close

ताजाकोटले वितरण गर्‍यो ८ सय वटा ओखर बिरुवा

ताजाकोटले वितरण गर्‍यो ८ सय वटा ओखर बिरुवा

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाको ताजाकोट गाउँपालिकाले ८ सय वटा च्याङ्लर ओखरका बिरुवा वितरण गरेको छ । संघीय सरकारको ससर्त अनुदान, प्रधानमन्त्री कृषि आधुनिकीकरण पकेट क्षेत्र विकास कार्यक्रमअन्तर्गतको २१ लाख रुपैयाँ रकमले २ वटा पकेट क्षेत्रलाई ८ सय वटा च्याङ्लर ओखर बिरुवा वितरण गरिएको हो ।

 

गाउँपालिकाका अध्यक्ष बागदल मल्लका अनुसार हरेक वर्ष पकेट क्षेत्र विकासका लागि बजेट विनियोजन गरी कृषि क्षेत्रलाई प्राथमिकता दिइँदै आएको छ । उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहबाट पकेट क्षेत्र विकासका लागि बजेट विनियोजन भएको छ । त्यसलाई व्यवस्थापन गरी सबै कृषकलाई समान तरिकाले वितरण गरिरहेका छौँ ।’

 

यो वर्ष ससर्त अनुदानतर्फको २१ लाख रुपैयाँले बौलाइना कृषक समूह र थापागाउँ कृषि सहकारी संस्थालाई मात्र वितरण गरिएको र बाँकी वडालाई पालिका र जिल्ला तथा प्रदेश पकेट क्षेत्रमा समाहित गराउने गरी कार्यक्रम अघि सारिएको कृषि प्राविधिक शक्ति बुमीले बताए ।

 

उनले भने, ‘वडा नम्बर ३ को थापागाउँ कृषि सहकारी संस्थालाई ४ सय बिरुवा र वडा नम्बर १ को बौलाइना कृषक समूहलाई ४ सय वटा बिरुवा वितरण गरेका छा । २१ लाख बजेटमा १ लाख तालिम तथा मेसिनरी औजार खरिद गरेका हौँ भने बाँकी २० लाखले ८ सय च्याङ्लर ओखरका बिरुवा खरिद गरेर वितरण गरेका छौँ ।’

 

टर्कीबाट ल्याइएका ओखरका बिरुवा सुर्खेत हुँदै हुम्ला

 

थापागाउँ कृषि सहकारी संस्थाले धौलाभीरको सामूहिक जग्गामा ४ सय वटा बिरुवा लगाएको छ भने बौलाइना कृषक समूहले पनि बौलाइनाको सामूहिक जग्गामा ४ सय वटा बिरुवा लगाएको छ ।

 

यो क्रमागत बजेट भएकाले पछिल्ला वर्षमा पनि यिनै पकेट क्षेत्र विकास गरी गाउँपालिकाकै नमुना समूह बनाउने योजना छ ।


बिरुवा उपलब्ध गराएपछि श्रमिकको ज्याला, सिँचाइका लागि पानी र घेराबारको व्यवस्था गरिदिए किसानलाई सहज हुने थापागाउँ कृषि सहकारी संस्थाका अध्यक्ष सर्पलाल थापा बताउँछन् ।