close

बागलुङमा नियन्त्रणमा आएन हात्तीपाइले, १२औँ पटक औषधी सेवन अभियान

बागलुङमा नियन्त्रणमा आएन हात्तीपाइले, १२औँ पटक औषधी सेवन अभियान

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङमा आउँदो २० चैतदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने भएको छ । ११औँ पटक औषधी सेवन अभियान सञ्चालन भइसकेको बागलुङमा हात्तीपाइलेका बिरामी फेला परेकाले १२औँ पटक कार्यक्रम सञ्चालन गर्न लागिएको हो । 

 

स्वास्थ्य कार्यालय बागलुङका अनुसार यो अभियान २३ चैतसम्म सञ्चालन हुनेछ । बागलुङ नगरपालिकाको वडा नम्बर १४ नारायणस्थान र जैमिनी नगरपालिकाको वडा नम्बर १ कुश्मीसेरामा भएको जाँचमा बिरामी देखिएपछि पुनः औषधी खुवाउन थालिएको हो । 

 

नारायणस्थान र कुश्मीसेरामा २ महिना पहिला भएको परीक्षणमा १० जना नयाँ बिरामी फेला परेका थिए । नारायणस्थानमा ८ जना र कुश्मीसेरामा २ जनामा संक्रमण फेला परेको थियो । दुवै ठाउँमा ३ सय जनामा परीक्षण गरिएको थियो । 

 

आम औषधी सेवन कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुनेछ । परीक्षण गरिएकामध्ये १ प्रतिशतभन्दा कम मानिसमा संक्रमण देखिएको अवस्थामा मात्रै आम औषधि खाने अभियान सञ्चालन गर्नु नपर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

 

१ जना मात्रै संक्रमित औषधी खानबाट छुट्दा जिल्लाभर नै आम औषधि अभियान सञ्चालन गर्नुपर्ने अवस्था आउने हुँदा गुरौले सबै नागरिकलाई औषधी खान आग्रह गरे । 

 

२० चैतमा नजिकका स्वास्थ्य संस्था र २१ र २२ चैतमा घरघरै स्वास्थ्यकर्मी पुगेर औषधी खुवाउने तयारी रहेको कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् । २ लाख ८४ हजार ४ सय ७२ जनसंख्या रहेको बागलुङमा २ लाख ६४ हजार ८ सय ८६ जनालाई औषधी खुवाउने लक्ष्य छ । 

 

२ वर्षमुनिका बालबालिकाको संख्या ११ हजार ८ सय ४० र गर्भवती रहेका ७ हजार ७ सय ९६ जनाले यस पटक औषधी खाने छैनन् । औषधीले कुनै असर नगर्ने हुँदा ढुक्क भएर सेवन गर्न शर्माले आग्रह गरे । 

 

क्युलेस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको निवारण हुन १ प्रतिशतमा आइपुग्नुपर्छ । तर, नारायणस्थानमा केही वर्षअघि ३ प्रतिशत रहेकामा घटेर २ दशमलब ३ प्रतिशत पुगेको थियो । 

 

सन् २०१८ मा पुनः बढेर झन्डै ५ प्रतिशतमा उक्लिएपछि औषधी खुवाउनुपरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । ‘१ पटक देखिएपछि २ वर्ष खुवाउनुपर्छ । पूर्वजाँच र औषधी सेवनपछिको जाँचमा १ प्रतिशतभन्दा कम भए मात्रै निवारण भएको मानिन्छ,’ उनले भने, ‘माघमा प्रि–जाँच गर्दा पुनः संक्रमित भेटिएकाले औषधी खुवाउने कार्यक्रम सञ्चालन हुँदै छ ।’  औषधी खुवाउनुपूर्वको जाँच नारायणस्थान र जैमिनी नगरपालिकाको कुश्मीसेरामा भएको थियो ।