close

मंगलाका अधिकांश योजना सम्झौता 

मंगलाका अधिकांश योजना सम्झौता 

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको मंगला गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७÷७८ मा १३५ वटा पूर्वाधार योजना सञ्चालन गरेको छ । 

 

बजेट विनियोजन भएका योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियाका साथै उपभोक्ता समिति गठन गरेर कार्यान्वयन गरिएको गाउँपालिकाले जनाएको छ । 

 

प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले सबै योजनाको सम्झौता भइसकेको बताए । ‘ठूला योजना ठेक्का र साना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको छ’, उनले भने, ‘२५ प्रतिशत योजनाको भुक्तानी भइसकेको छ । त्यति नै संख्याका योजना निर्माण सकेर अन्तिम किस्ता भुक्तानीका लागि अनुगमनको चरणमा छन् ।’

 


सडक निर्माण, स्तरोन्नति, भवन, सिँचाइ, खानेपानी, नदी तथा पहिरो नियन्त्रण, खेल मैदान निर्माणसँग सम्बन्धित योजना धेरै छन् । ८ वटा योजना ठेक्का प्रक्रियामार्फत कार्यान्वयनका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको छ । 


३ लाख रुपैयाँभन्दा कम बजेटका योजनाको पेस्की नदिने र काम सकिएपछि एकै पटक भुक्तानी गर्ने नीति लिइएको छ । उपाध्यक्ष सिर्जना केसीले कुहुँ, बरंजा एवं अर्मनका अधिकांश योजना निर्माण सकेर अन्तिम किस्ता भुक्तानीका लागि जनप्रतिनिधि र प्राविधिकको टोलीले अनुगमन सुरु गरेको बताइन् । 


चालू आर्थिक वर्षमा कुल ४२ करोड ८ लाख ८४ हजार रुपैयाँ विनियोजन भएकामा २०७७ फागुन मसान्तसम्म ३०.२७ प्रतिशत अथवा १२ करोड ७४ लाख २५ हजार रुपैयाँ बजेट खर्च भएको छ । 

 

लेखापाल लेखनाथ अधिकारीले ८ महिने अवधिमा चालूतर्फ ४२.५ र पुँजीगततर्फ १७.४५ प्रतिशत बजेट खर्च भएको जानकारी दिए । चालूतर्फ २१ करोड ५४ लाख ८६ हजार विनियोजन भएकामा ९ करोड १५ लाख ७९ हजार रुपैयाँ खर्च भएको छ । 


पँुजीगततर्फ २० करोड ५३ लाख ९८ हजार विनियोजन भएकामा ३ करोड ५८ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ । काम सकेका योजनाको भुक्तानी सुरु गरिएकाले चैतदेखि पँुजीगत खर्चको दर बढ्ने प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले बताए । 

 

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले वैशाखअघि नै योजना सम्पन्न गर्ने लक्ष्यसहित कार्यान्वयनलाई तीव्रता दिइएको बताए । योजनालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्राविधिक टोलीसहित छड्के अनुगमन पनि गरिरहेको उनले जानकारी दिए । 

 

गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने बरंजालगायत अन्य वडाका बस्ती जोड्ने सडकलाई गौरवका आयोजनाको रूपमा कार्यान्वयनमा लगेको छ । पुलचोक–पाखु–धारा–सिर्कुम सडक स्तरोन्नतिका लागि ६९ लाख ९२ हजार ५६ रुपैयाँमा आचार्य निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ ।


बाबियाचौर–काफलचौर–सल्यान–हिदी सडक आयोजना निर्माणका लागि मंगला कन्स्ट्रक्सनसँग ३० लाख ८ हजार ५३३ रुपैयाँमा सम्झौता भएको छ । वडा नम्बर ३ र ४ मा पर्ने बरंजालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरंजा सडक स्तरोन्नतिका लागि २ करोड ८० लाख ९८ हजार ३२४ रुपैयाँमा देव एन्ड सायर–तिलक जेभीसँग ठेक्का सम्झौता गरेको छ ।


सिम–कोत्रवाङ–कुहँु–अधेरीखोला–पूर्णगाउँ हुँदै टोड्के जोड्ने सडक स्तरोन्नतिका लागि ६८ लाख ४८ हजार ४५७ रुपैयाँमा सोमरस निर्माण सेवाले ठेक्का लिएको छ । बरंजा जोड्ने सडकको ठेक्कामा बचेको ५३ लाख रुपैयाँको काम गर्न अर्को ठेक्का आह्वान गर्ने तयारी छ ।


प्रदेश सरकारले ससर्त अनुदान शीर्षकमा ५० लाख रुपैयाँ विनियोजन गरेको बरंजादेखि धापुङ सिले हँुदै अर्गल जोड्ने अर्को सडक आयोजना ठेक्का प्रक्रियामा छ । १० शय्या क्षमताको अर्मन प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि ठेक्का आह्वान गरेको छ ।