close

रूपन्देहीको तिलोत्तमालाई उत्कृष्ट नगरको पुरस्कार 

रूपन्देहीको तिलोत्तमालाई उत्कृष्ट नगरको पुरस्कार 

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार २०७७ प्राप्त गरेको छ । मुलुकभरका महानगर, उप–महानगर र नगरपालिकाको छाता संगठन नेपाल नगरपालिका संघले नगरपालिकालाई पुरस्कार प्रदान गरेको हो । 

 

आर्थिक वर्ष २०७६/७७ मा सहरी सेवा प्रवाह तथा सुशासनको क्षेत्रमा उल्लेखनीय कार्य सम्पादन गरेको मूल्यांकनका आधारमा पुरस्कार प्रदान गरिएको संघले जनाएको छ । 

 

संघले आफ्नो २८औँ वार्षिकोत्सव अवसरमा बुधबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरेको हो । तिलोत्तमासँगै आर्थिक तथा राजस्व प्रशासनतर्फ कन्काई नगरपालिका र सहरी योजना तथा वातावरण व्यवस्थापनतर्फ वालिङ नगरपालिका पनि पुरस्कृत भएका छन् । संघले हरेक वर्ष उत्कृष्ट नगरपालिकालाई पुरस्कार प्रदान गर्दै आएको छ । 

 

काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरे, उप-प्रमुख जागेश्वरदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेललाई संयुक्त रूपमा पुरस्कार प्रदान गरे ।

 

कार्यक्रममा तिलोत्तमा नगरप्रमुख घिमिरेले नगरपालिकाले प्राप्त गरेको पुरस्कारमा सबै जनप्रतिनिधि, कर्मचारीलगायत सम्पूर्ण नगरबासीको योगदान रहेको बताए । सबैको सहकार्य, सहयोगले तिलोत्तमाले रचनात्मक कामगर्न सकेको र आगामी दिनमा थप प्रयास गर्ने प्रतिबद्धता जनाए ।

 

संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले विभिन्न सूचकका आधारमा तिलोत्तामालाई उत्कृष्ट घोषणा गरिएको जानकारी दिए ।