close

तान्ने मान्छे नपाएपछि डोजर र क्रेनले तानियो लिंगो

तान्ने मान्छे नपाएपछि डोजर र क्रेनले तानियो लिंगो

Trulli
ADVERTISEMENT

भक्तपुर– पहिलो पटक डोजर र क्रेनको प्रयोग गरी योसिंद्यो (लिंगो) भक्तपुरका योसिंखेल (भेलुखेल) मा ल्याएको छ । जनशक्ति अभाव देखाउँदै भक्तपुरको नालास्थित योसिंद्यो वनबाट योसिंद्यो डोजर र क्रेनको सहयोगमा ल्याएको हो । 

 

आगामी २८ चैतबाट सुरु हुने विस्का जात्राका लागि योसिंद्योको आफ्नै महत्त्व छ । प्रत्येक वर्षको चैत अन्तिम दिन ५५ हात लामो योसिंद्यो उठाइन्छ । त्यसको भोलिपल्ट अर्थात् १ वैशाखमा ढलाउने परम्परा छ । करिब ५५ हात लामो, नाङलो गोलाइको योसिंद्यो चाहिन्छ मान्यता छ । 

 

डोजर र क्रेनको प्रयोग गरेर योसिंद्यो ल्याएकोप्रति संस्कृतिविद्हरूले भने आपत्ति जनाएका छन् । संस्कृतिविद् ओम धौभडेलका अनुसार सांस्कृतिक, धार्मिक परम्परागत जात्रा, चाडपर्वमा आधुनिकता प्रयोग गरेपछि जात्राको अर्थै हुँदैन ।

 

उनले भने, ‘योसिंद्यो क्रेन र डोजरबाट ल्याए जसरी योसिंद्यो पनि क्रेनको सहायताले उठाउन मिलिहाल्छ । किन स्थानीयले तान्नुपर्‍योे ? भैरवनाथको रथ (भैलख) पनि डोजरले तान्ने अब ?’ पहिलाजस्तै सांस्कृतिक तथा परम्परागत हिसाबले नै ल्याउनुपर्ने उनको सुझाव छ । ‘आधुनिक प्रविधि प्रयोग गर्नुपर्छ तर संस्कृति तथा परम्परालाई बचाएर,’ उनले भने । 

 

टौमढी युथ क्लबका अध्यक्ष शिवराम भुजुले अहिले पहिलाजस्तो खोलाबाट डोरीले तानेर ल्याउन नसकिने दाबी गरे । उनले यो वर्ष पहिलो पटक योसिंद्यो ल्याउन सहकार्य गरेको बताए । ‘अहिले पहिलाजस्तो खोलाबाट डोरीले तानेर ल्याउन सकिँदैन,’ उनले भने । 

 

पहिला तव्याखुसीबाट लिंगो ल्याउने चलन थियो । ‘पहिला खुला ठाउँ बस्ती कम थियो । खोलामा पानी बग्थ्यो,’ उनले भने, ‘अहिले त्यो खोला नै ढल भइसकेको छ । कसैलाई फुर्सद पनि छैन । यही कारण आधुनिक प्रविधिको प्रयोग गरी लिंगो ल्याइएको हो ।’ 

 

यासिंद्यो तान्न २ सय जना मानिस खोज्न पनि नसकिने उनको भनाइ छ । पटक–पटक आह्वान गर्दा पनि जनशक्ति तयार नभएको गुनासो उनको छ । यसपालि टेन्डर परेका सरराज उप्रेतीले २ साताअघिदेखि सहयोगका लागि आह्वान गर्दा कोही पनि नआएको जानकारी दिए । ‘अहिले नागरिक प्रत्यक्ष जात्रामा भन्दा मोबाइल, इन्टरनेटमा रमाउन थाले । त्यसैले टिप्पणी गर्न सजिलो छ तर काम गर्न गाह्रो,’ उनले भने । 

 

बर्सेनि यसरी अप्ठेरो गरी योसिंद्यो लिन जानुको सट्टा ल्याएको योंसिद्योलाई संरक्षण गरेर पुनः प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । टेन्डरमा उठेको बाँकी पैसा भैलखः समाज सेवामा प्रयोग गर्ने उनले बताए । २ वटा योसिंद्यो ल्याइएको छ । 

 

गुठी संस्थान शाखा कार्यालय सूर्यविनायकले यो वर्ष २ लाख ८४ हजार ५० रुपैयाँमा टेन्डर पारेको थियो । योसिंद्यो ल्याउन एउटा बोको र पूजाआजाका लागि १० हजार रुपैयाँ दिने गरेको संस्थान प्रमुख आनन्द कर्माचार्यले बताए । 

 

तर, क्रेन र प्रविधि प्रयोग गर्नुहुँदैन भनेर कतै नलेखिएको दाबी गर्दै उनले भने, ‘अहिले बाटो नै पहिलाजस्तो उपयुक्त नभएकाले प्रविधि अपनाइएको हो,’ उनले भने । योसिंद्यो ल्याउन यसअघि कम्तीमा १ साता लाग्ने गरेकामा यस पटक २४ घन्टामै ल्याइएको उनले बताए । 

 

काशी भैरवनाथको प्रतीक मानिने योसिंद्यो तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी अष्टमातृकाको प्रतीक ८ वटा डोरीले तानेर उभ्याइएको हो । पुरानो वर्षको बिदाइ र नयाँ वर्ष आगमनको पूर्वसन्ध्यामा उठाउने उक्त लिंगोकोे टुप्पोमा नाग र नागिनीको प्रतीक मानिने हलिङपत रहेको छ । लिंगो उभ्याउने क्रममा भैरवनाथ र भद्रकाली यहाँ उपस्थित हुने प्रचलन छ ।