close

नेपाल नगरपालिका संघको निफ्रासँग सम्झौता 

नेपाल नगरपालिका संघको निफ्रासँग सम्झौता 

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाल नगरपालिका संघ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) बीच सम्झौता भएको छ । दुई पक्षबीच सार्वजनिक/निजी साझेदारी एवं निजी क्षेत्रको सहभागितामा पूर्वाधार परियोजना निर्माण, लगानी एवं सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

 

नगरपालिकाको सामाजिक आवश्यकता पूरा गर्न, भौतिक पूर्वाधार निर्माण तथा सञ्चालनबाट नगरबासीका लागि दैनिक जनजीवनमा सहजीकरण गर्न र राष्ट्रको द्रुत आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउन पूर्वाधारमा लगानी आवश्यक देखिएकाले यस्तो सम्झौता भएको हो । 

 

संघको २८ औं स्थापना दिवस अवसरमा गरिएको सम्झौताले नगरपालिकाअन्तर्गतका सामाजिक तथा भौतिक पूर्वाधारका परियोजना पहिचान गर्न र सम्भावित योजनामा वित्तीय तथा प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनोटका लागि आवश्यक सहयोगमा सघाउ पुग्ने बताइएको छ ।

 

निफ्रा वा उसको अगुवाइमा स्वपुँजी तथा ऋण लगानी व्यवस्थापन, आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक/निजी साझेदारीको माध्यमबाट विभिन्न नगरपालिकामा पूर्वाधार परियोजनाको विकास तथा कार्यान्वयन गरिनेछ ।

 

प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भएको उक्त समझदारीपत्रमा नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा र नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरे । 

 

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार परियोजनालाई सहयोग पुर्‍याउने उद्देश्यले सार्वजनिक/निजी साझेदारीको अवधारणामा स्थापित निफ्राले नगरपालिका संघसँगको सहकार्यपछि आगामी दिनमा मुलुकका अन्य निकायसँग समेत सहकार्य गरिने बताएको छ ।