close

चमेरे गुफामा पर्यटकको ओइरो

चमेरे गुफामा पर्यटकको ओइरो

Trulli
ADVERTISEMENT

बागलुङ- कोरोना महामारीका कारण पर्यटक घरमै थन्किएपछि पर्यटन क्षेत्रमा झारपातको राज थियो । दुबो पलाउन थालेको थियो, स-साना बिरुवाले मुना हाल्दै थिए । 


बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ५ मा रहेको चमेरे गुफाले पनि कोरोना महामारीको मार खेप्यो । झन्डै १ वर्षको अन्तरालपछि गुफामा अहिले केही पर्यटक देखिन थालेका छन् । 


बडिगाड गाउँपालिकाले वडा नम्बर ५ ग्वालीचौरस्थित यो गुफाको नाम ‘करुण चमेरे गुफा’ राखेर यसलाई पर्यटकीय गन्तव्य बनाउने गरी अभियान थालेको छ । गाउँपालिकाले समुद्री सतहदेखि १ हजार ५ सय ३१ मिटरको उचाइमा रहेको गुफा वरपर भौतिक पूर्वाधार विकास गरिरहेको छ ।


गुफा परिसरमा पूर्वाधार निर्माणसँगै घुम्न आउने आन्तरिक पर्यटक बढेका छन् । गुफाभित्र विभिन्न प्रजातिका चमेरा रहेकाले गुफाको नाम चमेरे गुफा राखिएको वडाध्यक्ष अर्जुन खरेलले बताए । 


उनले गुफामा ४ प्रजातिका चमेरा पाइने जानकारी दिए । उनले भने, ‘यहाँ गुफा र चमेरा हेर्न तथा अध्ययन, अवलोकनका लागि पनि बागलुङसँगै छिमेकी गुल्मीलगायतका मानिस आउने गरेका छन् ।’ 


प्रकृतिले दिएको उपहार हो, चमेरे गुफा । १ सय ५० मिटरभन्दा लामो यो गुफा पछिल्लो पटक भएका केही प्रचार र प्रयासले चर्चामा आउन थालेको छ । 


कोरोना महामारीपछि यो गुफामा विस्तारै आन्तरिक पर्यटक देखिन थालेका छन् । लामो प्राकृतिक गुफा र त्यहाँभित्र रहेका मनोरम दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ । 


मध्यपहाडी लोकमार्ग नजिकै रहेकाले यो गुफा गाउँपालिकाको पर्यटनको मुख्य आधार हो । चमेरे गुफाका लागि गाउँपालिकाले ४० लाख रुपैयाँ खर्चेको थियो । यसको उपलब्धि विस्तारै देखिन थालेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले सुनाए ।


‘पर्यटन वर्षमा केही होला भनेको कोरोनाले असर गर्‍यो,’ पाइजाले भने, ‘अब विस्तारै यहाँको पर्यटन उकासिने बाटोमा छ ।’ पछिल्लो पटक चमेरे गुफामा गण्डकी प्रदेश सरकारको समेत आँखा पुगेको छ ।


गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पूर्वाधार बनाउने भनेर २० लाख रुपैयाँ लगानी गरेको छ । गुफाको प्रचार-प्रसारमा स्थानीय सरकारले बढी ध्यान दिनुपर्ने पर्यटक बताउँछन् ।


गुफा घुम्न आन्तरिक पर्यटकको ठूलो जमात त्यहाँ पुग्ने गरेको छ । पछिल्लो समय भारतीय पर्यटकको समेत रोजाइमा गुफा पर्ने गरेको स्थानीय बताउँछन् । गुफाको प्रचार र प्रवर्द्धन गर्ने हो भने पर्यटनसँग जोडेर स्थानीयको आर्थिक उन्नतिमा टेवा पुग्ने बताइन्छ ।