close

च्याउ खेतीमा युवा आकर्षण तर बजारकै समस्या 

च्याउ खेतीमा युवा आकर्षण तर बजारकै समस्या 

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर ९ का बाबुराम पाण्डेय तम्घासमा च्याउ खेतीको व्यावसायिक उत्पादन गर्ने पहिलो व्यक्ति हुन् । उनले १० वर्षदेखि तम्घासमा व्यावसायिक च्याउ उत्पादन र बजारीकरणको काम गरिरहेका छन् ।

 

पाण्डेयले नगरपालिकाको वडा नम्बर ९ उपल्लो तम्घासमा रेसुंगा च्याउ उद्योगमार्फत २० लाख रुपैयाँ लगानी गरेर च्याउ खेती गर्दै आएका छन् । अहिले पाण्डेयको फार्ममा च्याउ टिप्ने चटारो छ ।

 

तर, बजार अभावममा दैनिक सरदर ३ क्विन्टल उत्पादन हुने च्याउको व्यवस्थापन गर्न पाण्डेयलाई मुस्किल परिरहेको छ । अहिले मोटरसाइकलमा राखेर च्याउ गाउँ–गाउँमा पुर्‍याउनुपर्ने बाध्यता उनलाई छ । 

 

पछिल्लो समय जिल्लामा कृषि क्षेत्रमा थुप्रै स्थानीय तहले नयाँ-नयाँ कार्यक्रम सञ्चालन गरेका छन् । त्यसैले पनि कृषि कर्ममा लाग्ने युवाहरूको संख्या बढ्दै गएको छ । 

 

उत्पादन पनि सोहीअनुसार भइरहेको छ । तर, च्याउ किसानलाई बजारीकरणको मात्रै पिरलो छैन । सरकारले प्रदान गर्ने बेमौसमी अनुदानले पनि समस्या छ ।

 

पाण्डेले राज्यबाट अनुदान पाउन मुस्किल रहेको बताए । ‘बेमौसम जेठ, असारमा अनुदान दिएर के गर्ने ? त्यो किरा लाग्ने बेला हो,’ उनले भने, ‘अहिले अनुदान चाहिए पनि पाइँदैन ।’

 

बजारीकरणको समस्याकै बीच स्थानीय युवाहरूमा व्यावसायिक च्याउ खेतीप्रतिको आकर्षण भने बढ्दै गएको छ । पाण्डेयले नगरपालिकाको वडा नम्बर ८ का रुपकलाल श्रेष्ठसँग पुष्पाञ्जली एग्रो फार्ममार्फत संयुक्त रूपमा छुट्टै च्याउ खेती पनि गरिरहेका छन् ।

 

दुवै फार्ममा अस्थायी र नियमित गरेर १५ जनाले रोजगारी पाएका छन् । अहिले फार्ममा च्याउको बिउ राख्ने र बजारीकरणको काम भइरहेको छ । संयुक्त फार्मबाट वार्षिक २० देखि २५ लाख रुपैयाँसम्म च्याउको कारोबार भइरहेको छ । 

 

यो वर्षदेखि पाण्डेय र श्रेष्ठले करिब ३५ लाख रुपैयाँको लगानीमा सिताके च्याउको नयाँ व्यावसायिक उत्पादन सुरु गरेका छन् । उनीहरूले छुट्टै ब्लगमा गत वर्षदेखि कन्ये च्याउको उत्पादन पनि गरिरहेका थिए ।

 

अहिले नयाँ जात र बजार मागका आधारमा ३५ सय मुढामा सिताके च्याउ उत्पादन थालेका छन् । फार्मको आधुनिकीकरणसँगै सिताके च्याउको उत्पादन सुरु गरिएको सञ्चालक रुपकलाल श्रेष्ठले जानकारी दिए ।

 

सिताके च्याउको ६ महिनाबाट उत्पादन सुरु हुन्छ । अरू च्याउको तुलनामा सिताकेको बजार मूल्यसमेत बढी भएकाले बजारको पिरलो च्याउ सञ्चालकसँग छ । 


अहिले कन्ये च्याउको प्रतिकिलो बजार मूल्य ३ सय र सिताके च्याउको मूल्य ६ देखि ७ सय रुपैयाँसम्म छ । तर, बजार ग्यारेन्टी नभएका कारण बिक्री नहुँदा कम मूल्यमा बेच्नुपर्ने बाध्यतामा च्याउ किसान छन् । 

 

च्याउ किसानलाई लागतका आधारमा रेसुंगा नगरले मूल्य नदिँदा उनीहरूले रेसुंगा हाटबजारमा च्याउ बिक्री गरिरहेका छैनन् । रेसुंगाले कृषकको सबै उत्पादनको बजारीकरणका लागि गत वर्षदेखि कृषि हाटबजार सञ्चालनमा ल्याएको छ । 

 

उत्पादनमा आधारित अनुदानको व्यास्था पनि भइरहेको छ । नगरले सरकारकै नीतिअनुसार च्याउका कार्यक्रम सञ्चालन गरिरहेको नगरका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।

 

उद्योग, कलकारखाना नभएका पहाडी जिल्लाको आर्थिक समृद्धिको प्रमुख आधार कृषि र पर्यटन रहेको उनी बताउँछन् । त्यसका लागि ३ वटै तहका सरकारले विभिन्न योजना सञ्चालन गरेका छन् ।

 

तर, भूगोल, हावापानी र जात सुहाउँदो कृषि कार्यक्रम सञ्चालनको नीति, कार्यक्रम र अनुदानमा ध्यान दिन सकेका छैनन् ।