close

कोरोना महामारीको सन्त्रासः उपत्यकाका ३ वटै जिल्ला प्रशासनले जारी गरे सतर्कता सूचना 

कोरोना महामारीको सन्त्रासः उपत्यकाका ३ वटै जिल्ला प्रशासनले जारी गरे सतर्कता सूचना 

Trulli
ADVERTISEMENT

भक्तपुर- भारतमा कोरोना महामारीको संक्रमण दर ह्वात्तै बढेसँगै गरिएको लकडाउनले सीमामा नेपाल फर्किनेहरूको लर्को लागिसकेको छ । 

 

नेपालमा पनि दोस्रो चरणको कोरोना संक्रमणको अवस्था आउनेतर्फ सावधानी अपनाउन संघीय सरकारले सूचना नै जारी गरिसकेको छ । राजधानी काठमाडौंसहित ललितपुर, भक्तपुर जिल्ला प्रशासनले पनि कोरोना संक्रमण फैलिन सक्ने बताउँदै सावधानी अपनाउन अपिल गरेका छन् ।

 

काठमाडौं उपत्यकामा सार्वजनिक स्थानमा अनिवार्य मास्क लगाउन स्थानीय प्रशासनले निर्देशन जारी गरेको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका ३ वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सार्वजनिक स्थानमा अनिवार्य रूपमा मास्क लगाउन आग्रह गरेका हुन् ।

 

भारतमा कोरोना संक्रमण बढेको र नेपालमा पनि बढ्न सक्ने संकेत देखिएको भन्दै प्रशासन कार्यालयले मास्क लगाउन र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न नागरिकलाई आग्रह गरेका छन् ।

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भारतमा बढ्दै गएको कोरोना संक्रमणको प्रभाव काठमाडौं उपत्यकामा समेत बढ्दै गएकाले सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रूपमा मास्क प्रयोग, स्यानिटाइजर र सामाजिक÷भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरेको छ । सार्वजनिक स्थलमा भीडभाड नगर्न र घरभित्रै होली मनाउन प्रशासनले आग्रह गरेको छ ।

 

ललितपुरमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण बढ्न नदिन स्यानिटाइजर, मास्क र सामाजिक दूरी कायम गर्नेलगायत मापदण्ड पालनामा कडाइ गर्ने निर्णय गरेको छ ।

 

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बाहिर निस्कँदा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने निर्णयसमेत भएको जानकारी दिए ।

 

ललितपुरमा रात्रिकालीन व्यवसाय राती ११ बजेपछि सञ्चालनमा रोक लगाउने, व्यवसाय सञ्चालन गर्दा पनि भीडभाड नहुने र स्वास्थ्य तथा सुरक्षाका तोकिएका मापदण्ड पालना गर्नुपर्ने व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ । होलीमा पनि भीडभाड नगर्न प्रशासनले निर्देशन दिएको छ ।

 

भक्तपुरमा विस्का जात्रा प्रभावित हुने संकेत

 

कोरोना संक्रमण दरमा वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले भीडभाड हुने गरी कुनै किसिमका कार्यक्रम नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले मेला, जात्रा, सांस्कृतिक कार्य अर्को सूचना नभएसम्म नगर्न÷नगराउन आग्रह गरेको हो ।

 

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले छिमेकी भारतका विभिन्न प्रान्तमा कोभिड-१९ को संक्रमण बढिरहेकाले सचेत हुन आग्रह गरे । नजिकिँदै गरेको फागु पूर्णिमा अवसरमा भीडभाड नगर्न, स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर मात्र सुरक्षित रूपमा पर्व मनाउनसमेत उनले नागरिकलाई आग्रह गरे । 

 

कोभिड-१९ को संक्रमण सम्भावनालाई दृष्टिगत गर्दै पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने, स्वास्थ्य युनिटलाई समेत आवश्यकताअनुसार तत्काल परिचालन गर्ने गरी तयारी अवस्थामा राख्ने र यसका लागि आवश्यक समन्वय स्वास्थ्य कार्यालयले गर्ने निर्णय भएको उनले जानकारी दिए । 

 

अन्य सेवाप्रदायक निकायबाट सेवा प्रवाह गर्दा कोभिड-१९ को मापदण्ड पालना गरेर मात्र सेवा प्रवाह गर्ने, जिल्लामा संक्रमण फैलन नदिन प्रत्येक स्थानीय तहले रोगको निगरानी चुस्त बनाउन तथा सचेतनामूलक सन्देश प्रसारण गर्नेसमेत प्रजिअ भट्टराईले जानकारी दिए ।

 

जिल्ला प्रशासनले भीडभाड नगर्न विज्ञप्ति जारी गरेपछि यो वर्षको बिस्का जात्रा प्रभावित हुने देखिएको छ । गत वर्ष कोरोना भाइरसकै कारण जारी लकडाउनका कारण जात्रा औपचारिक पूजामा सीमित गरिएको थियो ।

 

प्रजिअ भट्टराईले जात्रा सञ्चालन गर्नेबारे थप छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘अहिलेको अवस्थामा कमभन्दा कम संख्या उपस्थित भएर जात्रालाई सुरक्षित रूपमा सञ्चालन गर्नेबारे छलफल भइरहेको छ ।’