनि सम्भाव्यता अध्ययन गरेको थियो । सम्भाव्यता अध्ययनका क्रममा खिदिमा रेम्बो ट्राउटका लागि उपयुक्त ठहरिएको जानकारी पाएका निसनकै पहलमा सो स्थानमा रेम्बो ट्राउटपालन अघि बढाइएको हो ।

 

जिल्लाका दर्जनौँ स्थानमा माछा विशेषज्ञसहित रेम्बो ट्राउटको सम्भाव्यता अध्ययन गरेका कृषिविज्ञ राईले २०६९ मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर २ सोल्माको तालखर्कमा रेम्बो ट्राउटपालन सुरु गरेका थिए ।