close

पुनर्निर्मित घरमा संरचना विस्तार कार्यविधि तयार

पुनर्निर्मित घरमा संरचना विस्तार कार्यविधि तयार

Trulli
ADVERTISEMENT

काठमाडौं- भूकम्पपछि पुनर्निर्माण भएका निजी आवासको संरचना विस्तारका लागि कार्यविधि तयार भएको छ । पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरमा लाभग्राहीले कोठा तथा तला थप्न थालेको तथा थप्ने चाहनेलाई लक्षित गरेर कार्यविधि तयार पारिएको हो । 

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) ले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) को प्राविधिक सहयोगमा कार्यविधि तयार गरेको हो ।

 

कार्यविधि कार्यान्वयनको केन्द्रबिन्दु स्थानीय तहलाई बनाउनुपर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । माउघरको क्रमशः विस्तार मूलतः ग्रामीण क्षेत्रमा संस्कृति नै रहेको उल्लेख गर्दै उनले थपिएको हिस्सा पनि भूकम्प प्रतिरोधी होस् भन्ने उद्देश्यले कार्यविधि निर्माणमा अग्रसरता लिइएको जानकारी दिए । 

 

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) का उपनिर्देशक झप्परसिंह विश्वकर्मा र एनसेटका बलियो घर कार्यक्रम व्यवस्थापक रञ्जन ढुंगेलले मस्यौदा कार्यविधि तथा १० बुँदे पुस्तिका तयार पारेका हुन् । 

 

इन्जिनियर एवं निर्माण प्राविधिकलाई उपयोगी हुने गरी विस्तृत इञ्जिनियरिङ ड्रइङ र डिजाइनसहित कार्यविधिको मस्यौदा तयार गरिएको प्रधिकरणले जनाएको छ । घरधनी एवं निर्माणकर्मीले बुझ्ने गरी नेपाली भाषामा १० बुँदे सरल पुस्तिका पनि तयार भएको छ ।

 

कार्यविधिले ढुंगा, माटो तथा सिमेन्टको जोडाइ भएका घरमा दायाँ-बायाँ वा अगाडि-पछाडि भूकम्प प्रतिरोधी ढंगले विस्तार गर्न सकिनेबारे विस्तृत उल्लेख गरेको छ । तला थप्न भने यसअघि तयार भइसकेको ‘हाइब्रिड स्ट्रक्चर म्यानुअल’ उपयोगी हुनेछ ।

 

कार्यविधिलाई अन्तिम रूप दिइएपछि प्राधिकरणको कार्यकारी समितिबाट पारित गरी कार्यान्वयनमा लगिनेछ भने पछि स्थानीय सरकारका साथै सहरी विकास तथा भवन निर्माण विभाग मुख्य कार्यान्वयनकर्ता हुनेछन् । 

 

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले आगामी दिनमा बन्ने घर विस्तारका लागि पनि यो कार्यविधि उपयोगी हुने विश्वास व्यक्त गर्दै यसलाई कार्यान्वयन गर्न विभाग तत्पर रहेको बताए । 

 

अमेरिकी सहायता नियोग (युएसएड) का सन्तोष ज्ञवालीले कार्यविधि पुनर्निर्माण भएका घरका लागि मात्र नभएर आगामी दिनमा बन्ने घरका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गरे । 

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले माउघर अर्थात् ‘कोर हाउजिङ युनिट’ पुनर्निर्माणका लागि ३ लाख रुपैयाँ अनुदान तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।