close

कोरोनाको दोस्रो लहरले सम्झाउदै छ साहसिक योद्धा 

कोरोनाको दोस्रो लहरले सम्झाउदै छ साहसिक योद्धा 

Trulli
ADVERTISEMENT

बागलुङ– गत वर्षको ११ चैत भन्नेबित्तिकै हरेक नेपालीको मानसपटलमा लकडाउनको झझल्को स्मरणमा आउँछ । सोही दिनदेखि नेपाल लकडाउनबाट ठप्प भएको थियो । संसार हल्लिने गरी आएको कोरोना महामारीकोे संक्रमण सुरु भएपछि देशभर लकडाउन गरियो ।

 

सुरु–सुरुमा सहरदेखि गाउँसम्मका नागरिक लकडाउनले यति धेरै तर्सिए, गोली आएझैं ढोकाबाटै छिर्छ कोरोना । कोरोना महामारीले राज्यलाई अर्बौं रुपैयाँको आर्थिक नोक्सानी मात्र गरेन, स्वदेश–विदेशमा गरी सयौँ नेपालीले ज्यानै गुमाए, गुमाउँदै छन् ।


मृत्युजस्तै डरलाग्दो गरी संक्रमण पनि देशका कुनाकुना पुग्यो । कोरोना संक्रमणले नेपालको राजधानीपछि मोफसलको बागलुङलाई प्रभावित पार्‍यो । नेपालकै पाँचौँ र छैटौँ संक्रमित बागलुङमा भेटिए । 

 

विदेशबाट आएका बागलुङेमा कोरोना पोजेटिभ देखिएपछि त्रास मात्र फैलिएन, धेरै जिल्लाबासी त्रसित बन्न थाले । दिनभर घाम लाग्थ्यो, तर कालो बादल मडारिएझैँ देखिन्थ्यो । सडक सुनसान हुन्थे । काम विशेषले सडकमा निस्केका सुरक्षाकर्मी र पत्रकारलाई हेर्न मानिस छतबाट चिहाउँथे ।

 

पत्रकारका लागि स्वास्थ्य सामग्री लिएर आएका गण्डकी प्रदेशका पदाधिकारी जिल्ला प्रवेश नगरी मालढुंगामै सामान छाडेर फर्केको घटना ताजै छ । बागलुङमा गत वर्ष १५ चैतमा पहिलो संक्रमित पुष्टि भएका थिए । बागलुङ नगरपालिकाको वडा नम्बर ४ की १९ वर्षीया युवती अंशु सापकोटालाई कोरोना पुष्टि भएपछि अस्पतालमा ल्याउने विषय नै चुनौती बनेको थियो । 

 

यसअघि धौलागिरि अस्पतालमा आइसोलेसन कक्ष बनाइएको थियो । तर, आइसोलेसनमा कसले ल्याउने भन्ने चुनौतीले संक्रमण पुष्टि भएको ७ घन्टासम्म जिल्ला कमान्ड पोस्टसमेत अन्योल बनेको थियो । 

 

संक्रमितलाई को लिन जाने भन्ने विवाद भएपछि जिल्ला स्वास्थ्य प्रमुख सुरज गुरौ आफैं गाडी लिएर हिँड्नुपरेको थियो । उक्त गाडीका चालक थिए, रुद्र पराजुली । 

 

पराजुली सुरुबाटै जोखिम मोलेर फ्रन्टलाइनमा खटिने कर्मचारी हुन् । पहिलो पटक पिपिई लगाउने अनुभवसमेत उनीहरूले त्यहींबाट सँगाले । ‘अस्पतालमा २–४ थान पिपिई आएको रहेछ । त्यही लगाएर मैले गाडी चलाएँ,’ पराजुलीले भने, ‘त्यसपछि हामी संक्रमित लिन गयौँ ।’

 

संक्रमित लिन जाँदा धेरैले सटर र घरका ढोकासमेत लगाएको उनले स्मरण गरे । धेरै दिनसम्म परिवारसँग पनि मानिस डराएको पराजुलीले अनुभव सुनाए । 

 

अस्पताल र नेपाल रेडक्रसका एम्बुलेन्स चालकले जागिरै छाड्ने तर संक्रमित लिन नजाने भन्दै सम्पर्कविहीन भएपछि गुरौ र पराजुलीले देखाएको साहसलाई अहिले भने धेरैले स्मरण गर्छन् । उक्त साहसकै कारण उनीहरूको सम्मानसमेत गरियो ।

 

राती ९ बजेसम्म अन्योल भएपछि उनीहरू संक्रमित लिन पुगेका थिए । ‘कोही तयार नभएपछि मैले स्वास्थ्य क्षेत्रमा किन जागिर खाएँ भन्ने सम्झिएँ,’ पराजुलीले भने, ‘घरपरिवार डराए पनि मैले पहिलो आँट गरेँ ।’

 

राती १० बजे संक्रमित ल्याएर अस्पतालमा भर्ना गरेपछि नुहाएर घर फर्केको उनले बताए । घर गए पनि उनी स्वयं क्वारेन्टाइनमा बसेका थिए ।

 

१९ चैतको दोस्रो संक्रमित पनि उनैले ल्याए । नगरपालिकाको वडा नम्बर ३ की ६५ वर्षीया मनकुमारी पौडेललाई लिन पनि पराजुली नै जानुपरेको थियो ।

 

दुवै जना संक्रमितलाई धौलागिरि अस्पतालमा राखेपछि अन्य बिरामीको संख्या शून्यजस्तै भयो । तर, कन्ट्याक्ट ट्रेसिङका स्वाब लिएर पटक–पटक पोखरा र काठमाडौं गएको उनी सुनाउँछन् ।

 

‘बागलुङको गाडी आयो भनेपछि पोखरामा पनि ढोका थुन्थे,’ पराजुलीले भने, ‘त्यो अनौठो र अत्यासलाग्दो समय अब नहोस् ।’ बिहान बागलुङबाट निस्केपछि बेलुकी फर्केर नुहाएपछि मात्रै पानी पिउन पाएको उनले अनुभव सुनाए । 


त्यति मात्र हैन, अस्पतालको बाटोसमेत हिँड्न मानिस डराउँथे । ‘लकडाउन भएकाले मानिस हिँड्नै कुरै भएन । तर, अत्यावश्यक परेर हिँड्नेले पनि यो बाटो समातेनन्,’ अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘रणनीतिक योजना बनाउने, अस्पतालमा भर्ना भएका बिरामी हेर्ने र संक्रमितबारे पटक–पटक फलोअप हामीले गरिरहेका थियौँ ।’


उपचार पद्धति नभएकाले जस्तो लक्षण देखिन्छ, त्यही औषधी खुवाउने मात्रै काम गरेको उनले बताए । तर, त्यतिबेला अस्पतालमा रहनु नै बढी जोखिम मानिएको उनको अनुभव छ । 


१९ चैतपछि झन्डै डेढ महिना बागलुङमा अन्य संक्रमित देखिएनन् । तर, बेलाबेला आउने हल्लाले जिल्ला जुरुक्क उचालिन्थ्यो । गलकोटबाट घर फर्केका २८ मजदुरमध्ये बारामा १४ जनालाई कोरोना पुष्टि भयो । 

 

त्यसपछि उनीहरूको सम्पर्कमा रहेका झन्डै १ सय जनाको पिसिआर भयो । तर, उनीहरूमा नेगेटिभ देखिए पनि लामो समय त्रासपूर्ण वातावरण बनेको थियो । पछि उनीहरू गाउँ पुगेर क्वारेन्टाइनमा बस्दा संक्रमणको पुष्टि भयो । 


लकडाउन आंशिक खुला हुने, सिमानामा अलपत्र परेकालाई गाउँपालिका र नगरपालिकाले ल्याउने गरेपछि जिल्लामा संक्रमणको दर ह्वात्तै बढ्यो । असारपछि बागलुङमा झन्डै १ हजार संक्रमित थपिए ।

 

उनीहरूको व्यवस्थापन निकै ठूलो चुनौती भयो । संक्रमण पुष्टि भएकाहरू अधिकांश धौलागिरि अस्पताल, धौलागिरि बहुमुखी क्याम्पस र धौलागिरि बहिरा विद्यालयमा थिए । गाउँ–गाउँका सबै विद्यालय क्वारेन्टाइनमा परिणत भए । 


क्वारेन्टाइनमा बस्दा बागलुङ उद्योग वाणिज्य संघ, विभिन्न अधिकारवादी संस्था, युवा क्लब र व्यक्तिले पनि खानेकुरा सहयोग गरे । स्थानीय पालिकाले लत्ताकपडा व्यवस्थापन गराए । 


हरेक दिन देशभरबाट आउने फोनबाट जिल्लाको अवस्था सार्वजनिक गर्ने र दैनिक जिल्ला प्रशासन पुगेर कमान्ड पोस्टको बैठक बस्ने काममा सबैभन्दा बढी समय खर्चनुपरेको गुरौले बताउँछन् ।

 

‘दैनिक सुरक्षाका लागि बैठक, व्यवस्थापनका लागि काम गर्नुपथ्र्यो, धेरै जनाको फोन उठाउने समय पनि हुने थिएन,’ गुरौ भन्छन्, ‘सबैको प्रयोगशालाजस्तो बन्नुपरेको थियो ।’

 

चुनौतीका बीच बागलुङ अस्पतालमा आइसोलेसन र आइसियु बनेको छ । तर, अझै उपकरण र व्यवस्थापनमा सुधार जरुरी छ । ‘गत असारमा माग गरिएको पिसिआर मेसिन नआएर हरेक पटक स्वाब लिएर पोखरा पुग्नुपरेको थियो’ अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले भने, ‘अब भने बागलुङमै पिसिआर गर्न पाउने तयारी भएको छ ।’ कोरोना संक्रमणले स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्छ भन्ने सन्देश दिएको उनको बुझाइ छ ।