close

खुलामञ्च खेल मैदानको ढल व्यवस्थापन गर्दै बेनी

खुलामञ्च खेल मैदानको ढल व्यवस्थापन गर्दै बेनी

Trulli
ADVERTISEMENT

म्याग्दी- बेनी नगरपालिकाले खुलामञ्चको खेल मैदान र क्याम्पस चोकको ढल व्यवस्थापनका लागि थप बजेट विनियोजन गरेको छ । 

 

नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको ६६औँ कार्यपालिका बैठकले क्याम्पस चोकको ढल निकास गर्न ५० लाख र खुलामञ्च खेल मैदान निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको हो ।

 

नगर कार्यपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ८ का वडाध्यक्ष रामकृष्ण बराइलीले बिहीबार वडा कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर बैठकका निर्णय सार्वजनिक गरे । 

 

लैंगिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०७७ पारित भएको छ । नगरपालिकाले स्थापना गरेको १ लाख रुपैयाँ कोषको बजेट कार्यान्वयनका लागि कार्यविधि बनेको हो । 

 

प्रदेश सामाजिक विकास मन्त्रालय र बेनी नगरपालिकाको साझेदारीमा ड्राइभिङ, ब्युटीपार्लर, पलम्बिङ, इलेक्ट्रिसियन र मन्टेश्वरी तालिम सञ्चालन गर्ने निर्णय भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको व्यावसायिक कृषि विकास कार्यक्रमका लागि पकेट क्षेत्र छनोट भएको छ । 

 

बेनी नगरपालिका वडा नम्बर २ को स्यानालेक कृषक समूहमार्फत खाद्यान्नबाली र वडा नम्बर ५ को भगवति कृषक समूहमार्फत मौरीपालन पकेट क्षेत्रको कार्यक्रम सञ्चालन गरिनेछ । पकेट क्षेत्रका लागि १२ लाख रुपैयाँ बजेट आएको छ । 

 

यसैगरी नगरपालिकाको वडा नम्बर २ हाडेभीर र वडा नम्बर ३ भकिम्लीको छेपारेमा रहेको साझा सुविधा केन्द्रको भवन मर्मत गर्ने निर्णयसमेत भएको प्रवक्ता बराइलीले जानकारी दिए ।

 

नगरपालिकाको वडा नम्बर ७ र ८ मा सञ्चालन भएका निजी स्वास्थ्य संस्थाको अनुगमन प्रतिवेदनअनुसार मापदण्ड पूरा भएकालाई नवीकरण गर्ने र पूरा गर्न आलटाल र अटेरी गर्नेलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरिएको प्रवक्ता बराइलीले बताए ।