close

विजयखर्कको डढेलो गाउँ पस्यो, चार घर जले, बाख्रा फार्म नष्ट 

विजयखर्कको डढेलो गाउँ पस्यो, चार घर जले, बाख्रा फार्म नष्ट 

Trulli
ADVERTISEMENT

खोटाङ– जंगलमा लागेको डढेलोले खोटाङमा ४ वटा घर र एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ । 

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर १५ विजयखर्कस्थित ३ वटा सामुदायिक वनमा फैलिएको डढेलो गाउँमा पस्दा बसेरीका तेजविनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेको हो । 

 

स्थानीय जुरेथुम्का र साँघुरी सामुदायिक वनमा लागेको डढेलोले बसोबास नभएको घर जलेको हो । घरमा ताल्चा लगाएर तराई बसाइँ सरिसकेका ३ जना ढकाल परिवारको घरभित्रको भाँडाकुँडा भने निकालेर जोगाइएको स्थानीय सागर खनालले बताए । 

 

८ वर्षअघि जंगलमा लागेको डढेलोमा घर गुमाएका ढकाल परिवारले पुनर्निर्माण गरेको घर पुनः डढेलोले खाएको हो । त्यतिबेला विष्णुप्रसाद खनालको घर पनि डढेलोले जलेको थियो । 

 

गाउँमा पसेको डढेलोले सहकारीबाट १ लाख ७० हजार रुपैयाँ अनुदान लिएर बनाएको भुजेलको बाख्रा फार्मसमेत खरानी भएको स्थानीय किसन भुजेलले जानकारी दिए । भुजेलको घरमा भने वर्षायाममा मात्र बस्ने गरिएको थियो । 

 

आगो नियन्त्रणका लागि दिक्तेलबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली डढेलो प्रभावित क्षेत्र पुगेको छ । अहिले पनि सुरक्षाकर्मी र स्थानीयले डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

 

आगो नियन्त्रणमा चम्पावती माविका कक्षा ९ र १० का छात्रछात्रा र शिक्षकसमेत खटिएका छन् । डढेलोले ३ घर जलेको जानकारी आए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए । 

 

हलेसी तुवाचुङको वडा नम्बर ११ राजापानीतिरबाट ३ दिनअघि सुरु भएको डढेलो विजयखर्कको साँघुरी सामुदायिक वन हुँदै अन्य वनमा प्रवेश गरेको हो । 

 

डढेलोबाट घर जोगाउन कतिपय स्थानीयले छानामा पानी छ्यापेर बसिरहेका छन् । आगोबाट घर जोगाउन छानामा पानी छ्याप्ने क्रममा लडेर स्थानीय मोहन विश्वकर्मा घाइते भएका छन् । उनको देब्रे हात भाँचिएको छ । उनलाई एम्बुलेन्समा राखेर उपचारका लागि स्वास्थ्य संस्था पठाइएको खनालले बताए । 

 

डढेलोले जुरेथुम्का सामुदायिक वनको पूर्व र पश्चिम मोहडा, साँघुरी सामुदायिक वन र भुन्टेम्मा सामुदायिक वनको अधिकांश भाग जलिसकेको छ ।