close

लुम्बिनीका १२ जिल्लामा ५ हजार बढी क्षयरोगी

लुम्बिनीका १२ जिल्लामा ५ हजार बढी क्षयरोगी

Trulli
ADVERTISEMENT

रूपन्देही- २४ मार्च अर्थात् विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘विश्व क्षय रोग दिवस संकेत समयको, क्षयरोग अन्त्यको’ नारासहित क्षयरोग दिवस मनाइएको हो ।

 

नेपालमा क्षय रोगबाट बर्सेनि करिब ५ देखि १७ हजार मानिसको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ । 


अहिले क्षयरोग भयावह छैन र निर्मूल पनि भएको छैन । संक्रामक रोग भएकाले दोस्रो व्यक्तिलाई सजिलै सर्न सक्छ । क्षयरोग भए यसले छाती तथा फोक्सोलाई असर गर्ने स्वास्थ्यकर्मी बताउँछन् । 

 

हाच्छियुँ गर्दा, खोक्दा पनि यसका जीवाणु सजिलै अर्को व्यक्तिमा सर्न सक्छन् । गत आर्थिक वर्ष २०७६÷७७ मा औषधी प्रतिरोधी क्षय रोगका ३८४ जना बिरामीलाई नियमित उपचारमा ल्याइएको थियो ।

 

अझै ८३ प्रतिशत क्षय रोगका बिरामीलाई उपचारको दायरामा ल्याउन नसकिएको स्वास्थ्य कार्यालय रूपन्देहीका क्षय÷कुष्ठ रोग निरीक्षक टीकाराम अधिकारीले बताए । औषधी प्रतिरोधी क्षयरोगका बिरामी बढ्दै गर्दा तिनको प्रभावकारी व्यवस्थापनमा सरकारलाई चुनौती थपिएको उनको बुझाइ छ ।

 

क्षय रोगका बिरामीलाई लामो अवधिसम्म उपचार केन्द्रमा आएर दैनिक औषधी सेवन गर्न असहज भएपछि सरकारले आगामी ५ वर्षभित्र नेपालका सबै जिल्लामा बिरामीका घरमै औषधी खुवाउन समुदायमा आधारित क्षय रोग उपचार व्यवस्थापन कार्यक्रम विस्तार गर्ने तयारी थालेको लुम्बिनी प्रादेशिक अस्पताल डट्स क्लिनिकका इन्चार्ज सत्यराज शाक्यले जानकारी दिए ।


जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्रकुमार गिरी डीआर टिबी उपचारमा धेरै कठिनाइ हुने गरेको बताउँछन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर ५ हजार ६ सय ६२ जना क्षय रोगका बिरामी छन् ।

 

तीमध्ये पूर्वी रुकुममा २५, रोल्पामा २०८, प्युठानमा २९९, गुल्मीमा १९४, अर्घाखाँचीमा १९४, पाल्पामा ३०२, पश्चिम नवलपरासीमा ४२१, रूपन्देहीमा ११६३, कपिलवस्तुमा ५८७, दाडमा ९१६, बाँकेमा ८३३ र बर्दियामा ५२० जना क्षयरोगी रहेको प्रदेश निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकारी नेत्रलाल अर्यालले बताए ।

 

क्षय रोगका लक्षण 

३ सातासम्म पनि खोकी निको नहुने

लामो समयसम्म ज्वरो आउने

खान मन नलाग्ने

तौल कम हुने

खकारमा रगत देखिने

थकान महसुस हुने

राती पसिना आउने


छाती बाहिर संक्रमण भए खान मन नलाग्ने, तौल कम हुने गर्छ । यसका साथै अन्य लक्षणसमेत देखा पर्छन् । मिर्गाैलाको क्षयरोग लागे पिसाबबाट रगत देखिने, हड्डीको क्षयरोग भए ढाड दुख्ने, ढाड कुप्रो पर्ने इत्यादि हुन्छ ।

 

त्यसमध्ये फोक्सोको क्षयरोगमा स्पुटम पोजेटिभ हुने गर्छ । स्पुटम पोजेटिभ भए खोक्दा, हाच्छियुँ गर्दा हावाको माध्यमद्वारा यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने गर्छ ।


यस्तालाई लाग्न सक्छ रोग

विशेषगरी कम प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई सजिलै आक्रमण गर्न सक्ने यो क्षयरोगका किटाणु जोसुकैको शरीरमा रहेको हुन्छ ।


कमजोर रोग प्रतिरोधात्मक क्षमता हुनासाथ त्यस्ता व्यक्तिलाई यो रोगले सजिलै आक्रमण गर्दछ । शरीरमा पोषणको कमी, कुपोषण, सन्तुलित आहार, गलत खानपानलगायत कारण पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुने चिकित्सक बताउँछन् । 


रोग लागेको थाहा पाउने तरिका 

छातीको एक्सरे

खकार जाँच

प्रतिरोधात्मक क्षमता जाँच 

रगत कल्चर गर्ने

नियन्त्रणका उपाय 

जनचेतना

प्रारम्भिक जाँच

निःशुल्क पाइन्छ औषधी 

 

नेपालमा क्षयरोगीलाई लक्षित गरी निः शुल्क औषधी वितरण गर्दै आएको छ । तर, अस्पतालसम्म पहुँच नपुग्दा, भौगोलिक विकटता तथा क्षयरोग केन्द्रमा जान हिच्किचाउने गर्नाले पनि नागरिकले सूचीकृत स्वास्थ्य संस्थारूबाट यो सुविधा लिन सकेका छैनन् ।


नेपालमा प्रत्येक वर्ष करिब ६९ हजार क्षय रोगका नयाँ बिरामी देखिने गरेका छन् । नेपालमा क्षयरोगका बिरामी प्रत्येक वर्ष ६९ हजार जना थपिन्छन् भने १ दिनमै ४६ को ज्यान जाने गरेको सरकारी तथ्यांक छ ।