close

यसकारण उत्कृष्ट नगरपालिका बन्यो तिलोत्तमा 

यसकारण उत्कृष्ट नगरपालिका बन्यो तिलोत्तमा 

Trulli
ADVERTISEMENT

रूपन्देही– देशभरका नगरपालिकाबाट उत्कृष्ट बनेको तिलोत्तमा नगरपालिका सडक सफा र हरियाली मात्र होइन, डिभाइडरमा लगाइएको फूल फुलेर रंगीचंगी बनेपछि मनमोहक लाग्छ । 

 

नगरभित्र ६ लेन सडक निर्माण भएलगत्तै सडक बत्तीले रातीको समय झिलीमिली देखिने सडक दिउँसो हरियाली बोटबिरुवा र ढकमक्क फुलेका रंगीचंगी फूलले झनै आकर्षक बनेको छ ।

 

सडक बीचमा रहेको डिभाइडरमा विद्युतीय पोल, बुद्धमूर्ति र मौसमी फूल फुलेर रातै र पहेँलै देखिन्छ । 

 

ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नारासहित नगर क्षेत्रलाई सरसफाइसँगै हरियाली बनाउने अभियान सुरु गरेको नगरपालिकाले खाली रहेका सार्वजनिक जग्गा, कुलो, नहर तथा सडक किनारामा विभिन्न बोटबिरुवा लगाएको छ भने ६ लेन सडक क्षेत्रमा फूल रोपेर आकर्षक बनाएको छ ।

 

तिलोत्तमा नगरभित्रको १४ किलोमिटरको सडक क्षेत्रभित्र भने एकै प्रकारका बोटबिरुवा र फूल रोपिएका छन् । सर्भिस लेनतर्फको ग्रिनरीमा स्टोनिया, निमलगायत बाह्रै महिना हरियै रहने बोटबिरुवाले हरियै देखिँदा मुख्य सडकको डिभाइडरमा भने विभिन्न रङमा फुल्ने बेगनबेली लगाइएको छ । 

 

रातो, पहेँलो, सेतो, सुन्तला, गुलाबी मात्र नभई एउटै बोटमा ३–४ रङमा फुल्ने बेगनबेलीलाई तिलोत्तमाले सिटी फ्लाबरको रूपमा छनोट गरी नगरको पहिचानसँग जोडिदिएको छ । 

 

घरसँगै सडक, चोक, बगैँचा, पार्कलगायत सार्वजनिक स्थानमा पनि बेगनबेलीलाई प्राथमिकतामा पारिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए । नगरपालिकाले सिटी फूल घोषणा गरेपछि १७ वटै वडा कार्यालय, सामुदायिक विद्यालय, सरकारी कार्यालय, बेलहिया–बुटवल ६ लेन सडक डिभाइडरमा यही फूल लगाइएको थियो । 

 

स्थानीय राजेन्द्रप्रसाद घिमिरे यस्तै नगर सबै ठाउँमा हुने हो भने विकास मात्र होइन, सफा र सुन्दरताको झल्को पाउन सकिने बताउँछन् । ‘कामअनुसारको नगरपालिका भएको छ, जुन हामी नगरबासीका लागि गौरव हो’, घिमिरे खुसी सुनिए ।