close

अँध्यारोमुक्त बन्योे मिक्वाखोलाको लिबाङ 

अँध्यारोमुक्त बन्योे मिक्वाखोलाको लिबाङ 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर ३ लिबाङलाई अँध्यारोमुक्त वडा घोषणा गरिएको छ । स्थानीय हाँडीखोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आएसँगै प्रत्येक घरधुरीमा बिजुली बत्ती बलेपछि लिबाङलाई अँध्यारोमुक्त वडा घोषणा गरिएको हो ।

 

कुल ४९ किलोवाट क्षमताको हाँडीखोला लघु जलविद्युत् आयोजना सम्पन्न भएपछि लिबाङ अँध्यारोमुक्त भएको हो । लघु जलविद्युत् आयोजना सम्पन्न भएर प्रत्येक परिवारका घर–घरमा बत्ती बलेपछि मिक्वाखोला गाउँपालिका अध्यक्ष रामकुमार साँबाको उपस्थितिमा लिबाङलाई अँध्यारोमुक्त वडा घोषणा गरिएको हो ।

 

लिबाङका वडाध्यक्ष समेत रहेका मिक्वाखोला गाउँपालिका प्रवक्ता दीपेन्द्रकुमार लिम्बूका अनुसार करिब ४ सय ६० घरपरिवारले बिजुली बत्ती बाल्न पाएका छन् । नामसालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी) इलामको आर्थिक सहयोग तथा स्थानीय प्रत्येक परिवारले समेत आर्थिक संकलन गरेर करिब १ करोड ७५ लाख रुपैयाँको लागतमा आयोजना सम्पन्न भएको वडाध्यक्ष लिम्बूले बताए । 

 

उनका अनुसार आयोजनाको काम पहिले नै सुरु गरिए पनि भूकम्प, पहिरोजस्ता प्रकोपका कारण निर्माण सम्पन्न गर्न केही लामो समय लागेको हो । २०७२ वैशाखको भूकम्प र त्यसको करिब १ महिनापछि जेठ अन्तिम साता गएको पहिरोले निर्माण सम्पन्न हुन लागेको जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको थियो । 

 

सोही कारण जलविद्युत् परियोजना सम्पन्न हुन समय लागेकाले लक्ष्यभन्दा केही पछि मात्र लिबाङलाई अँध्यारोमुक्त वडा घोषण गरिएको मिक्वाखोलाले जनाएको छ ।